काठमाडौँ- सात वर्षअघि रमिता हेर्न ठमेलको प्रिन्स डान्सबार पुगेकी युवती एक (नाम परिवर्तन) केही वर्षपछि बारमै डान्सर बनिन्। दाङबाट उच्चशिक्षा अध्ययन गर्न काठमाडौँ आएकी उनी पढाइसँगै काम गर्न चाहन्थिन्। उनले काठमाडौँमा भनेजस्तो काम भेटिनन्। त्यसपछि उनको गन्तव्य बन्यो डान्स बार।
युवती एकले काठमाडौँको पद्मकन्या क्याम्पसबाट जसोतसो बीबीएस अध्ययन सकिन्। डान्सबारमा काम गर्दै पढ्न समस्या भएका कारण २०७६ सालमै अध्ययन छाड्नुपरेको उनले बताइन्। बीबीएस सकेपछि डेढ वर्षजति उनी एउटा ट्राभल एजेन्सीमा पनि काम गर्न पुगिन्। कोरोना महामारीले पर्यटन व्यवसाय चौपटमा परेपछि बेराजगार बनेकी युवती एक फेरि फर्किइन् डान्स बार।
कोरोनापछि बारमै फर्किनुपरेको उनले बताइन्। डान्स बारमा काम गर्ने युवतीलाई सेवाग्राहीले मान्छेलाई जस्तो व्यवहार नगर्ने गुनासो उनको छ। ‘ग्राहकले डान्स हेरेर मनोरञ्जन त लिन्छन् तर यतिसम्म अपमान गर्छन् कि आफूलाई समाजमा अनुहार देखाउन पनि मन लाग्दैन’, युवती एकले भनिन्, ‘समाजमा प्रतिष्ठित भनिएका व्यक्तिले धेरे अपमानित भाषा बोल्छन्। पैसाको दम्भ देखाएर उनीहरूले हामीमाथि तुच्छ व्यवहार गर्छन्।’
मालिकदेखि ग्राहकले समेत वेश्या होस् भनेर जबरजस्ती गर्ने गरेको उनको गुनासो छ। युवती एक भन्छिन्, ‘डान्सबारमा सुरुसुरुमा सुन्दरी भनेर लुट्छन्,बिस्तारै तिनै ग्राहकले नै वेश्या भनेर अपमान गर्न थाल्छन्। ग्राहकहरू इज्जत लुट्नकै लागि आउँछन्।’
उनका अनुसार क्याबिन, डान्स, दोहोरीलगायतका मनोरञ्जन क्षेत्रमा जाने ग्राहकले कुनै नियम पालना गर्दैनन्। कानुनअनुसार क्याबिन, डान्स र दोहोरी रेस्टुरेन्टका साथै मसाज पार्लर र गेस्ट हाउसमा काम गर्ने श्रमिक महिलामाथि यौन उत्पीडन दण्डनीय मानिए पनि धेरैलाई यसबारे जानकारी नभएको युवती एकको अनुभव छ।
उनी भन्छिन्, ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई हाम्रो शरीरमा हाम्रो मात्र अधिकार हुन्छ भन्ने थाहा छैन। ग्राहकले जे माग्यो, त्यही दिनुपर्छ भन्नेमात्रै छ।’ युवती एकलाई अहिले यो पेसा छाडेर अन्यत्र काम गर्न मन छ। आर्थिक समस्याका कारण छाक टार्न भए पनि यहीँ काम गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।
मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीको अधिकारका क्षेत्रमा काम गर्ने पौरखी नेपाल, विश्वास नेपाल, शक्ति समूहले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनी जस्ता धेरै युवतीले डान्सबार क्षेत्रमा भोग्नुपरेका समस्या सुनाएका हुन्।
पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ पछिल्लो समयमा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला संगठित हुन थालेको बताउँछिन्। दिनहुँ थपिने नयाँ किशोरी र युवतीमाथि थाहा नपाएरै यौनशोषण र उत्पीडनमा पर्ने गरेको उनले जानकारी दिइन्। विश्वास नेपालले गरेको पछिल्लो एक अध्ययनअनुसार काठमाडौँ उपत्यकाका दोहोरी रेस्टुरेन्ट, मसाज र डान्सबारमा काम गर्नेमध्ये ४० प्रतिशत युवती १८ देखि २० वर्षका र ३३ प्रतिशत युवती १८ वर्षमुनिका छन्।
रात्रिकालीन व्यवसायमा गुरुङ, राई र तामाङ जातिका ३५ प्रतिशत र क्षेत्री २७ प्रतिशत, बाहुन १३.६ प्रतिशत र अन्य १०.६ प्रतिशत युवती संलग्न छन्। त्यस्तै ५१ प्रतिशत आंशिक साक्षर, ३१ प्रतिशत निरक्षर र २० प्रतिशतले पढाइ छाडेर यस्तो व्यवसायमा प्रवेश गरेको अध्ययनमा उल्लेख छ। अध्ययनमा काठमाडौँका ठमेल, बालाजु, माछापोखरी, गोंगबु, रत्नपार्क र काटेश्वर क्षेत्रमा रात्रिकालीन व्यवसाय बढी हुने गरेका छन्। अधिकांश युवती रोजीरोटीकै बाध्यात्मक अवस्थाले रात्रिकालीन पेसा अंगाल्न पुग्ने गरेका छन्।
रात्रिकालीन क्षेत्रमा काम गर्ने अधिकांश युवाती शोषणमा परे पनि समस्या बाहिर नआउने अध्यक्ष गुरुङ बताउँछिन्। उनी भन्छिन्, ‘यस्ता युवतीको समस्याबारे सरकारले चासो दिन सकेको छैन।’