विपद् व्यवस्थापनका लागि अमेरिकाले नेपाली सेनालाई थप दुई स्काई ट्रक र दुई हेलिकप्टर उपलब्ध गराउने

हिमाल प्रेस १ भदौ २०८१ २१:१०
34
SHARES
विपद् व्यवस्थापनका लागि अमेरिकाले नेपाली सेनालाई थप दुई स्काई ट्रक र दुई हेलिकप्टर उपलब्ध गराउने फाइल तस्बिर

काठमाडौँ –अमेरिकाले नेपालले लगातार सामना गर्नु परिरहेकाे विपद् व्यवस्थापनका लागि पुनः दुई स्काइट ट्रक  उपलब्ध गराउने  र दुई बेल हेलिकप्टर खरिदकोमा अनुदान सहयोग दिने भएको छ। यसअघि अमेरिकाले घोषणा गरेको दुई स्काई ट्रक पनि आउने क्रममा रहँदै गर्दा थप दुई  स्काई ट्रक दिने भएको हो। अमेरिकाको विदेश मन्त्रालयले उक्त सहयोग गर्न लागेको जानकारी परराष्ट्रमन्त्री आरजु राणा देउवाले ट्वीट मार्फत बाहिर ल्याएकी हुन्।

करिब तीन वर्षअघि दुई स्काई ट्रक उपलब्ध गराएको भए पनि त्याे अझै आइसकेको छैन। कोभिडले अर्थतन्त्र थिलोथिलो भएको अमेरिकाले पटकपटक मिति सार्दै आए पनि प्रतिवद्धता अनुरुपको सहयोग गर्ने यसअघि नै बताएकाे थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुरानो ‘कमिटमेन्ट’ अन्तर्गतको दुई स्काई ट्रक जतिसक्दो छिटो उपलब्ध गराउने र नयाँ स्काई ट्रककाे पनि खरिद प्रक्रिया अघि बढाएर दुई वर्ष भित्र नेपाल पठाउने अमेरिकाले जानकारी दिएको छ।

नेपाली सेनाले थप हेलिकप्टर खरिद गर्दा दुई हेलिकप्टर खरिदमा पूर्ण सहयोग गर्ने पनि अमेरिकाले प्रष्ट पारेको हो। अमेरिकाले नेपालको विपद् व्यवस्थापनमा पहिले देखि नै सहयोग गर्दै आएको र त्यसका लागि आवश्यक पर्ने सामाग्री र उपकरण पनि उपलब्ध गराउँदै आएको छ।

राजेन्द्र क्षेत्री प्रधानसेनापति भएको समयमा नै अमेरिकाले चार स्काई ट्रक र दुई हेलिकप्टर अनुदानमा चरणवद्ध उपलब्ध गराउने भनेको थियो। त्यसपछि तीन प्रधान सेनापति परिवर्तन भइसक्दा चार सहयोग आए पनि दुई सहयोग आउने क्रममा नै छ। क्षेत्रीसँगको सहमतिमा नै दुई जहाज सन् २०१८ को अन्त्यसम्म नेपाल आइपुग्ने जानकारी अमेरिकाले दिएको र अन्य दुई जहाज भने केही वर्ष लाग्ने त्यो समयमा भनिएको थियो। नेपालमा ग्राउण्डेड भएको स्काइट्रक पनि सोही कम्पनीले मर्मत गर्ने बताइएकाे थियाे। समझदारीअनुसारकाे काममा काेभिडले असर गरेकाे भए पनि अहिले त्यसमा निरन्तरता पाउने भएको छ।

तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सुरुमा सन् २०१७ को अन्त्यसम्म दुई र २०१८ को अन्त्यसम्म अन्य जहाज आउने बताए पनि अहिलेसम्म दुई जहाज आउनै बाँकी छ। कोभिडका कारणा खरिद आदेश गर्न नै ढिलाई भएकोले त्यो सहयोग आउने क्रममा रहँदै गर्दा थप सहयोग अमेरिकाले गर्न लागेको हो। स्काई ट्रकसँगै अन्य सैन्य सहयोग पनि अमेरिकी सरकारले उपलब्ध गराउने जानकारी दिएको थियो।

अमेरिकी उपविदेशमन्त्री रिचर्ड वर्माले शुक्रबार गरेको एक दिने भ्रमणमा नेपाललाई दुई स्काइ ट्रक र दुई बेल हेलिकप्टरको पुरानो प्रतिवद्धता बाहेकको सहयोग उपलब्ध गराउने बताएका हुन। नेपालले प्राप्त गर्ने ती हेलिकप्टरहरु नेपाली सेनाले प्रयोग गर्ने छ। भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली र परराष्ट्रमन्त्री राणासँगको शिष्टाचार भेटवार्ता गरेका थिए।

उक्त अवसरमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा कुराकानी भएको थियाे। वर्माको भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयका प्रिन्सिपल उपप्रवक्ता वेदान्त पटेलले समेत एक वक्तव्य जारी गर्दै वर्माले नेपालको विपद् प्रतिकार्य र हवाई क्षमतालाई सुदृढ गर्न जोड दिएको उल्लेख गरेका छन्।

उपविदेशमन्त्री वर्माले नेपालको रोटरी विङ (हवाई) क्षमताका लागि विदेशी सैन्य वित्त कोषबाट १० करोड डलर उपलब्ध गराउने जानकारी पनि दिएका छन्। उक्त रकम उपलब्ध गराउनेबारे अमेरिकी कांग्रेसमा समीक्षा भइरहेको जानकारी वर्माले दिएका थिए। अमेरिकाको विदेशी सैन्य वित्त कोषबाट उक्त सहयोग उपलब्ध गराउने अभिप्राय व्यक्त भइसकेको छ।

यसरी नेपालको विकासमा सहयोग गर्दै आएको अमेरिकाले आफ्नो मुलकुको उप विदेशमन्त्रीको नेपाल भ्रमण सफल रहेको जानकारी दिएको छ। व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री रिचार्डको नेपाल भ्रमण सफल रहेको अमेरिकी दूतावासले पनि स्पष्ट पारेहको छ। दूताावसले भनेको छ,‘प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणासँग नेपालीहरुका लागि उज्जवल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी भएको थियो।’

नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको जानकारी पनि उल्लेख दूतावासले उल्लेख गरेकाे थियाे। अमेरिकी उपविदेशमन्त्रीले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गरेका थिए। उनले एमसीसी नेपालका अधिकारी र युएसएआइडी नेपालको साझेदार नेपाल टि कलेक्टिभ टोलीसँग ठमेलमा स्वादिष्ट चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गरेका थिए।

अमेरिकी राजदूतले उनको नेपाल भ्रमणमा स्वागत स्वागत गर्दै नेपालको असहजतालाई सहज बनाउने अमेरिकी सहयोग रहने विषय उल्लेख गरेका थिए। भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गरेका थिए।

अमेरिकी सरकारले नेपाली सेनालाई शान्ति स्थापनाका लागि आवश्यक ‘लजिस्टिक’ र विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गर्ने यसअघि नै जानकारी दिएको थियो । त्यसमा समेत ढिलाइ भइरहेको सेनाले जनाउँदै आएको छ।

अमेरिकाले नेपालको विकासका लागि अहिलेसम्मकै ठूलो द्विपक्षीय सहयोग गरेर त्यस अनुरुप काम गरिरहेका छ। नेपाली सेनाले अमेरिकी सहयोगको स्काई ट्रकबाहेक ६ हेलिकोप्टर र एउटा जहाज खरिद प्रक्रिया अघि बढाएको थियो, क्षेत्रीको पालामा नै। पहिलेकाे प्रतिवद्धताको दुई स्काई ट्रक तत्काल आउने र थप दुई अर्डर गर्ने र  हेलिकोप्टर खरिदमा भने अमेरिकाले तत्काल अनुदान सहयोग गर्ने भनेको हो।

प्राकृतिक प्रकोप र अन्य उद्धार कार्यका साथै दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूर्वाधारका सामग्री ढुवानी, बिरामीको उद्धार, विशिष्ट पदाधिकारीको उडानका लागि सेनाले हवाईजहाज र हेलिकप्टरको माग गर्दै आएका हो। नेपालीसेनासँग हाल एक दर्जन हवाई साधन चालु अवस्थामा छन्।

प्रकाशित: १ भदौ २०८१ २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =