काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसीडी) मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ।
प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेको हो।
उक्त एसीडीमा नेपालसहित ३५ मुलुक आबद्ध छन्। उक्त मञ्चको १९औँ मन्त्रिस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो। नेपाल सन् २०१६ देखि एसीडीको सदस्य भएको हो।
सो अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो। छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।
प्रकाशित: २९ साउन २०८१ २०:३१ | Tuesday, August 13, 2024
प्रतिक्रिया




