लुम्बिनी- ऐतिहासिक तथा पुरातात्विक बुद्धस्थलमा निग्रोधाराम उत्सव मनाइएको छ। बौद्ध धर्मावलम्बीको आस्था र महत्त्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उत्सव गरिएको हो।
गच्छामी मिडिया ग्रुप र रेडियो टुरिजमद्वारा आयोजित उत्सवमा श्रीलंकाली राजदूत सुदर्शना पथिरानाले यो पवित्र स्थलको धार्मिक र ऐतिहासिक महत्त्व श्रीलंकामा निकै मानिने बताए। उनले यहाँ आएर माटो छुन पाउँदा आफू भाग्यमानी भएको समेत बताए।
उनले यो ठाउँको विकासमा सबै लागेर बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउनु पर्ने धारणा राखे। यसका लागि आफू र श्रीलंकाली सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ छ।
कार्यक्रममा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले सबैलाई दया, माया, करुणा र आस्था जगाउने ठाउँका रुपमा निग्रोधाराम रहेकाले बौद्ध धर्मावलम्बीका लागि एउटा छुट्टै महत्त्व बोकेको बताए।
थेरबाद र महायानी परम्परा अनुसार भिक्षु, लामागुरुले च्यान्टिङ गरी उत्सव सुरु गरिएको थियो। उत्सवमा स्थानीय लोक संस्कृति र बाजा बजाइएको थियो। राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक राजधानी फर्किँदाको अवस्था चित्रण गरी लघु नाटक प्रदर्शन गरिएको थियो।
कपिलवस्तु नगरपालिका-२, कुदानस्थित निग्रोधाराममा बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक राजधानी कपिलवस्तु आउँदा फागुन पूर्णिमाका दिन मातापितासँग निग्रोधाराममा भेटघाट गरेका थिए। उक्त ऐतिहासिक क्षणको महिमा फैलाउन निग्रोधाराम उत्सव गरिएको हो।
उत्सवमा मैत्रीभाव र सद्भाव प्रदान गर्न फूल आदानप्रदान गरिएको थियो। साँझ ७७७ वटा दीप प्रज्ज्वलन गरिएको थियो। होलीको शुभकामना साटासाट गर्दै अबिर रंग पनि लगाइएको थियो। साथै शान्तिका लागि ३ वटा फलाइङ लालटिन पनि उडाइएको थियो। अवधी संस्कृति बोकेको गोझिया, गुलगुला र नमकिन खाजा खुवाइएको थियो।
लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाडेकाजीले कपिलवस्तुमा नयाँ पर्यटकीय आकर्षणका धेरै सम्भावना भएकाले त्यसलाई उजागर गर्न निग्रोधाराम उत्सव मनाइएको बताए। बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक राजधानी कपिलवस्तु आउँदा फागुन पूर्णिमाका दिन निग्रोधाराममा मातापितासँग भेटघाट गरेका थिए।
उत्सवकै अवसरमा सम्पदामा धनी कपिलवस्तु विषयक तस्बिर पनि प्रर्दशन गरिएको थियो। बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधारामका मनमोहक र रोमाञ्चक तस्बिर प्रदर्शन गरिएको थियो।
प्रदर्शनीमा तराईका मानवीय जनजीवन, पुरातात्विक स्थलको पृष्ठभूमि र खुला आकाशसँगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरि दोस्रो, तेस्रो र चौथौ तथा गुर्जा हिमालका चित्ताकर्षक तस्बिरहरूको पनि प्रदर्शनी गरिएको थियो।