काठमाडौँ- उपनिर्वाचनमार्फत इलामको प्रतिनिधिसभा २ मा पहिचान पक्षधरले ११ हजार ४५७ मत ल्याएको छ। विजयी उम्मेदवार नेकपा एमालेका सुहाङ नेम्वाङको भन्दा यो मत १६ हजार ३१५ मत कम हो। सुहाङले २७ हजार ७७२ मत ल्याउँदा पहिचान पक्षधर डकेन्द्र थेगिमले ११ हजार ४५७ मत ल्याएका छन्।
धेरैलाई पहिचान पक्षधरले यो मत ल्याउनुलाई उल्लेखनीय मानेका छन्। उनको एकल प्रयासले यति मत आएको होइन। पार्टीको उम्मेदवार नभए पनि थेगिमलाई पार्टी र जनवर्गीय/जातीय संगठनको समर्थन थियो। जातजाति विशेष संस्थाहरूले सहयोग गरेका थिए। कतिपयले कांग्रेस–एमालेसँग चिढिएका मतदाताले थेगिमका पक्षमा मत दिएको दाबी गरेका छन्। थेगिम भने यसलाई ठूलो उपलब्धि मान्छन्।
‘दुई हप्ताको बीचमा गरिएको प्रयासले सम्मानजनक मत आएको छ,’ थेगिमले भनेका छन्, ‘यो मत पहिचान र अधिकारको मुद्दालाई स्थापना गर्न सम्मानजनक छ।’
पहिचान पक्षधरले भौतिकदेखि सामाजिक सञ्जालमा समेत व्यापक प्रचार गरेको थियो। थेगिमले मत तान्नकै लागि स्थानीयदेखि राष्ट्रिय कलाकारसमेत इलाम–२ मा उतारेका थिए। त्यसो गर्दा पनि नतिजा उनको पक्षमा आउन सकेन।
‘विभिन्न कारणले हाम्रो मत घट्यो,’ किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो भन्छिन्, ‘कतिपय ठाउँमा राज्यसत्ता हाम्रो विरुद्ध लाग्यो। हाम्रो पकड क्षेत्रमा कानुन मिचेर सरकारले बल मिच्यो।’
तुम्बापोका अनुसार पहिचानवादीको पकड मानिने चुलाचुली गाउँपालिका र माई नगरपालिकामा मतदानका दिन बाक्लो संख्यामा सेना परिचालन गरेर राज्यले बल प्रयोग गरेको थियो।
पहिचान पक्षधरले २२ देखि २३ हजार मत ल्याउने सर्वेक्षण गरेको थियो। तर आफूहरूको मत विभिन्न कारण अरूतिर स्थानान्तरण भएको तम्बापोको दाबी छ। ‘२३ हजार ल्याउँदा जितिने सर्भे थियो किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेसहितको मत काट्दा पहिचानविरोधको मत बढेको हो,’ महासचिव तुम्बापो भन्छिन्।
‘आन्दोलन निरन्तर’
पहिचानको मुद्दालाई एजेन्डा बनाइरहेको यो आन्दोलन १५ महिनादेखि जारी छ। २०७९ फागुन १७ मा तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखेपछि आन्दोलन सुरु भएको थियो।
प्रदेशको नाम पहिचानबाट राख्नुपर्ने भन्दै यसअघि पनि आन्दोलन भएको हो। कोशीविरोधी आन्दोलन भने फागुन १७ बाट सुरु भयो। पहिचान पक्षधर विभिन्न जातीय संघसंस्थाले यसको अगुवाइ गरेका थिए।
पहिचान पक्षधरले आन्दोलन अघि बढाउन इलाम क्षेत्र नम्बर २ मा पनि उम्मेदवारी दिने निर्णय गर्यो। उपनिर्वाचनको मतले ऊर्जा बढेको आन्दोलन निरन्तर अघि बढाउने पहिचान पक्षधरको भनाइ छ।
‘हाम्रो आन्दोलनले वैधानिकता नपाएसम्म आन्दोलन अघि बढिरहन्छ। दबाउन खोजिए पनि हामी पछि हट्नेवाला छैनौँ,’ पहिचानसहितको प्रदेश नं. १ पुनः नामांकन अभियानका महासचिव रामभक्त कुरुम्बाङले भने, ‘हाम्रो यो मुद्दा कार्यान्वयन नगर्नु संविधानकै अवमूल्यन हो। राज्यले संविधानको प्रस्तावनाको अपव्याख्या गरेको छ।’
कुरुम्बाङले पहिचानलाई जातसँग जोडेर अपव्याख्या गरिएको गुनासो गरे। यसपटक मत घट्नुको कारणचाहिँ पहिचानलाई निस्तेज बनाउन स्वार्थरूपी अघोषित सेटिङ भएको पहिचानवादीको ठहर छ।
‘हो, संख्याका आधारमा भन्ने हो भने एमाले विजयी बन्यो तर पहिचानलाई बदनाम बनाउन अन्य शक्ति पनि लागे,’ महासचिव तुम्बापो भन्छिन्, ‘कांग्रेसको एकपक्ष र रास्वपाकै पनि ठूलो पङ्क्ति पनि एमालेपट्टि लाग्यो। यो भनेको हामीलाई कमजोर बनाएको हो।’
इलाम-२ मा पहिचानको कति मत?
अहिले इलाम २ मा पहिचानका संयुक्त उम्मेदवार थेगिमले ११ हजार ४५७ मत ल्याएका छन्। उनीबाहेक पनि अन्य पहिचानपक्षधर दाबी गर्ने उम्मेदवार उठेका थिए। इलाम २ मा पहिचानपक्षधर नै मानिने जनमत पार्टीका प्रेम थाम्सुहाङले ११८ मत, मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ) का मणि पापोले ८१६ मत ल्याएका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत ल्याएका छन्।
पहिचान पक्षधर दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले ५ हजार ५ मत पाएका छन्। यीमध्ये पहिचानवादी समूहले मिलन लिम्बूबाहेकको मत पहिचानकै लागि आएको बताएको छ। ‘मंगोल नेसनल, एकीकृत समाजवादी र जनमतको मत पहिचानकै लागि आएको हो,’ किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले भनिन्, ‘मिलनजीलाई आएको चाहिँ पहिचानका लागि आएको मान्न सकिँदैन। रास्वपा नै पहिचानविरोधी हो।’