खण्डहर बन्दैछन् पुराना घर

हिमाल प्रेस २४ जेठ २०८१ २०:४२
20
SHARES
खण्डहर बन्दैछन् पुराना घर

बागलुङ- ‘गाउँमा हुर्के बढेका नानीबाबुहरू देशविदेश गए, यहीँ स्कुल पढेका केही  डाक्टर पनि भए। अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ,’ जैमिनी नगरपालिका–४ सर्कुवाकाका सुशीलाकुमारी शर्माले दुखेसो पोखिन्।

उनका अनुसार जैमिनीको केन्द्र कुश्मिसेरा नजिकैको मौलाछ गाउँ बसाइँसराइका कारण रित्तिँदै गएको बताइन्। सिंगो गाउँका केही घरमा मात्रै युवा भेटिन्छन्। बालबालिका त छैनन् भन्दा पनि हुने अवस्था छ। बसाइँसराइ बढ्दै जाँदा पुराना घर खण्डहर बन्दै छन् भने खेती हुने जमिन बाँझिने क्रम बढेको छ।

जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछ गाउँमा ८८ घरमध्ये अधिकांश खाली रहेको उनको भनाइ छ। ‘मौलाछमा अहिले बुढापाका मात्रै छन्, ८८ घरमा जम्मा ३३ घर मा मात्रै मानिस बस्छन् भने अन्य घर खाली छन्,’ शर्माले भने, ‘यहाँका मानिसहरु चितवन, पोखरा, काठमाडौँ र बुटवलमा बसाइँ सर्ने गरेका छन्।’ बसाइँसराइ बढ्दै जाँदा गाउँमा भएको एक मात्र प्राथमिक विद्यालय विद्यार्थीविहीनको अवस्थामा पुगेको छ।

बसाइँसराइ रोक्न जैमिनी नगरपालिकाले विद्यालयसँग अभिभावकलाई जोडेर पढ्दै कमाउँदै कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ।

मौलाछमा पहिलेदेखि नै बसाइँसराइ हुँदै आएको हो। अहिले अन्यत्रका गाउँमा बसाइँसराइ बढेपछि नगरपालिकाले एकीकृत कृषि र बाँझो जग्गा सदुपयोगका लागि ओखर  र कागतीखेती कार्यक्रम सुरु गरेको उनको भनाइ छ।

‘बसाइँसराइ र बाँदरको समस्या हाम्रो पालिकामा मात्रै हैन तर जैमिनीको समस्या  हो, बसाइँसराइ रोक्नका लागि प्रयास गरिरहेका छौँ,’ शर्माले भने। गाउँमा विद्यार्थीको घट्दो अवस्था हेरेर लिड विद्यालय र पढ्दै कमाउँदैको अवधारणा ल्याएको छ। नगरपालिकाले जैमिनीको सर्वोदयजनक माध्यमिक विद्यालयमा लागू गरिएको पढ्दै कमाउँदै कार्यक्रममा अभिभावकलाई पनि सहभागी गराउन थालिएको छ। रासस

प्रकाशित: २४ जेठ २०८१ २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast