स्कुल बस दुर्घटना अपडेट : कार्यालय सहयोगी महिलाको मृत्यु

हिमाल प्रेस १४ साउन २०८१ १०:५३ | Monday, July 29, 2024
स्कुल बस दुर्घटना अपडेट : कार्यालय सहयोगी महिलाको मृत्यु पोखरामा दुर्घटनामा परेको स्कुल बस।

पोखरा- पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा घाइतेमध्ये कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २१ बस्ने ३३ वर्षीय आरती बिक हुन्।

सोमबार बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार रहेको खुलेको छ। दुर्घटनामा घाइतेको उद्धार गरी अस्पताल पठाइएको थियो । तीमध्ये गण्डकी मेडिकल अस्पतालमा पुर्‍याइएकी आरतीलाई चिकित्सकले मृत घोषित गरेका हुन्।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्यको अवस्था सामान्य छ।

उनीहरूमध्ये अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ। बस चालक पोखरा १७ बिरौटा निवासी ५५ वर्षीय टेकबहादुर भुजेलको मणिपालमा उपचार भइरहेको छ। उनको ढाडमा चोट छ। बस ब्रेक फेल भएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ।

विद्यालयका लेखापाल बिन्दु तिमिल्सिनाका अनुसार विद्यार्थी बोक्नका लागि विद्यालयका ३ बस र १ भ्यान छन्। दुर्घटनामा परेको बसले पोखरा २१ को रामदी र एकहातेका ठाउँबाट विद्यार्थी उठाएको थियो। विद्यालयमा हाल ४ सय ६० जना विद्यार्थी पढ्छन्।

प्रकाशित: १४ साउन २०८१ १०:५३ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast