एमालेको सदस्यता पाउन परीक्षा दिनुपर्ने

किरण पौडेल २५ भदौ २०८१ ११:०६
110
SHARES
एमालेको सदस्यता पाउन परीक्षा दिनुपर्ने एमालेको ‘प्रथम विधान अधिवेशन २०७८’ मा सहभागी प्रतिनिधि। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले नयाँ सदस्यता दिन कडाइ गरेको छ। आफ्नै सदस्यबाट निर्वाचनबाट ‘धोका’ पाएपछि एमालेले सदस्यताबाट कडाइ गरेको नेताहरूले बताएका छन्। पार्टीका विषयमा न्यूनतम जानकारी राख्नेलाई मात्र सदस्यता वितरण गर्ने एमालेको तयारी छ।

२०७९ को आमनिर्वाचनमा सहरिया क्षेत्रमा एमालेलाई ‘अन्तर्घात’ भएको ठहर एमालेको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकमा एमाले महासचिव शंकर पोखरेलले निर्वाचनमा सहरिया मध्यमवर्गबाट चुनावमा मत नआएको बताएका थिए। एमाले सदस्यबाटै पनि मत नआएको दाबी उनको थियो।

‘हामीले पार्टीका विषयमा न्यूनतम प्रश्न राख्नेछौँ। जुन विषयमा जानकार हुनुपर्ने प्रावधान छ,’ एमाले स्थायी समिति सदस्य तथा मोर्चा संयन्त्र प्रमुख भानुभक्त ढकाल भन्छन्, ‘एमाले जत्तिको पार्टीको सदस्यता लिन केही जानकारी त लिनुपर्‍यो नि।’

एमालेले माओवादीसँगको एकीकरणपछि सदस्यतामा खुकुलो प्रावधान बनाएको थियो। माओवादीले ‘फर्जी’ सदस्यता देखाएर बढी दाबी गर्दा एमालेले पनि सदस्यता खुकुल्याएको हो।

२०७८ सालमा एमालेले सात लाख ८९ हजार ६२० को दाबी गरेको थियो। त्यसबेला पार्टीमा पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला सदस्य थिए।

एमालेको नवौँ महाधिवेशन (२०७१ साल असार) सम्ममा पाँच लाख ९१ हजार संगठित सदस्य थिए। पार्टीको दसौँ महाधिवेशन (२०७८ मंसिर) आइपुग्दा एमालेले एक लाख ९८ हजार संगठित सदस्य थपेको थियो। ‘हामीले सदस्यतामै कडाइ गरेका हौँ। अब फर्जी सदस्यता नबढाउने पक्षमा छौँ’, ढकाल भन्छन्।

ढकालका अनुसार एमालेको सदस्यता लिनेदेखि नियुक्ति लिनेसम्मले परीक्षा दिनुपर्ने प्रावधान आउँदैछ। यसअघि परीक्षणका रूपमा परीक्षा प्रयोग भइसकेको छ। अहिले एमालेले साढे पाँच लाख सदस्य रहेको दाबी गरेको छ। ‘यो निरन्तर अदलबदल भइरहने प्रावधान हो। हामीले सदस्यता सधैँ खुला राखेका छौँ’, उनी भन्छन्।

एमाले विधानअनुसार पनि अहिले सदस्य लिन वा नवीकरण गर्न आफैँ उपस्थित हुनुपर्छ। ‘यसअघि अर्कोले नवीकरण गर्दा सदस्य निष्क्रिय हुने देखियो,’ एमाले स्थायी कमिटी सदस्य विशाल भट्टराई भन्छन्, ‘अब नयाँ सदस्य लिन आउँदा त दुईजना साक्षी पनि राख्नुपर्छ।’

एमालेको विधान २०४९ को प्रथम विधान अधिवेशन २०७८ र दसौँ राष्ट्रिय महाधिवेशन २०७८ मा पनि यही प्रावधान छ। ‘कम्युनिस्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक छ। परीक्षाको थालनी गरिसकिएको छ’, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्। शाक्यका अनुसार यसअघि २०७३ सालमै चितवनमा परीक्षा प्रणाली सुरुवात गरिएको थियो।

उनका अनुसार तीन चरणमा भएको परीक्षाको पहिलो चरणमा १०० भन्दा बढी परीक्षार्थी सहभागी थिए। उनीहरूलाई १५ वटा वस्तुगत प्रश्न सोधिएको थियो। ६० पूर्णांकको परीक्षा उत्तीर्ण गर्न कम्तीमा २० नम्बर ल्याउनुपर्ने थियो।

परीक्षामा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना मिति, कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन मिति, प्रथम कम्युनिस्ट प्रधानमन्त्री लगायत सामान्य प्रश्न सोधिएको छ। तीनवटा सम्भावित उत्तरमध्ये सही उत्तरमा ठिक चिह्न लगाउनुपर्ने थियो। यस्ता न्यूनतम प्रश्न जान्नुपर्ने प्रावधान रहेको ढकालको भनाइ छ।

‘मिसन ग्रासरुट’पछि घट्यो सदस्यता

एमालेले आमनिर्वाचन २०७९ पछि ‘मिसन ग्रासरुट’ अभियान थाल्यो। २०७९ फागुनदेखि २ महिना चलेको यो अभियानले पार्टी सदस्यता मापदण्ड, सुदृढीकरण साथै कार्यकर्ताको अवस्थाबारेमा जानकारी लिएको थियो।

देशभर छरिएर गरिएको यो कार्यक्रममार्फत एमालेले आफ्नै कार्यकर्ताका बारेमा बुझेको हो। ‘सदस्यता लिँदा के हुन्छ। पार्टीमा कामकारबाही कसरी भइरहेको छ भनेर हामीले बुझेका थियौँ,’ भट्टराई भन्छन्, ‘पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहमा पार्टी सदस्यहरूको वास्तविक तथ्यांक, उनीहरूको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभूत तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी लिने उद्देश्य थियो।’

नेकपा एकीकृत समाजवादी विभाजनमा गएपछिको प्रभावबारे पनि तल्लो स्तरमा बुझेको थियो। ‘पार्टीमा सैद्धान्तिक ज्ञानको खाँचोबारे पनि अनुगमन गरेका थियौँ’, भट्टराईले भने। अभियानपछि निष्क्रिय सदस्य घटाउने काम पनि एमालेले गरेको थियो।

अबको लक्ष्य १० लाख सदस्यता

एमालेले आगामी ११ औँ महाधिवेशनसम्म १० लाख सदस्य बनाउने योजना बनाएको छ। हाल साढे पाँच लाख हाराहारी पार्टी सदस्य रहेको जनाएको एमालेले अबको ३ वर्षमा साढे चार लाख पार्टी सदस्य संख्या बढाउने योजना बनाएको छ। सदस्यता नवीकरणमा कसैले एकमुष्ट शुल्क लेबी तिरिदिने, सदस्यहरूको सूचीमा हेराफेरी गर्ने लगायतका अनुचित तरिका गरेको पाइए कारबाही गर्ने प्रावधान छ।

एमालेले सातै प्रदेश र ७७ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण, विस्तार र स्थानीय अधिवेशनहरू सुव्यवस्थित ढंगले समयमै गर्न परिपत्र जारी गरेको छ। एमालेले गएको आमनिर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत समानुपातिकतर्फ ल्याएको छ।

यो मतको ६ प्रतिशत सदस्यता वितरण गर्ने एमालेको योजना रहेको नेता आनन्द पोखरेल बताउँछन्। ‘समानुपातिक मतको ६ प्रतिशत भनेको ११ लाखभन्दा केही बढी हो तर हामीले १० लाखको उद्देश्य राखेका छौँ’, पोखरेल भन्छन्।

चारित्रिक विचलनले सदस्यतामा आँच आएको दाबी

०८४ मा बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने एमालेको अभियान छ। हुन त अहिले पनि एमाले सरकारकै नेतृत्वमा छ। मिसन ०८४ बनाएर अघि बढ्दा पार्टी थप सक्रिय बन्ने एमालेको अनुमान छ। तर पछिल्लो ताका एमाले नेताहरूको यौन प्रकरणमा मिसिँदा सदस्यतामा आँच आउने एमाले नेताहरूको गुनासो छ।

पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कडा निर्देशन दिएका छन्। ओलीले नेता–कार्यकर्तामा चारित्रिक विचलन देखिएको भन्दै पार्टी छाड्न वा मोजमस्तीमा लाग्न दुईमध्ये एक विकल्प रोज्न सुझाव दिएका थिए।

ओलीले पार्टीभित्र अनुशासनहीन, नैतिकहीन र चरित्रहीन गतिविधि बढेको विषय उठेपछि यस्तो विकल्प दिएका थिए। यही प्रकरणका कारण एमालेका केन्द्रीय सदस्य ऐन महर केही समयअघि निलम्बनमा परेका थिए।

कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहलाई समेत एमालेको अनुशासन आयोगले जबाफ सोधेको छ। ‘यस्ता काममा लाग्नेलाई पार्टीमा ठाउँ छैन भनिएको छ,’ एमाले सचिव गोकर्ण विष्ट भन्छन्, ‘एकजनाका कारण एमालेजनमा प्रश्न उठेको देखियो। पार्टी कडा रूपमा अघि बढ्नुपर्ने जस्तो छ।’

प्रकाशित: २५ भदौ २०८१ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =