व्यवस्थापन पढेको जनशक्तिको माग सबैतिर उच्च छ : डा.कृष्णप्रसाद आचार्य [भिडियोसहित]

रमेश दवाडी २९ साउन २०८१ ७:०७
966
SHARES
व्यवस्थापन पढेको जनशक्तिको माग सबैतिर उच्च छ : डा.कृष्णप्रसाद आचार्य [भिडियोसहित]

शंकरदेव क्याम्पस व्यवस्थापन पढाइ हुने त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो। राजधानीको पुतलीसडकमा रहेको यो क्याम्पसमा विद्यार्थीको चाप बढ्दो छ। विद्यार्थी-शिक्षक अनुपात मिलेको छैन। शिक्षकहरू अपुग छन्। नतिजा भने उत्कृष्ट ल्याउने गरेको छ। शंकरदेवमा पढेका जनशक्तिको माग पनि त्यत्तिकै बढ्दो छ।शंकरदेवमा स्नातक तहमा पढाइ हुने विषय, लाग्ने शुल्क, पढेपछि पाइने अवसर, व्यवस्थापन पढ्दाको फाइदालगायतका विषयमा क्याम्पसका प्रमुख डा.कृष्णप्रसाद आचार्यसँग रमेश दवाडीले गरेको कुराकानीको सम्पादित अंश :

कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीले उच्चशिक्षामा व्यवस्थापन संकाय नै किन पढ्ने?

जहाँ पनि व्यवस्थापकीय सीप चाहिने रहेछ। आफ्नो परिवारलाई कसरी सन्तुलनमा राख्ने, खर्च कसरी जुटाउने, बालबच्चालाई कसरी पढाउने लगायतमा व्यवस्थापकीय सीप चाहिन्छ। यस्तै व्यवस्थापकीय क्षमता स्कुल, कलेज, विश्वविद्यायल, पालिका, प्रदेश र देश चलाउन पनि चाहिन्छ। त्यसकारण नेपालमा मात्र होइन विश्वमै व्यवस्थापन हटकेक बनेको हो।

व्यवस्थापन यसरी अगाडि बढेको छ कि अस्पतालमा जाऔँ, त्यहाँ कसरी व्यवस्थापन गर्ने? स्कुल र समाजलाई कसरी व्यवस्थापन गर्ने, देशलाई कसरी व्यवस्थाप गर्ने? त्यो व्यवस्थापन गर्ने सीप व्यवस्थापन पढेका जनशक्ति भएको हुनाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको हो। अमेरिकामा विज्ञानको एउटा प्रोफेसरले वर्षमा एक लाख डलर तलब बुझ्छ भने व्यवस्थापनका प्रोफेसरले दुई लाख डलर तलब बुझ्छ।

शंकरदेव क्याम्पसमा व्यवस्थापन संकायका कुनकुन कार्यक्रम सञ्चालनमा छन्?

शंकरदेव क्याम्पसमा व्यवस्थापन मात्रै पढाइ हुन्छ। स्नातक तहमा दुईवटा कार्यक्रम छन्। एउटा नियमित कार्यक्रम। जसलाई बीबीएस भनिन्छ। यो वार्षिक प्रणालीको कार्यक्रम हो। अन्य चारवटा ‘स्पेसल’ कार्यक्रम छन्। त्यसअन्तर्गत बीबीए, बीबीए फाइनान्स, बीआईएम र बीबीएम छ। यी कार्यक्रम विद्यार्थीबाट उठाइएको शुल्कबाट सञ्चालन हुँदै आएका छन्।

नयाँनयाँ कार्यक्रममा विद्यार्थीको आकर्षण बढी छ। विश्वविद्यालय वा सरकारबाट सञ्चालन नगरेर विद्यार्थीबाट किन धेरै शुल्क उठाउनुपरेको हो?

स्पेसल कार्यक्रम भनेको ‘हाइब्रिड कोर्स’ हो। कार्यालय प्रमुख हुनका लागि र पढेपछि देशको हरेक कुनामा गएर उद्यमी बनून् भन्ने उद्देश्यले व्यवस्थापन पढाउन थालिएको हो। बीबीएसचाहिँ एकेडेमिक कोर्स हो। एकेडेमिक कोर्स पढ्ने विद्यार्थी फिल्डमा गएर तुरुन्तै फेमिलियर हुन सक्दैनन्। फिल्डमा तत्काल नतिजा चाहिन्छ। त्यसले गर्दा बैंकमा गएर कसरी काम गर्ने, उद्यमी कसरी हुने, प्रशासन कसरी चलाउने, प्रशासक कसरी बन्ने जस्ता सीपचाहिँ हाइब्रिड कोर्सले सिकाउँदो रहेछ। त्यसकारण बीबीए, बीबीए फाइनान्स, बीआईएम र बीबीएम सञ्चालनमा ल्याइएको हो।

व्यवस्थापन संकायका विद्यार्थीका लागि शंकरदेव क्याम्पस कसरी परेको हो?

विश्वविद्यालयमा पहिला पीसीएल अर्थात् प्रवीणता प्रमाणपत्र पढाइ हुन्थ्यो। अन्य देशमा यो तह पढाइ हुन्थेन। प्लस टु भनेर पढाइन्थ्यो। यो तहलाई अरू देशले विश्वविद्यालयको कोर्स भनेर मान्दैनथे। विश्वविद्यालयको मापदण्डभित्र नपर्ने हुनाले पीसीएल हटाउन माध्यमिक शिक्षा परिषद् भनेर आयो। प्रमाणपत्र तह हटाउन क्याम्पस मान्दैनन्। विद्यार्थी पनि मान्दैनन्। हाइब्रिड कार्यक्रम क्याम्पसलाई दिएपछि प्रवीणता प्रमाणपत्र तह छिटो हट्छ अनि विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर मात्र रहन्छ भन्ने उद्देश्य थियो। सोही उद्देश्यले सबैभन्दा पहिला शंकरदेव क्याम्पसले प्रमाणपत्र तह हटायो र बीबीए सञ्चालन गर्‍यो।

शंकरदेवले २०५८ सालदेखि सुरु गरेको हो बीबीए कार्यक्रम। सुरुका वर्षदेखि नै शंकरदेव क्याम्पसको नतिजा उत्कृष्ट रह्यो। यहाँ पढाउने शिक्षक पनि क्षमतावान् छन्। उत्पादित जनशक्तिले राम्राराम्रा अवसर पाएका छन्। शंकरदेवबाट स्नातक तह पार गरेर निस्कने विद्यार्थी बेरोजगार हुन पर्दैन। बाहिरी विश्वविद्यालयले पनि स्वीकार गरेको अवस्था छ। तत्काल जागिर पाइने भएकाले शंकरदेव क्याम्पसको बीबीएमा आकर्षण छ।

एउटा उदाहरण भन्न चाहन्छु- बीबीए पाँचौँ सेमेस्टरको नतिजा प्रकाशन गर्दा १८ जनाको ४.० जीपीए आएको थियो। जसमा शंकरदेवका १७ जना विद्यार्थी थिए। त्यस्तै बीबीएको सातौँ सेमेस्टरको नतिजा प्रकाशन हुँदा ४० जनाले ४.० जीपीए ल्याएका थिए। जसमा शंकरदेवका ३९ जना विद्यार्थी थिए। नतिजा राम्रो र शिक्षक क्षमतावान्। क्याम्पस पूर्वाधारले भरिपूर्ण। बजारमा पनि हाम्रा विद्यार्थीको बढी माग छ।

बीबीए, बीबीएस, बीआईएम त्रिविकै अन्य क्याम्पसहरूमा पढाइ हुन्छ।  त्रिविका शंकरदेवबाहेक अन्य आंगिक क्याम्पसमा त्यति विद्यार्थीको चाप छैन। कतिपय त विदेशतिर जान रुचाउँछन्। यसको कारण के हो?

हामीकहाँ स्पेसल कार्यक्रमको कोटा हुन्छ। बीबीएमा तीनवटा सेक्सन छ। जसमा ९९ जना भर्ना गर्न पाइन्छ। बीबीए फाइनान्समा ६६ जनाको कोटा छ। जसमा दुईवटा सेक्सन छ। बीआईएममा दुईवटा सेक्सन छ ६६ जनाको। बीबीएममा  ८८ जनाको दुईवटा सेक्सन छ। एक वर्षमा हामीले जम्मा ३१९ जना विद्यार्थी भर्ना गर्न पाउँछौँ। हाम्रो सबै कार्यक्रममा ३१९ जना सात दिनभित्रै भर्ना भइसक्छन्।

बीबीएसमा २२-२४ सय विद्यार्थी भर्ना हुन्छ्न। त्यसकारण विद्यार्थी अरूतिर आकर्षित भए भन्न मैले मिल्दैन। शंकरदेव क्याम्पसमा ३१९ जना विद्यार्थी भर्ना हुने अन्य क्याम्पसमा किन भएनन्? बाहिर किन गए? भन्ने ती क्याम्पसलाई नै सोध्दा राम्रो होला।

बीबीएस, बीआईएममाचाहिँ किन कोटा बढाउन नसकिएको हो?

कोटा बढाउँदा गुणस्तर घट्छ। त्यसकारण बढाउन नखोजेका हौँ।

बीबीएसमा गुणस्तर छैन त त्यसो भए? अनि बीबीए र बीआईएम पढेपछि कस्ता क्षेत्रमा रोजगारी पाइन्छ?

बीबीएसमा गुणस्तर छ। स्कुल अफ म्यानेजमेन्टको कार्यक्रममा एमबीएमा ८ जना शंकरदेवका विद्यार्थीले नाम निकालेका छन् भने पाँचजना बीबीए, बीआईएमतिरका पर्छन्। तीनजना बीबीएसकै पर्छन्। त्यसैले यता गुणस्तर छैन भन्ने कुरै छैन। बीबीएस सकेका विद्यार्थी लोकसेवा परीक्षा दिएर सरकारी सेवातिर जान्छन्। कोही प्रहरी र कोही सेनामा जान्छन्। कोही विदेश पढ्न जान्छन्। कोही एमबीएस गर्छन्।  शिक्षण पेसामा रुचि हुने एमफिल गर्छन्। एमफिल गरेपछि पीएचडी गर्छन्। त्यो एउटा पाटो भयो।

बीबीएका विद्यार्थीचाहिँ तह पार गरेपछि अधिकृत भएर जान्छन्।  परराष्ट्र सेवामा शंकरदेवबाट बीबीए पढेका विद्यार्थी धेरैले नाम निकालेका छन्। अंग्रेजी राम्रो र ट्यालेन्ट पनि हुने भएकाले नाम निकालेका हुन्। राष्ट्र बैंक, परराष्ट्र मन्त्रालय, स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकबाहेक अन्यमा हाम्रा विद्यार्थी बस्दैनन्। कि उद्यमी भएर बस्छन् कि विदेश जान्छन्।

७५३ वटा स्थानीय निकायमा आईटी अधिकृत चाहिन्छ। त्यहाँ बीआईएम पढेकै विद्यार्थी जानुपर्ने भनिन्छ। उसले डाटा व्यवस्थापन र आईटीको बारेमा जानेको हुन्छ। कार्यालय कसरी चलाउने, कसरी व्यवस्थापन गर्ने भन्ने व्यवस्थापकीय सीप पनि हुन्छ। दुईजना चाहिनेमा एकैजनाले काम गर्न सक्यो। त्यसकारण नेपालमा बीआईएम पढाउनुपरेको हो। सातौँ सेमेस्टरसम्मको विद्यार्थी बुक भइसकेका हुन्छन्। हाम्रो सानो कार्यक्रममा इन्टर्न गर भन्दा उनीहरू मान्दैनन्। उनीहरू सीधै जागिरमा गइसकेका हुन्छन्।

बीबीएम किन पढ्ने?

साँच्चिकै भन्ने हो भने बीबीएम निकै राम्रो कोर्स हो। हामीलाई चाहिने नै बीबीएम र एमबीबीएम हो। म के भन्छु भने शंकरदेवको विद्यार्थी जागिर खान हिँड्ने होइन, जागिर खुवाउन हिँड्ने हो। जागिर खुवाउन विद्यार्थीले पढ्ने हो भने बीबीएम र एमबीबीएम हो। बीबीएम र एमबीबीएमले उद्यमी बन्न सिकाउँछ। नेपालको कुनै पनि कुनामा गएर उद्यमी बन्न सकिन्छ। भैँसीपालन, माछापालन, गाईपालन इत्यादि जो छ त्यसको सीप बीबीएम र एमबीबीएम कार्यक्रमले दिन्छ।

शंकरदेवमा स्नातकोत्तरका केकस्ता कार्यक्रम छन्?

स्नातकोत्तरमा एउटा नियमित कार्यक्रम छ, जसलाई एमबीएस भनिन्छ। यो शंकरदेवको ब्युटी कार्यक्रम हो। विशेष कार्यक्रममा एमबीएम र एमबीएम फाइनान्स छ। यी तीनवटा कार्यक्रम चलाएका छौँ। हामीकहाँ विद्यार्थी प्रशस्तै हुन्छन्। सबै कार्यक्रमका गरी एक दिनमा एक सय कक्षा सञ्चालन हुन्छ। एमबीएसमा एउटा सेमेस्टरमा १६ वटा सेक्सन हुन्छ। एमबीए र एमबीए फाइनान्समा कोटा हुन्छ। एमबीए फाइनान्समा ३३ जनाभन्दा बढी विद्यार्थी भर्ना गर्न पाउँदैनौँ। एमबीएमा पनि त्यति नै कोटा हो।

शंकरदेवमा स्नातक तहको कुन कार्यक्रम अध्ययन गर्न कति शुल्क लाग्छ?

बीबीएसको तह पार गर्नलाई चार वर्षमा ३० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। एमबीएसको एउटा तह पार गर्न ७४ हजार रुपैयाँ लाग्छ। यो नियमित कार्यक्रमतिर हो। विशेष कार्यक्रमतर्फ विद्यार्थीबाटै शुल्क उठाएर अध्ययनअध्यापन गरिन्छ। त्यसमा चार वर्षको कुनै कार्यक्रमको चार लाख छ। कुनैको चार लाख २५ हजार छ। कुनै कार्यक्रमको तीन लाख ५० हजार रुपैयाँ पर्छ।

छात्रवृत्तिको सुविधा के कस्तो छ? छात्रवृत्तिमा  विद्यार्थी संगठनहरूको दबाब छ कि छैन?

छात्रवृत्ति नियमअनुसार प्रदान गर्दै आएका छौँ। विशेष कार्यक्रमतर्फ १० प्रतिशत हुन्छ। ३० जना भर्ना भएमा तीनजनालाई छात्रावृत्ति दिन्छौँ। स्नातकोत्तरमा १५ प्रतिशत छात्रवृत्ति हुन्छ। स्नातकमा २० प्रतिशत हुन्छ। जति विद्यार्थी भर्ना भए त्यसको २० प्रतिशतले छात्रवृत्ति पाउँछन्।

स्वतन्त्र विद्यार्थी युनियन आइसकेपछि हामीलाई काम गर्न सहज छ। विद्यार्थी संगठनले पनि छात्रावृत्तिलगायत सबैमा पारदर्शी गर्नुस् भन्छन्। त्यो राम्रो कुरा हो। विश्वविद्यालयले जे नियम बनाएर पठाएको छ, जस्तो कार्यविधि छ हामी त्यसरी नै चल्छौँ। यसमा सबैको साथ र सहयोग रहँदै आएको छ।

शंकरदेव क्याम्पसले व्यवस्थापन शिक्षामा अब्बल बन्न विश्वविद्यालय र सरकारबाट केकस्तो सहयोगको अपेक्षा गरेको छ?

शंकरदेव क्याम्पसले विश्वविद्यालयसँग पैसा माग्दैन। हामीले विश्वविद्यालयसँग व्यवधान हटाइदिन आग्रह गरेका छौँ। हामीकहाँ १० हजार बढी विद्यार्थी छन्। नियमित शिक्षकको संख्या जम्मा ३४ जना छ। २६ जना आन्तरिक करारमा कार्यरत। अन्यत्र २५ सय विद्यार्थी हुन्छन्। दुई सय शिक्षक हुन्छन्। त्यसकारण शिक्षक र विद्यार्थीको अनुपात मिलेको छैन। कर्मचारी र विद्यार्थीको अनुपात पनि मिलेको छैन। विश्वविद्यालय शिक्षक कर्मचारी दिँदैन। हामीलाई राख्न पनि दिँदैन।

विश्वविद्यालयले तपाईंहरूले सुविधा बढाइदिनुस्, तर विश्वविद्यालयलाई न्यूनतम यति पैसा दिनुपर्छ है भनेर भन्दियो भने चाहिँ शिक्षक, कर्मचारी सबैको मनोबल बढ्थ्यो। कर्मचारीको सेवासुविधा नबढाइदिने, नयाँ शिक्षक कर्मचारी नपठाइदिने र राख्न पनि नदिने प्रवृत्ति छ। जसले गर्दा हामीलाई काम गर्न हम्मेहम्मे परेको छ। त्यस्ता अवरोध हटाइदिएमा क्याम्पसहरू स्वतः राम्रा हुन्थे।

कतिपय मानिस त्रिविमा पढेर के काम भन्छन्। रोजगारी पाइँदैन, राजनीति धेरै हुन्छ, विश्वविद्यालय बेरोजगारी उत्पादन गर्ने कारखाना बन्यो भनेर आलोचना गर्छन्। यो भाष्यलाई कसरी चिर्ने?

यो भाष्यलाई चिर्न सबैभन्दा पहिला राजनीति शून्य हुनुपर्छ विश्वविद्यालयमा। आरक्षणको सुविधा बढी भएको छ। ५० प्रतिशत आरक्षणमै जान्छ। बाँकीका लागि गाह्रो छ। त्यसैले राम्रा विद्यार्थी बाहिरिएका छन्। सरकारले रोजगारीको उपाय खोजेन, युवालाई विदेश पठाउन मात्रै खोज्यो। युवा विदेश पठाउने र डलर सञ्चिती गरेर देश चलाउने नीति सरकारको छ।

सरकारले यति जना इजरायल पठाउने सम्झौता गरियो भन्छ। कोरियाका लागि यति सम्झौता गरियो भन्छ। त्यो त राम्रो होइन नि! यति जना युवालाई रोजगारी दिन हामीले यो कार्यक्रम ल्यायौँ, यो उद्योग खोल्यौँ पो भन्नुपर्ने हो त सरकारले। कोरियासँग हाम्रा यति युवालाई जागिर खाने खालको उद्योग खोलिदेऊ भन्ने हो। इजरायलसँग यस्तो कृषि फार्म बनाइदेऊ भन्ने हो। उनीहरूबाट हामीले सहयोग लिने हो। हाम्रा युवा सबै बाहिर देश गएर यहाँ जन्ती, मलामी पनि नहुने, बाआमा बिरामी हुँदा अस्पताल लैजाने मान्छे पनि नहुने अवस्था छ। खेतीयोग्य जमिन जंगल नै जंगल भएका छन्। यो सरकारको कमजोरी हो, विश्वविद्यालयको कमजोरी होइन।

समग्रमा नेपालको उच्च शिक्षाको अवस्था कस्तो छ? विद्यार्थी किन घट्दै गएका छन्?

सन् १९९५ देखि २००० को जुन सेन्सस पिरियड थियो त्यो सेन्सस पिरियडको वार्षिक जनसंख्या वृद्धिदर २.२५ थियो। एउटा परिवारका तीन वटा बच्चा हुँदा रहेछन्। २००१ देखि २०११ को सेन्सस पिरियडको वार्षिक जनसंख्या वृद्धिदर १.३५ थियो। एउटा परिवारको १.३५ बच्चा हुँदो रहेछ। २०११ देखि २०२१ को सेन्सस पिरियड जुन छ त्यसको वार्षिक औसत जनसंख्या वृद्धिदर ०.९२ छ। अहिले विद्यार्थी घटे भनेर हामीले भनेका छौँ त्यसको असर २०११ को सेन्सर पिरियडको असर हो। जसमा जनसंख्या वृद्धिदर १.३५ थियो। ०.९२ को असर अबको ७ वर्षपछि देखिन्छ।

त्रिभुवन विश्वविद्यालयमा ५०/६० हजारभन्दा बढी विद्यार्थी हुँदैनन्। शंकरदेव क्याम्पसमा अहिले १० हजार विद्यार्थी छन्। यस्तै अवस्था रहे अबको केही वर्षमा शंकरदेवमा पनि २५ सय ३ हजारभन्दा बढी विद्यार्थी हुँदैनन्। त्यो भनेको जनसंख्या वृद्धिदर घटेको हो। त्यसकारण पनि विद्यार्थी अभाव हुँदै गएको छ।

दोस्रो कुरा, परीक्षा प्रणाली। समयमा नतिजा प्रकाशन नहुने, समयमा परीक्षा नहुने, समयमा विद्यार्थीलाई दीक्षित नगरिदिने। मानौँ, मैले एउटा तह पार गरेँ, दीक्षित हुनका लागि डेढ वर्ष कुर्नुपर्छ। आरक्षण, देशको अस्थिर राजनीतिले गर्दा विद्यार्थीले आफ्नो भविष्य सुरक्षित देखेको छैन। विश्वविद्यालयामा विद्यार्थी घट्नुका कारण यिनै हुन्।

भिडियाे 

प्रकाशित: २९ साउन २०८१ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast