इजरायलले गर्‍यो लेबनानमाथि आक्रमण

हिमाल प्रेस ९ भदौ २०८१ १३:३५
22
SHARES
इजरायलले गर्‍यो लेबनानमाथि आक्रमण उत्तरी इजरायलमा आइतबार इजरायली वायु सेनाले रोकेको हिजबुल्लाहको रकेट। तस्बिर : एएफपी/रासस

काठमाडौँ- इजरायली सेनाले आइतबार लेबनानस्थित हिजबुल्लाहका निसानामा आक्रमण गरेको छ। इजरायलतर्फ क्षेप्यास्त्र र रकेट प्रहार भएपछि जबाफी आक्रमण गरेको इजरायली अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले जनाएको छ। समाचार एजेन्सी एएफपीका अनुसार यसअघि उत्तरी इजरायलमा हिजबुल्लाहले ३२० भन्दा बढी रकेट आक्रमण गरेको थियो।

हिजबुल्लाहको रकेट आक्रमणका कारण तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द गरिएको थियो। यसैगरी इजरायलमा ४८ घण्टे संकटकाल घोषणा गरिएको छ। इजरायली सुरक्षा बल (आईडीएफ) का प्रवक्ता ड्यान्यल हेगारीले आत्मरक्षाका लागि लेबनानको आतंकवादी निसानामा आक्रमण गरिरहेको बताएका छन्।

यसैगरी इजरायलले लेबनानका सर्वसाधारणलाई इरानको समर्थन पाएको सिया मुसलमान समूहलाई हिजबुल्लाह रहेका ठाउँ छाड्न चेतावनी दिएको छ। आइतबार बिहानै उत्तरी इजरायलमा रकेट आइरहेको चेतावनीका साइरन बजेका थिए। आक्रमणबाट भएको क्षतिको विवरण प्राप्त नभएको समाचारमा उल्लेख छ।

इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा इरानको नेतृत्वमा रहेको ‘सैतानहरूको समूह’ बाट आफ्नो ‘नागरिक र भूगोलको रक्षा गर्नका लागि’ कदम चालिरहेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरूलाई चोट दिने जोसुकैलाई चोट दिने नीति अंगीकार गरेको बताएका छन्। उनले हिजबुल्लाहले इजरायलमाथि आक्रमण गर्ने तयारी गरिरहेको थाहा पाउनेबित्तिकै सेनाले जोखिम हटाउन जबाफी आक्रमण गरेको बताए।

हिजबुल्लाहले इजरायलमाथिको ड्रोन आक्रमण फुआद सुकरको ‘साहदत’को बदला भएको जनाएको छ। सिया समूहका वरिष्ठ सैन्य कमान्डर सुकरको गत जुलाईमा इजरायलले गरेको हवाई हमलामा लेबनानको राजधानी बेरुतमा मारिएका थिए।

प्रकाशित: ९ भदौ २०८१ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =