पहिरो खसेपछि बागलुङकाे वडारगाउँ तितरबितर

हिमाल प्रेस १५ जेठ २०८१ १४:३५
24
SHARES
पहिरो खसेपछि बागलुङकाे वडारगाउँ तितरबितर फाइल तस्बिर

बागलुङ- केही वर्षअघि बागलुङकाे जैमिनी नगरपालिकाको वडारगाउँ भरिभराउ थियो। कृषि कर्मबाट गुजारा चलाउनेहरू खुसी देखिन्थे। वडार गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो। गाउँलाई फेरो हालेर जैमिनी–१ कुश्मिशेरा र बागलुङ नगरपालिका–११ रायडाँडा जोड्ने सडकले गाउँ नै पहिरोको जोखिममा पार्‍यो। सुविधाका लागि बनाइएको सडकले वडार वासीको उठिबास लगायो। तीस परिवार रहेको गाउँ अहिले पाँच परिवारमा खुम्चिएको छ।

पहिले पहिरो आउलाकी भनेर गाउँले बसाइँ सरे र अहिले घरछेउमै पहिरो खसेपछि गाउँलाई तितरबितर बनाएको छ। दुई वर्षअघि भदौ २१ गते बागलुङ–११ को तल्लो रामतोलामा ठूलो पहिरो खस्यो। पहिरोले वडार र रामतोलाका दर्जनौँ घरपरिवार विस्थापित भए। जमिन बग्दा सडक, जङ्गल र पीपलका रूख बगेसँगै पहिरो भने रोकिएको छैन।

‘हिउँदमा ढुक्कले घरमै बसियो, बर्खा लागेसँगै पहिरोले सताउँछ, पहिरो छेवैमा घर भएका वडारका खेम पौडेलले भने, ‘भीमकाय पहिरोले बेचैन बनाएको छ।’ पहिरोले रामतोलाका सात र वडारका १५ परिवार विस्थापित भएका छन्। बागलुङ र जैमिनी नगरपालिकाका दुवै गाउँमा बाँकी रहेका घरपरिवारमा समेत बर्खा लागेसँगै पहिरोको चिन्ता छ।

जमिन चिरा परेको स्थान हेर्दा सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको पौडेलले बताए। पहिरो नियन्त्रणका लागि स्थानीय र प्रदेश तहबाट कठिन हुने भएपछि नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, जोखिमयुक्त पहिरो व्यवस्थान आयोजनाले अध्ययन गरेको थियो। पहिराको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम भए पनि स्रोत अभावमा वर्षौं लाग्ने रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए।

तीन तहका सरकार मिलेर पहिरो नियन्त्रणको प्रयास भइरहेको गौतम बताउँछन्। ‘घरवासविहीनलाई तत्काल राहत उपलब्ध गराइयो, बस्ने बन्दोबस्ती मिलाइयो, बाँकी नियन्त्रणको काम चलिरहेको छ’, गौतमले भने, ‘पहिरो सानोतिनो बजेट र कामले रोकिने अवस्थामा छैन्।’

उनका अनुसार पहिरोले बगेका सडक पुनर्निर्माण गर्ने, भलबाढी तर्काउने र पहिरो थप गहिरो हुन नदिन तारजाली लगाउने काम चलिरहेको छ। पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले जलाधार संरक्षण कार्यक्रमबाट २५ लाख र गण्डकी प्रदेश सरकारले विपत् व्यवस्थापनबाट ३० लाख बजेट विनियोजन गरेको छ।

उक्त बजेट चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेकाले थप क्षति हुनबाट बचाउन सहयोग पुग्ने जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताए। पहिरोको त्रासले गाउँ छाडेकाहरू चितवन, नवलपरासी र देशका ठूला सहरमा बसाइँ सरेका छन्। गाउँमा बाँकी रहेका पनि हिउँदे वर्षामा समेत सुरक्षित घर खोजेर बास बस्ने अवस्था रहेको आचार्य सुनाउँछन्। रासस

प्रकाशित: १५ जेठ २०८१ १४:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast