इंग्लिस फुटबलमा किन बढ्दो छ जापानी खेलाडीको माग?

हिमाल प्रेस २ असोज २०८१ १२:३१
20
SHARES
इंग्लिस फुटबलमा किन बढ्दो छ जापानी खेलाडीको माग?

जापानी खेलाडीहरू इंग्ल्यान्डको लिग खेल्न जाने क्रम बढेको छ। कीर्तिमानी संख्यामा जापानी खेलाडी इंग्लिस क्लबसँग आबद्ध भइरहेका छन्। यो संख्या अझ बढ्ने अनुमान छ। आखिर किन इंग्लिस क्लबहरू जापानी खेलाडीप्रति आकर्षित भइरहेका छन्? यसको कारण हो, जापानी खेलाडीको गुणस्तर, जिम्मेवारी बोध र लगानीअनुसारको प्रदर्शन।

यतिबेला इंग्लिस प्रिमियर लिगमा पाँच जापानी खेलाडी छन्। तीमध्ये सम्भवतः सबैभन्दा उत्कृष्ट खेल देखाइरहेका खेलाडी काउरो मिटोमा हुन्। इंग्ल्यान्डमा प्रिमियर लिगभन्दा ठ्याक्कै एक स्तर तलको लिग च्याम्पियनसिपमा जापानका आठ खेलाडी छन् भने तेस्रो श्रेणीको लिगमा दुई खेलाडी छन्।

जापानी राट्रिय टिमका कप्तान वाटारु इन्डो पनि प्रिमियर लिगमा खेलिरहेका छन्। उनी हाल लिभरपुलमा छन्। उनको अनुभव छ, विगतको तुलनामा इंग्लिस क्लबहरू जापानी खेलाडीलाई लिएर सकारात्मक छन्।

‘लिभरपुलमा मलाई प्रशिक्षकहरू जापानी खेलाडीबारे सोधिरहन्छन्। यसको मतलब यो होइन कि उनीहरू मलाई सोधेर कोही जापानी खेलाडी अनुबन्ध गर्न चाहन्छन्। तर उनीहरूमा जापानी खेलाडीबारे जानकारी बटुल्ने चाहना देखिन्छ,’ मिडफिल्डर इन्डो सुनाउँछन्, ‘मलाई लाग्छ जापानी खेलाडीबारे प्रिमियर लिगमात्र होइन विश्वभर नै चासो बढेको छ।’

मिटोमा र इन्डोबाहेक डाइची कामाडा (क्रिस्टल प्यालेस), तोहिरो तोमियासु (आर्सनल) र युकिनिरी सुगावारा (साउथह्याम्पटन) प्रिमियर लिगमा रहेका अरू खेलाडी हुन्।

जापानी खेलाडीले प्रिमियर लिग खेल्ने क्रम सन् २००१ बाट सुरु भएको हो। आर्सनलका जुनिची इनामिटो प्रिमियर लिग खेल्ने पहिलो जापानी खेलाडी हुन्। उसो त इनामिटो जम्मा एक सिजनमात्र आर्सनलमा रहे। त्यसपछि उनी लन्डनकै अर्को क्लब फुलहमसँग आबद्ध भएका थिए।

सिन्जी कागावाले प्रिमियर लिग खेले। उनले त म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिग उपाधि जितेका थिए। ओल्ड ट्राफोर्डमा उनको सुरुवात गतिलो भए पनि त्यहाँ धेरै टिक्न सकेनन्। उनी जहाँबाट युनाइटेड पुगेका थिए, आखिरमा उनी त्यहीँ फर्कनुपरेको थियो अर्थात्  जर्मन क्लब बोरुसिया डर्टमन्ड।

खेलाडी बजारमा सक्रिय फिफा एजेन्ट जोएल प्यानिकको विचारमा इंग्लिस क्लबहरू अहिले जापानी खेलाडी अनुबन्ध गर्न हिच्किचाउँदैनन्। जबकि विगतमा यस्तो देखिने गरेको उनको अनुभव छ। ‘इंग्लिस क्लबहरूमा रहेको त्यो पारम्परिक सोचमा परिवर्तन आएको छ। पहिले उनीहरू सोच्थे, के जापानी खेलाडी प्रिमियर लिगमा टिक्न शारीरिक रूपमा बलिया छन्?’ करिब ५० जापानी खेलाडीको जिम्मा लिएका एजेन्ट प्यानिक भन्छन्, ‘त्यसकारण पनि विगतमा जापानी खेलाडी प्राविधिक पक्षलाई ध्यान दिइने लिग भएका देश जर्मनी र नेदरल्यान्ड्स जान्थे।’

इंग्ल्यान्डको छिमेकी स्कटल्यान्डमा जापानी खेलाडीले पाएको सफलताका कारण पनि प्रिमियर लिगका क्लब लोभिएका हुन्। विशेषगरी सेल्टिकमा जापानी खेलाडीले अब्बल प्रदर्शन गर्ने गरेको दृष्टान्त छ। फेरि कोभिड-१९ पछि युरोपभरका क्लबहरूको खेलाडी पहिचान गर्ने शैलीमा परिवर्तन आएका कारण पनि जापानी खेलाडीको माग बढेको हो। अचेल क्लबहरू खेलाडी पहिचान स्काउटमार्फत मात्र गर्दैनन्, भिडियो फुटेज र डाटाको पनि उपयोग गर्छन्।

‘लामो यात्रा तय गरेर कोही खेलाडीको खेल हेर्न गयो, खेल मन पर्दैन। यस्तो हुँदा समय र पैसाको बर्बादी हुनसक्छ। त्यही भएर भिडियो फुटेज र डाटा केलाएर मात्र स्काउटिङ गर्दा जोखिममुक्त भइन्छ,’ प्यानिक भन्छन्।

खेलाडी बजारमा जापानी खेलाडीको माग बढ्नुको अर्को कारण हो, तुलनात्मक रूपमा कम मूल्य। प्यानिकको अनुभवमा मूल्यअनुसारको गुणस्तर खोज्ने हो भने जापानी खेलाडी सबैभन्दा उत्तम विकल्प हुन्। यसको उदाहरण हुन्, विंगर मिटोमा। जसको अनुबन्धका लागि इंग्ल्यान्डको ब्राइटनले अढाई करोड पाउन्ड मात्र खर्च गरेको थियो। उता सेल्टिकले स्थापित गोलकर्ता क्योगो फुरुहासीका लागि साढे चार करोड पाउन्ड खर्चिएको थियो। फुरुहासीले स्कटिस लिगमा यति राम्रो खेलेका छन् कि उनलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी लोभिएको छ।

जापानी खेलाडी ‘भ्यालु फर मनी’ भएकै कारण च्याम्पियनसिप क्लबहरू जापानको जे लिग पुग्न थालेका छन्। जापानी प्रशिक्षक हासिजमे मारियासु आफ्ना खेलाडीहरू इंग्ल्यान्डको दोस्रो श्रेणीको लिगमा पनि आफूलाई प्रमाणित गर्न लालायित रहेको बताउँछन्।

‘जे लिगको गुणस्तर उच्च छ तर योभन्दा बलियो लिगमा जापानी खेलाडी खेल्न चाहन्छन्। विश्वका सबैभन्दा राम्रा खेलाडीको रोजाइ प्रिमियर लिग हो। त्यहाँ पुग्न जापानी खेलाडीका लागि च्याम्पियनसिप बाटो हुनसक्छ,’ मोरियासु भन्छन्।

ब्रेक्जिटपछि बेलायतमा वर्क पर्मिटसम्बन्धी नियम परिवर्तन भएको छ। पहिले इंग्लिस क्लबहरूलाई युरोपकै खेलाडी अनुबन्धन गर्दा सजिलो हुन्थ्यो। अब भने युरोपबाहिरका खेलाडी अनुबन्ध गर्दा पनि वर्क पर्मिट नियम लगभग उस्तै हो। जसका कारण इंग्लिस क्लबहरूले युरोपबाहिर पनि खेलाडी पहिचान गर्न स्काउटिङ बढाइरहेका हुन्।

जापानी खेलाडीको हकमा विश्वकप २०२२ ले पनि फाइदा गरेको छ। कतारमा जापानले जर्मनी र स्पेनजस्ता बलिया टिमलाई हराएको थियो। यी दुई टिमविरुद्ध गरेको प्रदर्शनले जापानी खेलाडीको इज्जत झनै बढेको छ।

‘सोचे जस्तो भएन, प्रशिक्षकको रोजाइमा परिएन, आफूले खेल्नेबाहेकको पोजिसनमा खेल्नुपर्‍यो भने जापानी खेलाडी गुनासो गर्दैनन्। बरु के गर्दा अझ राम्रो प्रदर्शन गर्न सकिन्छ भनेर सुझाव माग्छन्। यस्तो व्यक्तित्वका कारण पनि जापानी खेलाडीको माग बढेको हो। उनीहरू वास्तवमा जपानकादूत हुन्। जस्तोसुकै अवस्थामा पनि राम्रो व्यवहार देखाउँछन्,’ फिफा एजेन्ट प्यानिकको अनुभव छ।

प्रकाशित: २ असोज २०८१ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast