तीन दशकदेखि नर्सरी व्यवसायमा धामी परिवार

हिमाल प्रेस १० साउन २०८१ ११:०२ | Thursday, July 25, 2024
तीन दशकदेखि नर्सरी व्यवसायमा धामी परिवार

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न छन्। उनका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ। उनीहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन्।

तीन जनाले वर्षमा नर्सरी व्यसायबाट एक करोडका बोटबिरुवा बिक्री गर्दै आएका छन्। एक जनाले ३० लाख देखि ५० लाखसम्मका बिरुवा बिक्री गर्छन्। उत्पादित बिरुवा बिक्रीबाट एक जनाले १० देखि १५ लाखसम्मको आम्दानी गर्दै आएको प्रताप धामी बताउँछन्। एकजना कृषि अधिकृतको सहयोगमा तत्कालीन सुन्दरपुर कृषि तालिम केन्द्रमा तरकारी खेती, बीउबिजन उत्पादन, फलफूलसम्बन्धी एकीकृत १५ दिने तालिम लिएपछि कागतीका बिरुवाको कलमी गरी बिरुवा उत्पादन थालेका उनीहरूले २०४८ मा नर्सरी व्यवसाय दर्ता गरी व्यावसायिक रूपमा कारोबार प्रारम्भ गरेका हुन्।

कोरोना महामारीअघि नर्सरीबाट उत्पादित बिरुवा वार्षिक रूपमा एक करोडका बिक्री हुने गरेका थिए। ‘दुई वर्ष कोरोना महामारीका कारण व्यवसाय नै चौपट भयो’, प्रतापले भने, ‘हाल व्यवसायमा गति आएको छ, गत वर्ष ५० लाखका बिरुवा बिक्री भए, यस वर्ष ५५ लाखका बिरुवा बिक्री भए।’

तीनै जनाको नर्सरीमा दैनिक ज्यालादारीमा चारजनाले रोजगारी पाएका छन्। बिरुवा उत्पादनका २५ जनालाई रोजगारी प्राप्त हुन्छ। प्रताप सिंहको डेढ बिघा जग्गामा नर्सरी छ। उनी वडाध्यक्षको जिम्मेवारीमा पनि छन्। साँझ र बिहान कामदारसँगै नर्सरीमा काम गर्छन्। यहाँ उत्पादन हुने बिरुवा सुदूरपश्चिमका नौवटै जिल्ला, कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न जिल्लासँगै निकटवर्ती भारतीय बजारमा बिक्री हुने गरेका छन्।

नर्सरीमा आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूलका बिरुवा उत्पादन हुने गरेका छन्। नर्सरीमा पाँच प्रजातिका लिच्ची र १४ किसिमका आँपका बिरुवा पाइन्छन् । सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु घाँसका साथै बाँस, सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेसियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनका बिरुवा पाइन्छन्।

नर्सरीमा घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाब किन्न गृहिणी आउने गरेका छन्।

प्रकाशित: १० साउन २०८१ ११:०२ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast