काठमाडौँ- आरजु राणा देउवा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनापछि छिमेकी भारतको औपचारिक भ्रमणमा निस्किएकी छन्। नेपालका राजनीतिक दल र नेताप्रति दुवै छिमेकीले अविश्वास गरिरहेको समयमा परराष्ट्रमन्त्री राणा आइतबार नयाँदिल्ली गएकी हुन्। केही वर्षयता नेपालका राजनीतिक दल र नेतालाई भारत, चीन र अमेरिकाले शंकाको दृष्टिबाट हेरिरहेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्।
छिमेकसँगको अविश्वास सम्बोधन भएमात्र नेपालको साख माथि उठ्ने परराष्ट्र मामिला विज्ञहरूको धारणा छ। पछिल्लो समय दुई ठूला दलको सहकार्यसहित खड्गप्रसाद ओलीले सत्ता सम्हालेलगत्तै काठमाडौँमा कूटनीतिक भेटघाट सघन बन्न पुगेको छ। त्यही सघनताबीच भारतका नवनियुक्त परराष्ट्र सचिव विक्रम मिश्री नेपाल आए। काठमाडौँस्थित अधिकांश विदेशी राजदूतले नेपालका ‘फुर्सदिला प्रधानमन्त्री र मन्त्रीहरू’ सँग एकपछि अर्कोलाई भेटिरहेका छन्। जुन संसारमा विरलै देख्न पाइन्छ। सिंहदरबारभित्रको पार्किङमा कूटनीतिक (नीला प्लेट) गाडीहरू बग्रेल्ती देखिने क्रम रोकिएको छैन।
आरजु कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्। त्यसैले उनीमाथि जनस्तरबाट चुनिएर खारिएकी भन्दा पनि पतिको पदको उपयोग गरेर राजनीतिमा हालीमुहाली गर्दै आएकी नेतृ भनेर आलोचना हुँदै आएको छ। आरजुलाई नजिकबाट चिन्नेहरू उनी कूटनीतिक कार्यमा भन्दा पनि आफ्नो अनुहार, कपडा र कसले के भन्यो भन्नेमा बढी चासो दिने परराष्ट्रमन्त्रीमा परेको बताउँछन्। परराष्ट्र मन्त्रालयमा पनि उनका विषयमा यस्तै कुरा हुने गरेको कर्मचारीहरू टिप्पणी गर्छन्। परराष्ट्रमन्त्री बनेपछि उनले नेपाल पहिलो भन्ने नाराका साथ परराष्ट्र नीति अवलम्बन गर्ने बताए पनि त्यसअनुरूप कत्तिको काम हुन्छ हेर्नैपर्ने हुन्छ।
यति हुँदाहुँदै पनि भारत र चीनले नेपालप्रति देखाएको अविश्वास हटाउन सकेमा आरजुको कार्यकाल सफल हुने विज्ञहरू बताउँछन्। यद्यपि मन्त्री आरजुले कतिबेला के बोलिदिने र त्यसलाई कसरी मिलाउने हो भन्ने चिन्ता रहेको परराष्ट्र अधिकारीहरू बताउँछन्। परराष्ट्रमन्त्री आरजुलाई भारत भ्रमणका क्रममा व्यक्तिगतभन्दा राष्ट्रिय सरोकारको विषय गम्भीरतासाथ उठाउनुपर्ने सुझाव उच्च कर्मचारीहरूले दिएका छन्। एक उच्च अधिकारीले भने, ‘भारतीय उच्च अधिकारीहरूसँगको भेटमा मलाई सफल परराष्ट्रमन्त्री बनाउँदै, पछि प्रधानमन्त्री बनाउन भारतले सहयोग गरेमा म यो गर्छु त्यो गर्छु भन्ने शब्दावली उपयोग गरेमा आरजुको राजनीति यतिमै सकिनेछ।’ आरजुको हाउभाउ र परराष्ट्र मन्त्रालयमा व्यक्त गर्ने शैलीले भारतीय अधिकारीहरूसँग बढी नै लचक हुन सक्ने सम्भावना रहेको कर्मचारीहरू बताउँछन्।
कूटनीतिक क्षेत्रमा आरजुले भारत भ्रमणका लागि जनैपूर्णिमा चयन गर्नुले फेरि ‘राखी कूटनीति’ को चर्चा हुन थालेको छ। कांग्रेस सभापति देउवा पछिल्लोपटक प्रधानमन्त्री भएका बेला २०७८ भदौमा नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग हेर्ने विजय चौथाईवालेलाई आरजुले बालुवाटारमा राखी (रक्षाबन्धन) बाँधिदिएकी थिइन्। त्यति बेला भारतीय नेतालाई अस्वाभाविक रूपमा बालुवाटारमा राखी बाँधेर भारतसँग आफ्नो नाता जोडेको भनेर आरजुको आलोचना भएको थियो। जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने चलन छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आरजुले यसपटक पनि चौथाईवालेलाई राखी बाँध्ने कार्यक्रम तय भएको छ। यसका साथै दुईपक्षीय भेटघाट र आफ्नो उपचार गराउने भ्रमणका अन्य उद्देश्य छन्। भारत भ्रमणका लागि आरजुले नयाँदिल्लीस्थित नेपाली दूतावासभन्दा पनि लैनचौरस्थित भारतीय दूतावाससँग निकट रहेर कार्यक्रम तय गरेको अधिकारीहरूले बताएका छन्। त्यसैले उनको कार्यशैलीप्रति परराष्ट्र अधिकारीहरू सन्तुष्ट छैनन्। उनीहरूले आरजुको कार्यशैलीलाई परराष्ट्र नेपालको कूटनीतिमा खेर गएको समय भन्न थालेका छन्।
‘प्रमुख दुई प्रतिस्पर्धी दल मिलेर बनेको सरकारको परराष्ट्र मामिला सञ्चालन ख्यालठट्टाको विषय होइन। आरजुको गतिविधि भने सुजाता कोइराला, अर्जुनजंगबहादुर सिंह र एनपी साउदको भन्दा भिन्न देखिएन’, मन्त्रालयका एक उच्च अधिकारीले भने।
कूटनीतिक क्षेत्रका जानकारहरू पनि आरजुको भारत भ्रमणबाट नेपालले कुनै अपेक्षा गर्न नहुने टिप्पणी गर्छन्। पूर्वराजदूत डा. जयराज आचार्यले भने, ‘आरजु भारत जानुअघि नेपाल आएका विक्रम मिश्रीले यहाँ दुईपक्षीयभन्दा बहुपक्षीय विषयमा अधिक छलफल गरेको समाचारबाट पुष्टि हुन्छ।’ उनले आरजुले मन्त्रीले केके न गर्छिन् भन्ने आशा गर्नु व्यर्थ रहेको बताए।
आचार्यले भने, ‘भारतीय परराष्ट्रमन्त्री नेपाल आउँदा दुई देशबीच सम्बन्धको विषय थाती राखेर जलवायु परिवर्तनमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयबाट जानकारी आउँछ भने अहिले भारत जाने परराष्ट्रमन्त्रीले केके न गर्छिन् भनेर सोच्नु गलत हो।’ न यी यदुनाथ खनाल हुन्, न राजा महेन्द्र र बीपी नै हुन् यस्ताबाट के आस गर्नु भन्दै डा. आचार्य टिप्पणी गर्छन्, ‘काम गर्नेको त शैली हुन्छ। छलफल हुन्छ। विषयमा दख्खल हुनुपर्छ।’
गैरसरकारी संस्था सञ्चालन गर्नु र मुलुकको कूटनीति चलाउनु फरक विषय रहेको उनले बताए। आरजु लामो समयसम्म गैरसकारी संस्था (एनजीओ) सञ्चालक भएर पतिको हात समाएर राजनीतिमा फड्किएको धेरैको बुझाइ छ। एनजीओकर्मी आरजुमाथि पतिको शक्तिको आडमा रहेर धेरै रकम भित्र्याएको र रकमअनुसार काम भए नभएको विषयमा कसैले चासो दिन नसकेको भनेर आलोचना हुने गरेको छ। ‘उनी कुनै पनि मुद्दामा प्रवेश गर्न सक्ने छैनन्। आफ्ना राजनीतिका कुरा राख्ने, राखी बाँध्ने र औषधिउपचार गर्ने जस्ता निजी कामबाहेक’, परराष्ट्रका अर्का एक अधिकारीले भने।
आरजुले मित्रराष्ट्रसँग विश्वास अभिवृद्धि गर्नमा कत्तिको भूमिका निर्वाह गर्छिन् र राखी कूटनीतिलाई कुन तवरले अघि बढाउँछिन् त्यसबाट नै उनको कूटनीतिक क्षमता परीक्षण हुने ती अधिकारीको धारणा छ। पूर्वराजदूत आचार्यले भने आरजुको परीक्षा यहीँ भइसकेको बताए।
समानुपातिक सांसद आरजु परराष्ट्रमन्त्री बन्नुअघि प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रात समितिकी सभापति थिइन्। आरजुलाई कांग्रेस वृत्तमा पतिपछि पार्टीमा आफू कुन अवस्थामा रहने भन्ने अभ्यासमा लागेकी भनेर चर्चा हुने गरेको छ। कांग्रेस नेताहरूका अनुसार आरजु पार्टीभित्र लोकप्रिय बन्न सकेकी छैनन्।
कांग्रेसका एकजना पुराना नेताले भने, ‘दुई दशकदेखि कांग्रेसमा आबद्ध भने पनि आरजुको पछि लाग्ने सामान्य झुण्डमात्र छ। उनले कहिले धर्म त कहिले राखी कूटनीतिको त्यान्द्रोमा आफ्नो कूटनीति चलाउन खोजेकी छन्।’
शक्तिको अभ्यासबाट मन्त्री बनेको आरोप
सत्ता राजनीतिमा परिचित अनुहार भए पनि आरजुले मन्त्रालय सञ्चालनको जिम्मा पहिलोपटक पाएकी हुन। आरजुका पति कांग्रेस सभापति देउवा पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्। आलोचकहरू उनलाई त्यति बेला भरपूर शक्तिको अभ्यास गरेकी र कतिपय ‘डिल’ मा सहभागी भएको आरोप लगाउँछन्।
भारतको पञ्जाब विश्वविद्यालय र त्यसअघि पुणेमा अध्ययन गरेकी आरजुले भारतबाटै संगठन मनोविज्ञानमा विद्यावारिधि गरेकी छन्। उनले नेपालको महिला सशक्तीकरण, प्रजनन स्वास्थ्य, महिला हिंसा न्यूनीकरणसहितका क्षेत्रमा काम गर्दै आएकी थिइन्।
पछिल्लोपटक कांग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सातबुँदे सहमति हुँदा आरजुको सक्रियता बढी थियो। दुई पार्टीको सहमतिमा पार्टीका अन्य पदाधिकारी हुनुपर्ने स्थानमा आरजु रहनुले उनको आलोचना हुने गरेको छ। पार्टीमा जे भए पनि आरजुले आफ्नो राजनीतिक भविष्य राखी कूटनीतिले तय गरिदिने भन्न थालेको उनी निकटका नेताहरू सुनाउँछन्। त्यही कारण आरजु आफ्नो दलबाट सिफारिस भएर मन्त्री बन्दा रमेश लेखकपछिको वरीयतामा परेकी छन्। कांग्रेसका एक नेता भन्छन्, ‘नागरिक रिझाउनु भन्दा छिमेकलाई रिझाएर आफू सफल हुने धुनमा आरजु लागेको देखिन्छ।’
कूटनीतिमा गम्भीर बन्न सुझाव
पूर्वराजदूत एवं प्रधानमन्त्रीका सल्लाहकार रहिसकेका डा. दिनेश भट्टराईले आरजु कूटनीतिमा गम्भीर हुन आवश्यक रहेको बताए। भट्टराईले भने, ‘उहाँमा ज्ञान र अनुभवको अभाव छैन। चेतना (विवेक) र ज्ञान फरक हो। ज्ञान र अनुभवलाई विवेकका रूपमा प्रयोग गरेमा उहाँ अघि बढ्न सक्ने देख्छु। विवेकमा ठेस लागे उभिन गाह्रो हुन्छ। कूटनीति अलिक फरक पाटो हुनाले यसमा उहाँ गम्भीर हुन आवश्यक छ।’
पश्चिमासँग निकट भनेर ट्याग लागिसकेकाले भारत र चीनसँग कसरी उनले डिल गर्नेछन् त्यो उनको आगामी काम गराइबाट स्पष्ट हुने विज्ञहरू बताउँछन्। विज्ञहरूका अनुसार अमेरिका-चीन सम्बन्ध, अमेरिका-भारत सम्बन्ध र भारत-चीन सम्बन्धमा देखा परेका कैयौँ विषयका बीचमा नेपाल छ। त्यसैले आरजुले यस्ता विषयमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।
नेपालले भारत र चीन दुवैलाई उनीहरूको सरोकार जायज छ भने मात्र सम्बोधन गर्नुपर्ने अन्यथा सम्भव छैन भनेर पन्छाउन सक्नुपर्ने विज्ञहरू बताउँछन्। आचार्यले आरजुलाई सुझाउँदै भनेका छन, ‘आमनागरिकको मनमा बस्न सकेमात्र विदेशीले पत्याउँछन्। अन्यथा पत्याउन गाह्रो छ। धेरैले रुचाएको नेतालाई मात्र विदेशीले पनि रुचाउने हो भन्नेकुरा राजनीति गर्नेले भुल्नु भएन।’
नेपाल आफूबाट बाहिर नजाओस् भन्ने भारतीय चाहना देखिन्छ। चीनले पनि नेपालमार्फत भारतमा व्यापारिक सक्रियता अघि बढाएको छ। बेल्ट एन्ड रोड इनिसियटिभ्सअन्तर्गत ऋण दिने प्रक्रियामा चीन छ। उसले आफूले दिने सहयोग पनि बीआरआईअन्तर्गतको भन्न थालेको छ। सत्तारुढ दलबीच यो सहयोग लिने र नलिनेमा सहमति हुन सकेको छैन। एमाले लिनुपर्ने पक्षमा छ भने कांग्रेस यत्ति धेरै ब्याज तिरेर ऋण लिन नहुने अडानमा छ। त्यस विषयलाई सम्बोधन गर्न सहज छैन। किनभने बेइजिङले बीआरआईलाई आफ्नो परराष्ट्र नीतिको अंग बनाएको छ।
भारतसँग नेपालको समस्या स्पष्ट राख्न सक्नुपर्छ। भारत रिसाउँछ कि भन्ने डर मान्न पर्ने आवस्था अहिले छैन। त्यसैले पनि परराष्ट्रमन्त्री आरजुले मुलुकको कुरा कत्तिको राख्न सक्छिन् त्यसमा भ्रमण सफलत निर्भर हुन्छ। चीनको बीआरआई, अमेरिकाको इन्डो प्यासिफिक रणनीति र भारतको छिमेक पहिलो नीतिको बीचमा नेपालको कूटनीतिक कस्तो हुन्छ त्यो बुझ्न दुई दिन पर्खनुपर्छ।
नेपालको भूराजनीतिक अवस्थिति र परराष्ट्र सम्बन्धका अस्थिर पक्षद्वारा सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीलाई नियालेर त्यसलाई चिर्न सक्नुपर्छ। साथै परराष्ट्र सम्बन्धमा छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राख्न र मुलुकको परराष्ट्र नीति सञ्चालनमा राष्ट्रिय सहमति निर्माण गर्न सक्नुपर्छ। सञ्चालन विधि फरक भए पनि नीतिमा सबैकाे एकै धारणा हुनु पर्ने विषयमा पटकपटक बहस भएको छ। अनि कतिपय यस्ता विषय त भारतसँग पनि सिक्न सकिन्छ। उसको कूटनीतिक अभ्यास निकै बलियाे छ।