पोखरा- अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङको बडिगाड गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ। घटनामा ४ जना बेपत्ता छन् भने १० घाइते भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
बडिगाड गाउँपालिका-१०, आरुपाटमा जोगबहादुर बुढाको घर र गोठ मंगलबार बिहान ११ः२० बजे पहिरोले पुरिँदा ठूलो मानवीय क्षति भएको छ। पहिरोमा जोगबहादुर र उनका परिवारका सदस्यसहित छिमेकी गरी ६ जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका हुन्। १० जना घाइते छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार पहिरोमा ७८ वर्षीय जोगबहादुरसहित ७ वर्षीया जुम्लाहा मालती बुढाको मृत्यु भएको छ। अर्की जुम्ल्याहा छोरी मधु बेपत्ता छिन्। यस्तै, ७० वर्षीया मोतीदेवी कामी, सोही घरमा आएकी छिमेकी सिर्जना बिककी ६ महिनाकी छोरीको सीता बिकको मृत्यु भएको छ। ८ वर्षीय अमल बुढा र ११ वर्षीया सीता पुनको मृत्यु भएको छ। टाउकोमा चोट लागेका जोगबहादुरको मंगलबार साँझ करिब ७ बजे मृत्यु भएको हो।
बेपत्ता हुनेमा मधु बुढासहित वर्ष १० का मनोज बुढा, वर्ष ३ का आरुष थापा र वर्ष ११ को यमलाल बिक हुन्। पहिरोमा १० जना घाइतेमध्ये ६० वर्षीया सुमित्रा बिकको अवस्था गम्भीर छ।
पहिरोमा परी वर्ष २६ को ओमप्रकाश पुन, ४६ वर्षीया संगीता बुढा, वर्ष २३ की सिर्जना विक, वर्ष ४३ को मंगलसेन बुढा, वर्ष ५१ का शशिराम बिक, वर्ष १९ की रीमा पुन, वर्ष ९ का ज्ञाने बुढा, वर्ष ३१ की सीता थापा र वर्ष ५० की जैमनी बुढा घाइते भएका हुन्।
घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरुलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर आए पनि मौषम खराबीले फर्किएर बागलुङमै ल्याण्ड गरिएको छ। श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शीतल बानियाँले कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नुपरेको बताए। पहिरोले सडक अबरुद्ध र मौषम प्रतिकूलताका कारण उद्धारमा कठिनाइ भएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ।
वडा १० का अध्यक्ष वीरेन्द्रकुमार बुढा मगरका अनुसार हेलीबाट थप उपचारका लागि लैजान नसकेपछि तल सदरमुकाम झार्ने तयारी भइरहेको छ। घटनास्थल पुग्न बागलुङ सदरमुकामबाट ५ घण्टा मोटरबाटो तथा ५/६ घण्टा पैदलयात्रा गर्नुपर्छ।
उता, बडिगाड गाउँपालिका वडा ९, बलघाँसमा खसेको पहिरोमा १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। मंगलबार बिहान १० बजे नयाँ वस्तीका श्यामलाल परियारका छोरा विधान घरपछाडि करेसामा पानीको भल पन्छाउने क्रममा पहिरोमा पुरिएका हुन्। उनकी आमा भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।
यस्तै बडिगाड-९, दर्लिङ काभ्राखर्कमा २४ वर्षीय गंगा बस्नेतलाई घर नजिकै गोरेटो बाटोमा हिँड्ने क्रममा पहिरोले पुरेको हो। उनको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय भिमगिठेबाट खटिएको प्रहरी टोली बाहिर निकालेको प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले बताए।