जसपा : सबै अधिकार उपेन्द्रसँग, पार्टी गतिविधि ठप्प

किरण पौडेल ११ असार २०८१ १०:१५
52
SHARES
जसपा : सबै अधिकार उपेन्द्रसँग, पार्टी गतिविधि ठप्प जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठनात्मक गतिविधि ठप्प छ। जेठ अन्तिम साता सम्पन्न महाधिवेशनले अध्यक्षबाहेक अन्य पदाधिकारी चुन्न नसक्दा पार्टी ठप्प बनेको हो। पार्टीमा पदाधिकारी र केन्द्रीय कमिटी निर्माण हुन सकेको छैन।

अध्यक्षमा सर्वसम्मत चयन भएका उपेन्द्र यादवले दोस्रो स्तरका पदमा तीव्र प्रतिस्पर्धा हुने भयले महाधिवेशनमा चुनाव हुन दिएका थिएनन्। दोस्रो स्तरका नेताहरू चुनावमै जान तयार थिए। यादवले रोके र सर्वसम्मतिको बाटो अँगाले।

महाधिवेशनले पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष यादवलाई दिएको थियो। यादवले कहिले पदाधिकारी र केन्द्रीय समिति गठन गर्छन् टुंगो छैन। ‘अहिले अध्यक्षबाहेक हाम्रो पार्टीमा अरू कोही छैन,’ जसपा नेता मनीष सुमन भन्छन्, ‘तत्काल अन्य पदले पूर्णता पाउँछ।’

जसपाको विधानअनुसार महाधिवेशनले २० पदाधिकारी चुन्नुपर्छ। जसमध्ये एकजना (अध्यक्ष) बाहेक अन्य पदाधिकारी हुन्छन्। अब यो अधिकार यादवले पाएका छन्। २०१ सदस्यीय केन्द्रीय समिति चुन्ने अधिकार पनि अध्यक्ष यादवलाई नै छ।

संगठनात्मक संरचनामा पदाधिकारी नचुनिँदा कमिटीको बैठक बोलाउने अवस्था पनि छैन। ‘अध्यक्षज्यूले कुन कमिटीको बैठक बोलाउने हो थाहै छैन,’ एक नेताले भने, ‘उहाँले कुन कमिटीमा परामर्श गर्ने त्यो पनि अन्योल छ।’

जसपा नेता पूर्ण बस्नेत आउँदो साता पदाधिकारी चुनिने दाबी गर्छन्। उनी अध्यक्षले केही ‘सिनियर’ नेतालाई राखेर परामर्श गरिरहेको समेत सुनाउँछन्। उनले यस्तो दाबी गरे पनि पार्टीभित्र तीव्र प्रतिस्पर्धा रहेकाले तत्काल पदाधिकारी चुनिने सम्भावना नरहेको नेताहरू बताउँछन्। किनभने २० जनाको पदाधिकारीमा झन्डै सयको उम्मेदवारी परेको थियो।

अध्यक्षपछिको एक सहअध्यक्षमा तीनजनाले उम्मेदवारी दिएका थिए। पाँच उपाध्यक्षमा २३ जना र दुई महासचिवमा ६ जना आकांक्षी थिए। तीन उपमहासचिवमा १२ जना दाबेदार देखिएका थिए। ‘हाम्रा यी सबै आकांक्षीलाई छाँट्ने हो भने केन्द्रीय समिति यहीँबाट बन्छ,’ जसपाका नेता बस्नेत भन्छन्। यी सबै नेताको व्यवस्थापन गर्न यादवलाई सहज छैन। यसैले आकांक्षीले तत्काल पदाधिकारी चुनिने सम्भावना देखेका छैनन्।

महाधिवेशबाट नचुनिएका नेताहरू पदाधिकारी पाउनुपर्ने पक्षमा छन्। पार्टी स्रोतका अनुसार अहिले नेताहरू यादवसमक्ष लबिइङमा छन्। उनीहरूले यादवका नजिकका मान्छे वा यादवसमक्ष आफ्नो आकांक्षा भन्ने गरेको जसपाका एक नेताले बताए।

‘पार्टी सुस्त छ। तर नेताहरू पदका लागि सक्रिय बनेका छन्,’ जसपाका एक नेताले भने, ‘पहुँच हुनेहरू दबाब बढाइरहेका छन्।’ जसपाका ती नेताका अनुसार अबको पदाधिकारी कस्तो बन्छ भन्ने यादवबाहेकलाई थाहा छैन।

यादवले खुलेर यसबारे परामर्शसमेत गरेका छैनन्। कतिपय नेताहरू आकांक्षीमध्येबाट एक तह घटेर भए पनि पद लिन तयार भएका छन्। यादवले महाधिवेशनकै बेला सर्वसम्मत प्रयास गरेका थिए। दोस्रो स्तरका नेता मानेनन्। सहअध्यक्ष पदमा यादवले रकम चेम्जोङलाई ल्याउन चाहेको जसपाका नेताहरू चाहन्छन्। रकम चेम्जोङ, राजकिशोर यादव र लालबाबु राउत आकांक्षी थिए।

चेम्जोङलाई ल्याउँदा समावेशी हुने यादवको बुझाइ थियो। उपाध्यक्षमा झनै किचलो थियो। एक महिलासहित पाँच उपाध्यक्ष चुनिनुपर्नेमा २३ जना आकांक्षी थिए। महासचिवमा पनि धेरैको आकांक्षा थियो। ‘अहिले पनि महासचिव को हुन्छ भन्न सक्ने स्थिति छैन,’ एक नेताले भने, ‘महासचिवका आकांक्षीमध्येबाटै महासचिव बन्ने सम्भावना पनि नहुन सक्छ।’ महासचिवमा बोमबहादुर दर्लामी, रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनीष सुमन र अशोक यादव आकांक्षी थिए।

खुला उपमहासचिवमा सुरेन्द्र यादव, रामबाबु यादव, रामकिशोर यादव, राजकुमार राईलगायतका नेताहरू आकांक्षी थिए। महिला उपमहासचिवमा सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवले आकांक्षा देखाएका थिए।

महाधिवेशनअघिभन्दा अहिले पार्टी सुस्ताएको जसपाका एक नेताले बताए। ‘महाधिवेशनपछि पार्टी सक्रिय हुनुपर्थ्यो। हाम्रो पार्टी त ठीक उल्टो भयो’, ती नेताले भने।

पार्टी गतिविधि चलायमान हुन नसकेकोमा पूर्वपदाधिकारीहरू असन्तुष्ट छन्। महाधिवेशनका बेला आकांक्षीहरूलाई राखेर यादवले तत्कालै नियुक्ति गर्ने आश्वासन दिएका थिए।

‘हामी पदाधिकारीमा धेरै आकांक्षी थियौँ। यदि प्रतिस्पर्धा हुन्थ्यो भने दुई तिहाइले हारिन्थ्यो,’ जसपा नेता पूर्ण बस्नेत भन्छन्, ‘अब त्यो संख्यालाई केमा लैजाने? यही कारण सर्वसम्मतिको बाटो रोजिएको थियो।’

यादवले पार्टी विभाजनको भयका कारण पनि महाधिवेशन रोकेका एक नेताले बताए। यसअघि पनि यादवबाट अशोक राईलगायतका नेताहरू बाहिरिएका थिए। ती नेताहरू पनि महाधिवेशनमा नेतृत्व नपाइने बुझेरै पार्टी विभाजनमा लागेका हुन्।

‘हाम्रो पार्टीमा सबैभन्दा बढी प्रतिनिधि मधेशबाट आएका थिए। चुनाव भएको भए जनजाति–खास आर्यले चुनाव हार्थे’, जसपाका एक नेताले भने।

प्रकाशित: ११ असार २०८१ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =