मेरी आमा अझै गाउँमा बस्छिन्!

सागर रावल २६ साउन २०८१ १२:३३ | Saturday, August 10, 2024
मेरी आमा अझै गाउँमा बस्छिन्!

मेरी आमा अझै गाउँमा बस्छिन्
गाउँको खेतबारीलाई सपना ठान्छिन्
पसिना बगाउँछिन् खाई नखाई दिनभर
सन्तानको सपनाको लागि पोल्टोमा बाध्छिन्।

मेरी आमा अनपढ भएर पनि व्यस्त छिन्
सधैँ ज्ञान र संस्कारमा उनी अभ्यस्त छिन्
के छैन उनीसँग जीवन छ दर्शन छ
अझ टाढासम्म देख्ने आमासँग दूरदर्शन छ।

सहर आमाको उद्देश्य होइन
गाउँभन्दा टाढा मेरी आमाले देखेकी छैनन्

न स्कुल देखिन्
न क्याम्पस टेकिन्
न कलम समाइन्
तर पनि आमाले
आफूलाई पुग्दो ज्ञान कमाइन्

जीवन बुझेर, दुःख गरेर
कति ज्ञान कमाइन् भोगेर
कति जिज्ञासा मेटाइन्
आफैँ प्रश्न गरेर
आफैँ उत्तर सोचेर।

सपना उही छ आमा बारी बगाएको वर्षाको भेल आएर
जीवन उस्तै छ फेरि सपना टुक्राएर परिवारका लागि एक छाक नखाएर
अझै पनि औँसी, पुर्ने पलपल आउँछन् उस्तै गरी
छोराको झोला फेर्न पाएको छैन मनले चाहेर।

जनगणनाले अशिक्षित देखाएकी मेरी आमा
दिनरात मेहेनत गरेर परिवारलाई उज्यालोतिर तान्छिन्
मेरी आमाको मन अक्षय ज्ञानले भरिएको छ
उनी ज्ञानको सागर हुन्,
विश्वविद्यालय हुन् त्यसैले त उनी मेरो आमा हुन्।

प्रकाशित: २६ साउन २०८१ १२:३३ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast