इजरायल-लेबनान द्वन्द्व : नेपालले रोकेन व्यक्तिगत श्रम स्वीकृति

हिमाल प्रेस १० भदौ २०८१ १२:१२
62
SHARES
इजरायल-लेबनान द्वन्द्व : नेपालले रोकेन व्यक्तिगत श्रम स्वीकृति लेबनानको राजधानी बेरुतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडानको पर्खाइमा यात्रु। हिजबुल्लाह र इजरायलबीच तनाव बढेपछि लेबनानका रहेका विदेशीहरू स्वदेश फर्कन थालेका छन्। तस्बिर : एएफपी/रासस

काठमाडौँ- इजरायल र लेबनानबीच युद्ध जारी रहे पनि ती देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार जान रोकिएका छैनन्। वैदेशिक रोजगार विभागले आइतबार सार्वजनिक गरेको साउनको मासिक प्रतिवेदनमा नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृतिमा इजरायल र लेबनान गइरहेको उल्लेख छ।

साउनमा लेबनानमा एक पुरुष र दुई महिला गरी तीनजना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। ११ जना पुरुष व्यक्तिगत श्रम स्वीकृति लिएर इजरायल गएको विभागको तथ्यांक छ।

इजरायली सेनाले आइतबार लेबनानस्थित हिजबुल्लाहका निसानामा आक्रमण गरेको थियो।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी सरकारी स्तरमा निर्णय नभएका कारण इजरायल र लेबनान जाने कामदारको श्रम स्वीकृति रोक्न नमिल्ने बताउँछन्। उनले भने, ‘इजरायल र लेबनान जाने कामदारको संस्थागत अथवा व्यक्तिगत श्रम स्वीकृति जारी नगर्नु भनेर सरकारी स्तरमा निर्णय नभएसम्म रोक्न मिल्दैन।’

विभिन्न ट्रेड युनियनले ती देशमा कामदार पठाउन तत्काल रोक लगाउनुपर्ने माग गर्दै आएका छन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले सरकारले आफूहरूका माग बेवास्ता गर्दै ती देशमा व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाइरहेको बताए।

लेबनानबाट विदेशी नागरिक स्वदेश फर्किन थालेका छन्। नेपाल सरकारले भने लेबनानमा रहेका नेपाली फर्काउन पहल गरेको छैन। लेबनानमा रहेका नेपालीलाई समस्यामा परेर सम्पर्कमा आउन इजिप्टको कायरोस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले लेबनानमा रहेका नेपालीको अवस्थाबारे कायरोस्थित नेपाली दूतावासले जानकारी लिइरहेको बताए। राईले भने, ‘इजरायलले आक्रमण गरेपछि लेबनानमा रहेका नेपालीको अवस्थाबारे दूतावासले विभिन्न माध्यममार्फत जानकारी लिइरहेको छ। अहिलेसम्म लेबनानमा कोही नेपाली समस्यामा नपरेको र त्यहाँ रहेका नेपाली सुरक्षित रहेको सूचना पाएका छौँ।’ युद्ध बढ्दै गए लेबनानमा रहेका नेपाली फर्काउन सरकारले पहल गर्ने उनले बताए।

लेबनानमा १५ हजार बढी नेपाली कामदार कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ। यसैगरी इजरायलमा २० हजारभन्दा बढी नेपाली कार्यरत छन्।

प्रकाशित: १० भदौ २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =