भच्चेक अस्पतालमा पनि स्वास्थ्य बिमा सञ्चालन

हिमाल प्रेस ४ वैशाख २०८१ १७:२० | Tuesday, April 16, 2024
भच्चेक अस्पतालमा पनि स्वास्थ्य बिमा सञ्चालन

गोरखा- गोरखाभित्र रहेका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ। स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका–६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका–३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो।

अनुमति पाएका दुवै अस्पतालले आगामी जेठ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा सुरु गर्ने बोर्ड कार्यालय गोरखाका प्रमुख विसाल लौडारीले जानकारी दिए।

‘दुवै अस्पतालले बोर्डले निर्धारण गरेका आवश्यक सबै मापदण्ड पूरा गरेपछि बीमामार्फत उपचार सेवाका लागि सम्झौता भएको छ’, उनले भने, ‘भीमसेनथापा र अजिरकोट गाउँपालिकाका स्वास्थ्य बीमा गराएका व्यक्तिले बीमा नवीकरण गरेपछि स्थानीय अस्पतालबाट सेवा लिन सक्नेछन्।’

उक्त सेवा सुरु गर्न सहिद स्मृति आधारभूत अस्पतालले एक वर्ष अघि नै निवदेन दिएको थियो भने भच्चेक अस्पतालले चार महिनाअघि बोर्डमा निवदेन दिएको थियो। योसँगै जिल्ला भित्रका ११ पालिकामध्ये सातवटा पालिकामा स्वास्थ्य बीमाअन्तर्गतक सेवा केन्द्र पुगेको प्रमुख लौडारीले बताए। उनका अनुसार अझै चार वटा पालिकामा स्वास्थ्य बीमाको सेवा केन्द्र स्थापना हुन बाँकी छन्।

जिल्लाभित्र यसअघि गोरखा अस्पताल र आँपपिपल अस्पताल तथा मकैसिंह प्राथामिक स्वास्थ्य केन्द्र, जौवारी प्राथामिक स्वास्थ्य केन्द्र र आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्र गरी पाँचवटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।

विसं २०७४ असारदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको गोरखामा अहिलेसम्म एकलाख छ हजार बढी नागरिकले बीमा गराइसकेका प्रमुख लौडारीले जानकारी दिए। ‘अहिलको तथ्याङ्कलाई हेर्दा जिल्लामा झण्डै ४४ प्रतिशत भन्दाबढी नागरिकको स्वास्थ्य बीमामा पहुँच पुगिसकेको छ’, उनले भने, ‘चार हजार भन्दाबढी बिमितको फारम यहीँ महिनाभित्र दर्ताको प्रक्रियामा छ।’

प्रकाशित: ४ वैशाख २०८१ १७:२० | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast