च्यासल मैदान बनाउँदा अनियमितता भएको ठहर, ५४ लाख असुल गर्न निर्देशन

हिमाल प्रेस १४ जेठ २०८१ १६:३६
36
SHARES
च्यासल मैदान बनाउँदा अनियमितता भएको ठहर, ५४ लाख असुल गर्न निर्देशन च्यासल खेल मैदान

काठमाडौँ- महालेखा परीक्षकको प्रतिवेदनले ललितपुरको च्यासलमा बनेको फुटबल मैदानमा ठूलो अनियमितता भएको ठहर गर्दै ५४ लाख ७७ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ।

महालेखा परीक्षकको ६१औं वार्षिकको अवसरमा आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदन बुझाउँदै च्यासल मैदान तीन वर्षमा निर्माण गर्न सम्झौता भएको र पाँचौं पटक म्याद थप गरिएको ठहर गरेको छ।

‘ललितपुर महानगरपालिकाको च्यासलस्थित एन्फा फुटबल मैदानमा भवन तथा प्यारापिट निर्माण कार्य गर्न २०७७-०२-२१ भित्र सम्पन्न गर्ने गरी २०७४-०३-२२ मा एक संयुक्त उपक्रमसँग ३३ करोड ५० लाख ९४ हजार रुपैयाँको सम्झौता भएकोमा पाँचौं पटक म्याद थप गरी २०७९-०५-०५ मा कार्य सम्पन्न भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

‘उक्त निर्माण कार्यको पाँचौं पटकसम्म भेरिएसन गरी ३१ करोड १० लाख ५५ हजारमा सम्पन्न गरेकोमा ३१ करोड ६५ लाख ३२ हजार भुक्तानी दिएकाले बढी भुक्तानी भएको ५४ लाख ७७ हजार असुल हुनुपर्दछ।’

च्यासल मैदानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्माण गरेको हो। पुननिर्माणपछि मैदानमा हालसम्म अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुन सकेको छैन। ०८० जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका केही खेल भने यहि मैदानमा भएका थिए।

तर, पश्चिमतर्फको प्यारापिट गतिलो नभएको, उत्तरतर्फबाट आएको बाढी मैदानमा प्रवेश गर्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्यासल मैदानमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सकेको छैन।

पछिल्लो पटक यु-१६ महिला च्याम्पियनसीप हुने घोषणा भए पनि मैदान सुरक्षित नभएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै प्रतियोगिता भएको थियो।

प्रकाशित: १४ जेठ २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast