लुम्बिनी- पछिल्लो समय निजी बोर्डिङ स्कुलले विद्यार्थी अभावको समस्या भोग्न थालेका छन्। विद्यार्थी क्रमशः पातलिँदै जान थालेपछि बोर्डिङ स्कुललाई या त बन्द गर्नुपर्ने अन्यथा गाभिएर सञ्चालन हुनुपर्ने बाध्यता आइलागेको हो। विद्यार्थी नपाएपछि शिक्षामा अब्बल मानिएका बुटवलका निजी बोर्डिङ स्कुल धमाधम गाभिन थालेका हुन्।
विद्यार्थी अभाव भएपछि बुटवल उपमहानगरपालिकाका निजी स्कुल एकापसमा गाभिन थालेका छन्। कुनै बोर्डिङ अर्कै बोर्डिङले खरिद गरेर सञ्चालन भइरहेका छन्। विद्यार्थी अभावकै कारण रूपन्देहीमा सञ्चालन भएका एक दर्जनभन्दा धेरै निजी बोर्डिङ स्कुल एकआपसमा गाभिएका छन्।
योगीकुटीस्थित मणिमुकुन्द कलेजले २०६७ सालमा लुम्बिनी बोर्डिङ स्कुल किनेर लुम्बिनी बोर्डिङ स्कुलकै नामबाट सञ्चालन गरिरहेको छ। त्यसको केही समयपछि मणिमुकुन्द कलेजले कान्तिपुञ्ज बोर्डिङ स्कुललाई आफ्नो स्वामित्वमा लिएर सञ्चालन गरिरहेको छ।
बुटवलमा मणिमुकुन्दले मात्रै होइन निजी क्षेत्रद्वारा सञ्चालित नेपालमै धेरै विद्यार्थी पढाउनेमध्येको एक अक्सफोड बोर्डिङ स्कुलले पनि आइडियल बोर्डिङ स्कुल खरिद गरेर अक्सफोर्डका नामबाट सञ्चालन गरिरहेको छ।
बुटवल मिलनचोकस्थित स्कलर्स होम बोर्डिङ स्कुल र कालिकानगरको एम्स स्कुल पनि एकआपसमा गाभिएर स्कलर्स होम बोर्डिङ स्कुलका नामबाट सञ्चालनमा आएको छ।
एम्स स्कुल मन्टेसरीदेखि कक्षा १२ सम्म स्कलर्सहोम बोर्डिङ स्कुलका नामबाट सञ्चालन भएको छ भने कलेज एम्सकै नामबाट सञ्चालन भइरहेको छ।
आदर्शनगरमा रहेको एचिभर्स कलेज र बुटवल चाँदबारीस्थित मुनाल इङ्लिस बोर्डिङ हाइस्कुल गाभिएका छन्। कालिकानगरमा रहेको लुम्बिनी शिक्षालय र अल्फा एकेडेमी पनि एकआपसमा गाभिएर सञ्चालन भएका छन्।
बुटवल गोलपार्कमा रहेको समिट बोर्डिङ हाइस्कुल र न्यु पाइन उड बोर्डिङ स्कुल पनि आपसी सहमति गरेर सञ्चालनमा आएका छन्। सुख्खानगरमा रहेका क्यानन बोर्डिङ स्कुल र एक्सिस बोर्डिङ स्कुल एकआपसमा गाभिएका छन्।
बुटवल तामनगरस्थित न्यु भिजन सेकेन्डरी बोर्डिङ स्कुल र नयाँगाउँमा रहेको मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल एकआपसमा मर्जर भएर रम्भादेवी सेकेन्डरी स्कुलका नामबाट सञ्चालन भएका छन्।
चाँदबारीमा रहेको अन्नपूर्ण कलेजले वेस्टर्न एकेडेमीलाई स्वामित्वमा ल्याएर अन्नपूर्णकै नामबाट सञ्चालन गरेको छ। बुटवलमा सञ्चालित अन्य निजी विद्यालय विद्यार्थी अभाव र राज्यको नीतिका कारण मर्जर या बन्दको अवस्थामा पुगेका हुन्।
निजी तथा आवासीय विद्यालय अर्गजाईजेनसन (प्याब्सन) लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले खर्च धान्न नसकेपछि बोर्डिङ स्कुलहरू गाभिन थालेको बताए। सरकारको गलत शिक्षा नीतिका कारण पनि निजी विद्यालयले लगानीअनुसार प्रतिफल पाउन नसक्दा मर्जरमा जानुपरेको गुनासो उनको छ।
‘सबै क्षेत्र तहसनहस भइरहेको छ। यसमा शिक्षा क्षेत्र झन् तहसनहसको अवस्थामा पुग्यो’, अध्यक्ष पाण्डेले भने, ‘शिक्षा क्षेत्रलाई प्रालिमा लैजानु गलत भयो, जसका कारण अहिलेको अवस्था आएको हो।’
राज्यले हरेक वर्ष शिक्षामा लगानी बढाउँदै गए पनि प्रतिफल प्राप्त गर्न नसक्दा निजी क्षेत्र धराशयी बनेको उनले बताए। ‘राज्यको नीतिका कारण बोर्डिङका लगानीकर्ताहरुले सेफ ल्यान्डिङ खोजेका छन्’, पाण्डेले भने।
राज्यको नीति र विद्यार्थी अभावले मात्रै नभई समयको मागले पनि पुरानै ढर्रामा सञ्चालित विद्यालय मर्जरमा जानुपरेको तर्क गर्छन् हिसान रूपन्देहीका अध्यक्ष दिनेश भुसाल। ‘स्कुलहरू अब नयाँ ढंगबाट सञ्चालन गर्नुपर्छ। समयसँगै अपग्रेड हुँदै जानुपर्छ’, उनले भने। पूर्वाधार सम्पन्न र समयअनुसारको गुणस्तरीय शिक्षाका लागि स्कुल एकआपसमा गाभिनुलाई सकारात्मक रूपमा लिनुपर्ने अध्यक्ष भुसालले बताए।
निजी स्कुलका सञ्चालकहरूका अनुसार कोभिडपछि यस्ता विद्यालय ओरालो लाग्न थालेका हुन्। रम्भादेवी सेकेन्डरी स्कुलका प्राचार्य केशव श्रीस कोभिडपछि आर्थिक संकट उत्पन्न हुँदा त्यसले शिक्षा क्षेत्रमा समेत प्रभाव पारेको बताउँछन्। कोभिडपछि अभिभावकले बालबालिकालाई निजी स्कुलमा पढाउन सक्ने स्थिति नभएको बुझाइ उनको छ।
‘आर्थिक संकटका कारण अभिभावकले बालबालिकालाई स्कुलबाट निकाल्दै सामुदायिक विद्यालयमा लैजान थाले’, प्राचार्य श्रीसले भने।
राज्यको नीतिका कारण पनि बोर्डिङ विद्यार्थीको चाप घटेको उनी बताउँछन्। पछिल्लो समय नेपाली युवाको विदेश पलायनका कारण पनि प्राथमिक तहमा विद्यार्थी कम हुन थालेको बोर्डिङ सञ्चालकहरू बताउँछन्।
स्कलर्स होम बोर्डिङ स्कुलका उपप्राचार्य टीकाराम गौतम भन्छन्, ‘अध्ययनका लागि विदेश गएका युवा पुस्ताले उतै घरजम गर्न थालेका छन्। गाउँमा विद्यालय जाने बालबालिकाको संख्या क्रमशः घट्दै गएको छ।’ उनका अनुसार पहिले एउटै टोलबाट १५/१६ जना विद्यार्थी स्कुल आउने गरेकोमा अहिले ४/५ जना मात्रै आउँछन्। प्रिनर्सरी र शिशु कक्षामा विद्यार्थी पाउन मुस्किल परेको गौतमले बताए।
बुटवलमा निजी विद्यालय ५९ वटा र सामुदायिक विद्यालय ३९ वटा सञ्चालनमा छन्। उपमहानगरपालिका कक्षा १ देखि १२ सम्म ६० हजार विद्यार्थी अध्ययरत रहेको उपमहानगरका माध्यमिक तह शिक्षा शाखा प्रमुख टीकाराम पन्थीले बताए। उनका अनुसार बोर्डिङमा ३५ हजार चार सय र सामुदायिकमा ३१ हजार ३ सय ६१ जना विद्यार्थी अध्ययनरत छन्।