ऋणको भारले थिचिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

विजय नेपाल १५ भदौ २०८१ २०:३७
88
SHARES
ऋणको भारले थिचिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा- पृथ्वी राजमार्गअन्तर्गत पोखरा १४, चाउथेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश गर्ने मूलबाटोको पारीपट्टि एउटा ट्राभल कम्पनी छ। वर्ल्ड इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रालि नामक उक्त कम्पनी कोरोनाकालीन समयमा करिब १० लाख रुपैँया लगानी गरेर दोस्रो लकडाउनपछि यहाँ सारिएको हो।

ट्राभल्स कम्पनी संचालक हेमजाका सोमनाथ अधिकारीले कोरोनाअघि लेकसाइड र पृथ्वीचोकमा गरी दुई ठाउँमा उक्त कम्पनी चलाउँथे। सन् २०१७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास भइ निर्माण जारी रहँदा अब विमानस्थल सञ्चालनपछि अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै आडैमा रहेको कम्पनी अझै चल्ला भन्ने सोचेर उनले लेकसाइड र पृथ्वीचोकका दुवै शाखा बन्द गरेर नयाँ ठाउँमा सरेका थिए। यहाँ सञ्चालनको तीन वर्ष बितिसकेको छ। यसबीचमा विमानस्थल सञ्चालन पनि आयो। तर, विमानस्थल चले पनि उनको व्यापार भने जस्तो छैन। कारण हो–नाम अन्तर्राष्ट्रिय विमानस्थल, काम आन्तरिक उडानमै सीमित।

‘यस क्षेत्रमा १५ वर्षको लामो अनुभव थियो। कोरोनापछि अबको व्यापार यतै (चाउथेमा) होला भनेर उताका शाखा दुवै हटाएँ,’ ३२ वर्षीय सञ्चालक अधिकारीले गुनासो पोखे, ‘तर अन्तर्राष्ट्रिय जहाज आउन सकेनन्। पहिले झैं आन्तरिक उडानमै खुम्चिदा सोचेजस्तो व्यापार छैन। व्यवसायमा सञ्चालन खर्चमात्र धानिएको छ।’ पहिले ३ जना कर्मचारी रहेकोमा एक जना कर्मचारी कटौती गरेका छन्। तैपनि अन्तर्राष्ट्रिय उडान नियमित होला भन्नेमा उनी आशावादी छन्।

अधिकारी त एक प्रतिनिधि पात्रमात्र हुन्। पोखरेलीको करिब ५० वर्षको सपना साकार पार्दै २६ अर्ब रुपैँया लागतमा सुविधासम्पन्न विमानस्थल सञ्चालन आएपछि समग्र गण्डकी प्रदेशकै विकासले फड्को मार्ला भन्ने आशामा धेरै व्यवसायीले उनको ट्राभल्स कम्पनी झैं होटल, रेष्टुरेन्ट, किराना, पर्यटकलक्षित पसल चाउथेमै सारे। लेकसाइड क्षेत्र आसपासमा होटलहरुले बेडको क्षमता बढाउन लगानी थपे। पर्यटन क्षेत्रमा धमाधम लगानी भइरहकोमा अन्तर्राष्ट्रिय नहुँदाको निराशाले उनीहरुको मनोदशा पनि सोमनाथको झैं छ।

त्यसो त, पृथ्वी राजमार्ग बिस्तारको कार्य चलिरहँदा धूलो, खाल्डाखुल्डी, सडकमै निर्माण सामग्रीको थुप्रोलगायतले उक्त सडकखण्ड छिचोल्नै गाह्रो छ। यो राजमार्ग हुँदै झट्ट यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने भुक्तभोगी बताउँछन्।

ऋणको दबाबमा विमानस्थल

चाउथेस्थित राजमार्गबाट उत्तरतर्फ करिब १ किमी सडक पार गरेपछि पोखराको नवनिर्मित विमानस्थल पुग्न सकिन्छ। सुन्दर बँगैचासहित सफा र चिरिच्याट्ट विमानस्थलको भीमकाय टर्मिनल भवन आँखै अगाडि ठोक्किँदा जोकाेही पनि सेल्फी खिच्न तम्सिहाल्छ। अनि भन्न थाल्छन्, ‘पोखरामा पनि विदेशमा जस्तो यति ठूलो संरचना बनिसकेछ। विकासले फड्को मारिसकेछ।’

यहीबीचमा सरकारले पोखरालाई पर्यटकीय राजधानी पनि घोषित गरिसकेको छ ।

तर, यहाँको कथा भने ठीक विपरीत छ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनको २० महिना पूरा भइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। ७ मात्र चार्टर उडान भएका छन्। झण्डै दुई वर्षसम्म आन्तरिक उडानमै सीमित हुँदा विमानस्थलले ऋणको ब्याज तिर्ने रकम पनि आम्दानी गर्न सकेको छैन।

ऋणको साँवा ब्याज भुक्तानी गर्ने समय नजिक आइसकेको छ। बिजनेस नपाएकै कारण विमानस्थलले बर्सेनि डेढ अर्ब रुपैँयाभन्दा बढी घाटा व्यहोरेको नेपाल नागरिक उड्ययन प्राधिकणका अधिकारीहरु बताउँछन्। प्रतिफल नै दिन नसकेको परियोजनामा लिएको ऋणको भारले थिचिने डरले सरकारले गत सातामात्रै चीनको एक्जिम बैंकमार्फत लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरसिकेको छ। चीन सरकारसँग औपचारिक पत्राचार भइनसकेकाले यसमा चीन सरकारको प्रतिक्रिया के हुनेछ भन्ने आम चासोकै विषय रहेको छ।

सन् २०१७ मा शिलान्यास भएको विमानस्थल १ जनवरी, २०२३ मा उद्घाटन भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेकोमा उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए। उद्घाटन कार्यक्रम भव्य बनाउन त्यस दिन पोखरा महानगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो। विमानस्थल उद्घाटन हुने भएपछि उत्साहित पोखरेलीको भीड थेगिनसक्नु थियो। तर अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदा आन्तरिक वायुसेवाहरुले मात्र परीक्षण उडान गरेका थिए।

धेरै उत्साह र आशा गरिएको विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय नभएपछि पोखराका पर्यटन व्यवसायीहरुसमेत निराश छन्। पोखरामा आयोजना हुने विभिन्न फोरममा अहिले बोलिने र दबाब दिनुपर्ने विषय नै अन्तर्राष्ट्रिय उडान कहिले? भन्ने नै सुनिन्छ। नेताहरु पनि आश्वासन दिन्छन् र फर्किन्छन्।

चीनको एक्जिम बैंकको ऋण सम्झौतामा सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २२ अर्ब ६१ करोड रुपैयाँमा विमानस्थल निर्माण गरेको हो। नेपाल सरकारले मुआब्जा लगायतका काममा ४ अर्बभन्दा बढी खर्च गरिसकेको छ। निर्माणमा नेपाल सरकार र चिनियाँ एक्जिम बैंकबीच सम्झौता अनुसार ७ वर्षको ग्रेस अवधि (कुनै पनि व्याज तिर्नुनपर्ने समय) सहित २० वर्ष अवधिमा सम्पूर्ण ऋण चुक्ता गरिसक्नुपर्नेछ।

नेपालले १ अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन (२५ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ) ऋण लिएकोमा २० वर्षसम्म साँवा र व्याज गरी २ अर्ब ७६ करोड ४४ लाख २० हजार ८५८ युआन (५२ अर्ब रुपैयाँ) भुक्तान गर्नुपर्छ। ब्याजमात्रै ९ अर्ब ९२ करोडभन्दा बढी पर्छ।

गत २०७९ चैतदेखि भुक्तानी सुरु भएकोमा ९४ करोड रुपैयाँ बराबरको किस्ता बुझाइसकेको नागरिक उड्ययन प्राधिकरणका ती अधिकारीले जनाए। ऋणसहित दैनिक खर्च र कर्मचारीको तलबमा विमानस्थलले मासिक २५ करोडभन्दा बढी कमाउनुपर्छ। तर, लक्ष्य अनुरुप आम्दानी छैन।

अहिलेसम्म कति भयो आम्दानी ?

विमानस्थलको तथ्यांक अनुसार सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ लाख ८ हजार जना यात्रुले हवाई सेवा लिएका छन्। यस्तै, गएको आर्थिक वर्ष २०८०/०८१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ४० करोड रुपैयाँ आम्दानी गरेको छ।

विमानस्थलकी प्रवक्ता जसुदा सुवेदीका अनुसारका गएको वर्ष विमानस्थलले उक्त रकम आम्दानी गरेको जानकारी दिइन्। उनका अनुसार विमानस्थलले एरोनोटिकल तथा नन–एरोनोटिकलबाट पनि आम्दानी गर्छ भने विमानस्थल दस्तुर नियमावलीअनुसार ल्याण्डिङ, पार्किङबाट आम्दानी हुन्छ।

अरुमा कोठा बहाल, घर बहालबाट पनि आउँछ। तर, सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई विशेष सहुलियत दिने निर्णय लिएकाले यदि अन्तर्राष्ट्रिय उडान भए पनि खासै आम्दानी नहुने सुवेदीको भनाइ छ। उनले भनिन्, ‘सरकारले ल्याण्डिङ, पार्किङमा छुट गरेकोले अन्तर्राष्ट्रिय उडान भए पनि तत्काल हामीलाई खासै फाइदा हुँदैन। यात्रु करबाट मात्र आउने हो।’

अन्तर्राष्ट्रिय उडानमा विमानस्थलले प्रतियात्रुबाट ३ हजार रुपैयाँ आम्दानी गर्ने प्रवक्ता सुवेदीले बताइन्। जुन रकम जहाजको टिकट बिक्रीमै जोडिएको हुन्छ। आन्तरिकसँगै ३ वटा अन्तर्राष्ट्रिय फ्लाइट नियमित गर्न सके वर्षमा १ अर्ब रुपैयाँ हाराहारी आम्दानी हुन सक्ने विमानस्थलले जनाएको छ।

आन्तरिक र चार्टर उडानमै सीमित

गत वर्ष २३ भदौको बिहान पोख अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको हो। विमानस्थल सञ्चालनको करिब ८ महिनापछि उक्त दिन भुटानको ड्रुक एयर भुटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो। भुटानबाट चार्टर भएर बिहान ५ः५५ मा ३ यात्रु लिएर उडेको १५० सिट क्षमताको उक्त विमान बिहान ६ः४० मा पोखरामा अवतरण भएको थियो।

उक्त जहाज १ घण्टापछि ४२ यात्रु लिएर फर्किएको थियो। विमानले यहाँ तिर्नुपर्ने रकम तिरेकाले यसैलाई पहिलो व्यावसायिक उडान मानिएको तत्कालीन विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले बताएका थिए। पोखरा आएका यात्रुमा नेपाली, अमेरिकी र भियतनामका एक–एक जना थिए भने पोखराबाट जहाज चढ्ने ४२ यात्रु अमेरिकी, भारतीय र क्यानेडियन पर्यटक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमानुसार प्रतियात्रु ३ हजार रुपैयाँ र ग्राउण्ड ह्याडलिङ शुल्क उक्त फ्लाइटले तिरेको हो।

यो विमानस्थलमा होल्डिङ गर्नु पनि नपर्ने, यात्रुलाई पनि सुविधा हुने गरेकोले विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीसँग छोटो दूरीका हवाई उडान गर्नुपर्नेमा जोड सर्वत्र उठेको थियो। त्यसअघि, ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ अवतरण भएको थियो। यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हो। त्यसबेला विमानस्थलमा भव्य समारोह आयोजना गरिएको थियो।

छेङ्दु तियान्फु विमानस्थलबाट नेपालको राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर जहाज आएको थियो। त्यसबेला ८० यात्रु आएका थिए। २२ कात्तिकमा चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो विमान पोखरा ओर्लिएको थियो। छेन्दुबाट राहत सामग्री लिएर उक्त विमान पोखरा आएको थियो।

त्यसको १५ दिनभित्रै ७ मंसिरमा हिमालयन एयरलाइन्सको चार्टर विमान पोखरामा अवतरण गर्‍यो। पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चिनियाँ खेलाडी हिमालयन एयरलाइन्सको चार्टर विमानमा पोखरा आएका थिए। विमानस्थल प्रवक्ता जसुदा सुवेदीका अनुसार हालसम्म यो विमानस्थलमा ७ वटा अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण भएका छन्।

८१ जना पोखराबाट उडेकोमा, २ सय १५ यात्रु पोखरा ओर्लिएका छन्। हिमालयनपछि यहाँ कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन। विडम्बना त के छ भने, भारत सरकारले आफ्नो आकाश प्रयोग गर्न त दिएन चीनले समेत आफैंले निर्माणमा सघाएको भए पनि नियमित उडानमा अनिच्छा देखाइरहेको छ।

यहाँबाट हाल बुद्ध, यती र श्री एयरलायन्सले मात्र सेवा दिएका छन्। पोखराबाट हाल काठमाडौं, भरतपुर र भैरहवामात्र उडान हुने गरेको छ। पोखराको पुरानो विमानस्थलबाट जोमजोम उडान हुन्छ भने हेलिकप्टर कम्पनीहरुले पनि यहीँबाट सेवा दिइरहेका छन्। यसअघि, नेपालगञ्ज र सिमरासमेत उडान हुने गरेकोमा अहिले दुवै ठाउँमा यात्रु नपाउँदा उडान हुन सकेको छैन। अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि भने एकमात्र फाइदा, रात्रीकालीन उडानले हुने गरेकाे यात्रुहरू बताउँछन्।

निर्माणमै अनियमितता आशंका

विमानस्थलको धावनमार्ग खासमा ३ मिटर उचाइ बढाउनुपर्ने थियो। तर, ६ मिटर खारेर निर्माण भयो। धावनमार्गकाे सतह घटेपछि पूर्वतर्फको रिठ्ठेपानी डाँडा ४० मिटर कटान गर्नुपर्ने अवस्था आयो। यसरी धावनमार्ग ४० फिट गहिरो किन हुन गयो भन्ने प्रश्न यथावत् छ।

अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ ठूला जहाज अवतरणमा समस्या छ। विमानस्थल फोर डी मोडलमा बनेका कारण न्यारोबडी विमानमात्र अवतरण सम्भव छ। अझ विमानस्थल पश्चिमतर्फ रहेको पुम्दीभुम्दी डाँडाले ठूलो जहाज अवतरण रोक्छ। यो किन हुन गयो? विमानस्थलको लागत बढ्न गएकोदेखि रनवेको माटो परीक्षण रिपोर्ट, रन–वेको कटिङ, फिलिङ लगायत थुप्रै विषयमा गएको असार २४ र २५ मा भएको अनुगमनमा संसदीय लेखा समितिको चासो देखाएको छ।

विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि गत १३ असारमा समिति सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा छानबिन गठन भएको थियो। सोही समितिको टोली यहाँ आएर विमानस्थलको स्थलगत अध्ययनसँगै विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सरोकारवाला निकायसँग छलफल गरेको थियो।

छलफलमा पोखरेलीले सम्झौताभन्दा विमानस्थलको धावनमार्गको उचाइ कम भएको, भूराजनीतिक कारणले उडान हुन नसकेको गुनासो गर्दै अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण पहिल्याई उडान नियमित गर्न माग गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थलको धावनमार्ग जानाजान सानो बनाइएको र थप अग्लो बनाउनुपर्नेमा माटो झिकेर गहिरो पारेको बताउँछन्।

उनका अनुसार २६ किस्तामा ऋण तिर्नुपर्नेमा विमानस्थलको व्यावसायिक योजना जरुरी रहेको छ। उनले व्यावसायिक उडानमा निरन्तरताको जोड दिँदै पोखरामा अन्तर्राष्ट्रिय विमान सहजै ओर्लिन र उडान भर्न सक्छन् भन्ने प्रचार आवश्यक रहेको बताए।

प्रकाशित: १५ भदौ २०८१ २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast