खेती किसानी

लोकसेवा पढ्ने पैसाले कृषिमा लगानी गरेकी धनु

रमेश भारती ९ साउन २०८१ ७:५७
82
SHARES
लोकसेवा पढ्ने पैसाले कृषिमा लगानी गरेकी धनु

काठमाडौँ– पछिल्लो समय विद्यालय शिक्षा पूरा गरेपछि धेरै युवाको रोजाइमा वैदेशिक रोजगारी पर्छ। स्वदेशमा रोजगारीको अवसर नभएको र थप अध्ययन गर्दा पनि जागिर सुनिश्चित नभएपछि युवा पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुँदै आएका छन्।

स्वदेशमै जागिर खाऊँ या केही काम गरौँ भन्ने चाहना भएका युवा भने कमै छन्। यस्तैमध्येकी एक हुन् गुल्मी मालिका गाउँपालिका–६ की धनु अधिकारी। काठमाडौँमा स्नातक अध्ययन सेकपछि उनका धेरै साथी विदेश गए। कोही लोकसेवा आयोगको परीक्षा दिन थाले। धनुलाई भने बाहिर जान मन लागेन। न त उनी सरकारी जागिर खान लोकसेवाको तयारीमा लागिन्। उनको सोच थियो, स्नातक उत्तीर्ण गरेपछि स्वदेशमै केही गर्नुपर्छ।

के गर्ने भन्ने दुविधामा अल्झिएकी अधिकारीको आँखामा एक दिन काठमाडौँस्थित बल्खुमा डोकोमा तरकारी बेच्दै गरेकी एक महिला परिन्। ती महिलाले गरेको परिश्रम देखेर कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच पलाएको धनुले बताइन्। उनले भनिन्, ‘डोकोमा तरकारी बोकेर चोकचोकमा बेच्दै हिँड्ने महिला दिदीबहिनीको दुुख देखेपछि पढ्न बाहिर जाने मनबाट हट्यो।’

ती महिलालाई देखेर स्वदेशमा तरकारीखेती गर्न प्रेरणा जागेको धनुले बताइन्। दुईचार वर्ष नेपालमै कृषि पेसा गुर्छ र सफल भएमा वैदेशिक रोजगारीमा जान्छु भन्ने सोच बनाएर यस क्षेत्रमा आएको उनले बताइन्।

उत्पादनशील क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बन्ने हुटहुटीले काठमाडौँबाट झोला बोकेर चितवन पुगेको उनी बताउँछिन्। ‘परिवारको इच्छा मलाई निजामती कर्मचारी बनाउने थियो तर बुबासँग लोकसेवा पढ्दा लाग्ने खर्च मागेर कृषि उद्यमी सुरु गरेँ। अहिले म र परिवार खुसी छौँ’, उनले भनिन्।

बाबुले दिएको दुई लाख पैसाले सुरुमा दुई बिघा भाडामा लिएर चितवनको शशिनगरमा तरकारीखेती सुरु गरेकी अधिकारीले अहिले पाँच बिघामा मौसमी तरकारी उत्पादन गर्दै आएकी छन्। उनको बारीमा बोडी, चिचिन्डो, रायोको साग, भेन्टा, गोलभेडा, सिमी, भेडेखुर्सानी, काँक्रो र अन्य मौसमी तरकारी उत्पादन हुन्छ।

अधिकारीको फार्ममा उत्पाति तरकारी चितवनकै स्थानीय बजारमा बढी बिक्री हुन्छ। बाँकी तरकारी पोखरा, काठमाडौँ र बुटवलमा लगिन्छ। अधिकारीले सबै खर्च कटाएर मासिक ९० हजारदेखि एक लाख २० हजारसम्म बचत गर्दै आएकी छिन्। वार्षिक सबै खर्च कटाएर ९–११ लाख बचत हुन्छ। यसरी बचत भएको पैसा कृषिमै लगानी गरिरहेको उनी बताउँछिन्।

कृषिमा धेरै किसिमका समस्या छ्न् तर ती समस्या पछ्याउँदै अगाडि बढ्नुपर्छ। अनि मात्र यस क्षेत्रमा सफलता हासिल गर्न सकिने उनको बुझाइ छ। नेपालमा पाइने सबै मौसमी तरकारी उनको फार्ममा पाइन्छ। अधिकारीले फार्ममा पाँच जनालाई रोजगारीसमेत पाएका छन्। बजारको समस्या छैन। आगामी दिनमा आधुनिक प्रविधि अपनाएर तरकारीखेती गर्न अधिकारीको योजना छ। उनले आफू मात्र होइन आफ्नो फार्ममा काम गर्न पाँचजना महिलालाई कृषिसम्बन्धी प्रविधिक तालिम दिने योजनामा छन्। ‘आफुमा विश्वास भएका कारण विभिन्न समस्याको बीच ठूलो अवसर कृषिमा देखेँ। त्यही भएर यस क्षेत्रमा भविष्य खोज्दैछु। हेर्दै जाऊँ राम्रै हुने आशा छ’, उनले भनिन्।

सरकारले हामीजस्तो कृषिमा सलंग्न युवालाई प्रविधिसँग जोड्न सके कृषिमा नेपालमा छिट्टै अत्मानिर्भर हुने उनको भनाइ छ। उनी भन्छिन्, ‘कृषिका लागि सम्भावना देखेर चितवन रोजेको हुँ। चितवनमा तरकारी खेती गर्न योग्य जमिन छ। तरकारीसँगै आगामी दिनमा पशुपालन सुरु गर्दैछु।’

यसका लागि लगानी जुटाइरहेको उनले जानकारी दिइन्। ‘घामपानी, असिना भन्न मिल्दैन। चिटिक्क परेर हिँड्ने समय पनि हुँदैन। कृषि पेसामा सबैभन्दा धेरै श्रम गर्नुपर्छ। यस पेसामा परिश्रम गरेअनुसारको फल पाइन्छ’, उनले भनिन्। कृषि उद्यमीले आफ्नो उत्पादन सीधै बजारमा पुर्‍याउन समस्या छ। कृषि क्षेत्रमा बिचौलियाको बर्चस्व छ। बिचौलियाले ग्राहक र कृषक दुवैलाई लुटिरहेको अधिकारी बताउँछिन्।

‘कृषिका वस्तु उत्पादकले बजारमा लगेपछि मूल्य नपाउने समस्या त छ नै, बिचौलियाको पनि वर्चस्व छ। यस्ता समस्या निराकरण गर्ने हो भने सरकारी अनुदान किसानले कुर्नु पर्दैन’, उनी भन्छिन्। तरकारी खेतीबाट तत्कालै धेरै कमाइ नहोला तर यसबाट आर्थिक अवस्था सुधार्न सकिन्छ। यसका लागि सरकारले विषेश योजना किसानलाई दिनुपर्ने उनको माग छ।

पर्याप्त अवसर हुँदाहुँदै पनि विभिन्न कारणले व्यापार व्यवसाय गर्न महिला डराउँछन्। उनले भनिन्, ‘म आफैँले अवसर खाजेर कृषिमा आएँ। विभिन्न समस्या र अप्ठ्यारोका बीच एकल निर्णयमा कृषि पेसालाई व्यावसायिक बनाएकी हुँ।’

अधिकारीले कोरोना महामारीका समयमा तरकारी कुहिएर फ्याँक्नुपरेको थियो। बेला–बेला मौसमी तरकारी बिक्री नहुँदा किसानले समस्या भाग्दै आएका छन्। उनले पनि गत वर्ष गोलभेंडा बिक्री नभएपछि फ्याल्नुभन्दा सित्तैँमा किसानलाई बाँडेको सुनाइन्। अधिकारीको फार्ममा पश्चिम चितवनको शशिनगरमा महिलाद्वारा सञ्चालित भनेर परिचित छ। उनले चितवनमा महिला कृषि उद्यमीका रूपमा पहिचान बनाइसकेका छन्।

प्रकाशित: ९ साउन २०८१ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =