इजरायलले कामदार छानिसक्दा पनि अलमलमा श्रम मन्त्रालय

हिमाल प्रेस १६ भदौ २०८१ १४:४६
82
SHARES
इजरायलले कामदार छानिसक्दा पनि अलमलमा श्रम मन्त्रालय इजरायलस्थित नेपाली दूतावासमा गोलाप्रथाबाट कामदार छनोट गरिँदै। तस्बिर सौजन्य : श्रम मन्त्रालय

काठमाडौंँ- इजरायलले नेपाली कामदार छनोट भइसकेको जानकारी गराइसक्दा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने आवेदन छानबिन नसकेको पाइएको छ। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोलाप्रथाबाट नेपाली कामदारको आवेदन छनोट गरिसकेको जानकारी गराएको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए।

उनले भने, ‘पिवाले गोलाप्रथाबाट २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरेको जानकारी गराएको  छ।’ उनका अनुसार इजरायलले आफ्नो समय तालिकाअनुसार कामदार छनोट गरिसकेको जानकारी गराएको हो।  श्रम मन्त्रालयले ती आवेदक कामदारको नक्कली कागजात छानबिन आधा मात्र पुर्‍याएको सुवेदीले बताए।

सरकारले गत असार १२ गते इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयर गिभर) लागि आवेदन खुलाएको थियो। त्यसमा ४ हजार २४ जनाले आवेदन दिएका थिए। तीमध्ये ३ हजार ४ सय ६१ जनाको नामावली इजरायलको पिवामा पठाइएको सुवेदीले बताए। उनले गोलाप्रथाबाट २ हजार २ सय ४ जना नेपाली कामदार छनोटमा परेको जानकारी पिवाले दिएको बताए। सुवेदीले भने, ‘कामदार छनोट भएको जानकारी आएको छ। कोको छनोट परेका छन् भनेर सूचीचाहिँ आएको छैन।’

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने सहायक कामदारका लागि आवेदन दिएका कतिपय कामदारको कागतजात नक्कली भन्ने गुनासो आएपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। इजरायल जाने कामदारले आवदेन दिँदा नक्कली कागतजात पेस गरेको प्रश्न उठेपछि मन्त्री शरतसिंह भण्डारीले  साउन १३ गते छानबिन समिति गठन गरेका थिए। समिति गठन भएको एक महिना बित्दा पनि छानबिन आधा मात्रै सकिएको छ।

छानबिन समितिका संयोजक मेघनाथ रिमाल भने इजरायल जाने कामदारले पेस गरेका कागतजातको छानबिन भइरहेको बताउँछन्।  ‘छानबिन गर्दा शंका लागेका कागतजातमा स्वयं कामदार र तालिम प्रदायक संस्थामाथि अनुसन्धान भइरहेको छ’, उनले भने।

छनोटमा परेका कतिपय कामदारको कागतजात नक्कली हुनसक्ने श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए। ती अधिकारीले भने, ‘श्रम सम्झौताअनुसार जीटूजी प्रक्रियाबाट केयर गिभरका रूपमा नेपाली श्रमिक इजरायल लैजान त्यहाँको सरकारले अलिक हतार गरेको देखियो।’ पछिल्लो समय भारत र बंगलादेशबाट कामदार लैजाने तयारी गरिरहेका बेला नेपालले तत्काल पठाउने आश्वासन दिएपछि आवेदन माग गरिएको थियो।  हतारमा कामदार छनोट गरेका कारण पारदर्शी र निष्पक्ष नहोला कि भन्ने शंका रहेको सुवेदीले बताए।

सर्टलिस्ट गर्ने बेला नक्कली कागतजात भेटिए त्यस्ता व्यक्तिलाई छनोट प्रक्रियामा सामेल नगरिने सुवेदीले जानकारी दिए। इजरायलमा जीटूजीमार्फत इजरायलमा करिब दुई हजार कामदार लैजाने सहमति भएको छ। सोहीअनुसार अहिले कामदारको छनोट भएको हो। आवेदकको संख्या र माग संख्यामा खासै फरक नहुने भएकाले पहिलो चरणमा छनोट भएका युवामध्ये अधिकांश इजरायल जान पाउने देखिन्छ। छनोटमा परेका कामदारले मासिक न्यूनतम २ लाख २५ हजार मासिक तलब पाउनेछन्।

प्रकाशित: १६ भदौ २०८१ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast