मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री यादवलाई

हिमाल प्रेस १४ भदौ २०८१ १२:४६
14
SHARES
मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री यादवलाई

काठमाडौँ- २०८० सालको मदन पुरस्कार मोहन मैनालीलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभा बैठकले ‘मुकाम रणमैदान’ कृतिका लागि मैनालीलाई पुरस्कार दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्।

यसैगरी भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय बैठकले गरेको छ। मदन र जगदम्बाश्री दुवै पुरस्कारको राशि चार-चार लाख रुपैयाँ छ।

नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा वर्षभरिमा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिँदै आएको छ। यसैगरी विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्‌मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बाश्री पुरस्कार दिइँदै आएको छ।

यसअघि गुठीले पाँच पुस्तकको नाम सार्वजनिक गरेको थियो। छनोटमा परेका कृतिमा भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुनतेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए। गुठीले यस वर्ष ३०४ वटा कृति प्राप्त भएकोमा पाँच कृति छनोट गरेको थियो।

गुठीले २०७२ सालदेखि गुठीमा प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तक छनोट गरी सूची सार्वजनिक गर्दै आएको छ।

२०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो। मदन पुरस्कार रानी जगदम्बाले आफ्ना दिवंगत पति मदनशमशेर राणाको स्मृतिमा स्थापना गरेकी हुन्।

जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि दिन थालिएको हो। पहिलोपटक उक्त पुरस्कार नारायणगोपाललाई प्रदान गरिएको थियो। रानी जगदम्बाकुमारी देवीको स्मृति चिरस्थायी राख्ने उद्देश्यले गुठीले जगदम्बीश्री पुरस्कार स्थापना गरेको थियो।

इतिहासको दस्तावेज : मुकाम रणमैदान

प्रकाशित: १४ भदौ २०८१ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast