हालै सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९मा देशभर विभिन्न स्थानहरूबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएकामध्ये प्रदेशसभा र प्रतिनिधिसभातर्फ गरी कुल १७ जना उम्मेदवारहरू निर्वाचित भए।
यसमध्ये ५ जना प्रतिनिधिसभातर्फ र १२ जना प्रदेशसभा तर्फ निर्वाचित भए। यस क्रममा मधेश प्रदेशबाट समेत विभिन्न उम्मेदवारहरूले वतन्त्र उम्मेदवारी दिएका थिए। जसमध्ये १ जना महिलासहित ६ जना निर्वाचित भए। ती ६ जनामध्येबाटै एक हुन् महोत्तरी क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित मधेश प्रदेश सांसद सुरिता साह। सुरिताले यस अघिको प्रदेशसभामा समेत आफ्नो प्रतिनिधित्व जनाइसकेकी छन्।
उनी यसअघि पनि उक्त निर्वाचन क्षेत्रबाटै प्रत्यक्षतर्फ नै चुनावमा प्रतिस्पर्धा गरेकी थिइन् र फलस्वरूप जित पनि निकालिन्। तर सुरिताको त्यतिबेलाको जित भने स्वतन्त्र थिएन।
उनले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल टिकट पाएर चुनाव जितेकी थिइन्। यस पटक भने पार्टीले फेरि पनि उनी निर्वाचित हुन सक्ने भनेर पत्याएन्।
उनलाइ पार्टीले समानुपातिकबाट राष्ट्रियसभामा जान प्रस्ताव गर्यो तर उनले आफु उक्त क्षेत्रका लागि योग्य रहेको भन्दै पार्टीको निर्णय अस्वीकार गर्दै स्वतन्त्र रूपमा चुनाव लड्ने अठोट गर्दै पार्टी परित्याग गर्दै चुनावमा होमिइन्।
र उनको जनताप्रतिको विश्वास र आफ्नो लगनशीलताले अन्ततगोत्त्वा जित पनि दिलायो। सुरिताले अहिले स्वतन्त्र रूपमा चुनाव लड्न महिलाका लागि कतिको चुनौतीपूर्ण छ भनेर नजिकबाट अनुभव गर्न पाएकी छन्। यसै विषयवस्तुमा केन्द्रित रही हिमाल प्रेसका लागि नेहा झाले गरेको कुराकानी:
तपाईंलाइ पार्टीले पत्याएन तर जनताले पत्याए कस्तो अनुभव गरिरहनुभएको छ?
सबैभन्दा पहिले त जनताको विश्वास जित्न काम गर्नुपर्छ, यदि तपाईंले आफ्नो क्षेत्रमा काम गर्नुभएको छ भने जनताले पत्याउनु स्वभाविक हो।
पार्टीले नपत्याउनुको पछाडि के कारण होला?
पार्टीको आफ्नै बाध्यता होला,र यो प्रायः सबै दलहरूमा भइरहन्छ कि एक क्षेत्रका उम्मेदवारलाइ अर्को क्षेत्रमा पठाइन्छ अर्को क्षेत्रका उम्मेदवारहरूलाइ ल्याएर त्यहाँ प्रतिस्पर्धा गराउने। र अर्को पक्ष यो पनि हो कि पार्टीमा यदि कोही महिला आफ्ना काममा दक्ष छन् र उनीहरूले नेतृत्त्व लिन खोज्छन् भने यस्ता नेतृहरूलाइ पाखा लगाइन्छ।
अब गठन हुने नयाँ सरकारमा महिलाको सम्मानजनक सहभागिता हुनैपर्छ। हामी पनि पुरुष नेताहरूजस्तै चुनाव लडेर निर्वाचित भएरै आएका हौँ भने पदका लागि असमानता किन? यो एक किसिमको अधिकारकै लडाइँ हो र यसका लागि हामी सबै नेतृहरू एकजुट भएर आवाज उठाउनैपर्छ।
जस्तो कि तपाईंले प्रायः सबै दल महिलाप्रति अनुदार छन् भन्नुभयो यस्तो किन होला?
मैले पहिले पनि भने यसमा पार्टी नेतृत्त्वहरूको आफ्नै स्वार्थ लुकेका हुन्छन्, किनभने संविधानले व्यवस्था गरेअनुसार उनीहरूले आ-आफ्ना विधानमा समेत ३३ प्रतिशत महिलाहरूको उपस्थितिको कुरा उल्लेख गरेका हुन्छन्।
विभिन्न समयमा भएको आन्दोलनहरूमा समेत महिलालाइ नेतृत्त्वकर्ताको भूमिका दिएका हुन् तर त्यही कुरा जब सत्ता वा कार्यकारी पदका लागि आउँछन् भने यसमा उनीहरू रुढीवादी सोच देखाउँछन्।
उनीहरूलाइ जहिल्यै डर हुन्छन् महिलालाइ नेतृत्त्वदायी भूमिका दिए उनीहरू आफुहरूलाइ उछ्न्निे छन् की। त्यहाँ आफु कसरी सुरक्षित रहन्छु भन्ने कुरा पहिलो प्राथमिकतामा पर्ने गर्दछ।
के यिनै कारणले मधेशवादी दलहरू मधेशमै कमजोर सावित भएका हुन्?
हो, किनभने पार्टीका नेतृत्त्वपंक्तिले आफुभन्दा पछाडि रहेका नेता कार्यकर्ताको समेत पार्टीलाइ सुदृढ बनाउन उत्तिकै महत्त्वपूर्ण भूमिका छ भनेर कहिल्यै स्वीकार्न चाहदैँनन्।
जसकारण उनीहरू राम्रा नेता कार्यकर्ताभन्दा पनि हाम्रा आफन्तजनमा बढी विश्वास गर्छन्। र यो कुरा भर्खरै सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समेत सहजै देख्न पाइयो। जसकारण अहिले टिकट नपाएकै कारण कतिपय रुष्ट नेता कार्यकर्ताहरू पार्टी छोडेर अन्तै गएका छन् त कोही मजस्तै स्वतन्त्र चुनाव लड्न बाध्य भएका छन्। र यसले नेता कार्यकर्ताहरूलाइ घाटा भएकै छ तर यसको दोब्बर मधेशवादी दलहरूले घाटा व्यहोरेका छन्।
महिलाप्रति पार्टीको अविश्वासका कारण तपाईं पार्टी परित्याग गर्न बाध्य हुनुभयो, तपाईंजस्तै कतिपय नेतृहरूले यस्ता परिस्थितिबाट गुज्रिनुपरेको छ होला, उनीहरूलाई तपाईं के भन्न चाहनुहुन्छ?
सबैभन्दा पहिले महिला स्वयं सक्षम र आत्मविश्वासी हुनुपर्छ। यदि तपाईं पुरुष नेताहरू जस्तै दिनरात पार्टीका लागि काम गर्नुभएको छ भने आफुले पाउने अधिकारबाट बञ्चित किन हुनुपर्यो।
हामीले गरेका मेहनतलाइ नेतृत्त्व वर्गले समान रूपले हेर्नैपर्छ। र यसका लागि महिलाहरूले स्वयं आवाज उठाउनुपर्ने हो। किनभने राजनीति गर्ने महिलाहरू बोल्न सक्दैनन् भने झन् घरमा हिंसा भोगेकाहरू कसरी आफुलाई सबल बनाउन सक्छन् त।
महिला नेतृहरूलाई सबल बन्नुपर्ने र आफ्नो हक अधिकार लिनुपर्नेमा तपाईंको जोड हो यसअघिको मन्त्रिमण्डलमा तपाईंको पार्टीसमेत सरकारमा सामेल भएको थियो त्यतिबेला तपाईंहरूले महिलाबाट समेत मन्त्री बन्नुपर्ने कुरा उठाउनुभएन नि?
यसअघिको सरकारमा पार्टी सामेल हुँदा हामीले त्यतिबेला पनि महिलामन्त्रीका लागि कुरा उठाएकै हौँ। तर पार्टीले वेवास्ता गर्यो। नेतृत्त्वपंक्तिलाई जहिल्यै पुरुषमात्रै सक्षम छन् लाग्यो, मलाई लाग्छ तत्कालीन राजपा पार्टीबाटै मधेश प्रदेशसभामा दुई जना यस्ता महिलाहरू निर्वाचित भएका थिए।
जो राज्य सञ्चालन गर्नमा कहिल्यै पछाडि पर्दैन्थे। तर पनि पार्टी ले यस विषयलाई प्राथमिकता दिएन।
यहाँसम्मकी महिलालाई कुनै समितिको सभापतिसम्म बनाउन उचित लागेन। र त्यतिबेला हामी पनि चुप लाग्यौँ किनभने हाम्रा लागि प्रादेशिक संरचना नै नयाँ थियो । हामीलाई त्यतिबेला नै नेतृत्त्वपंक्तिको यस धारणाको विरोध गर्नुपर्नेथ्यो तर हामी चुक्यौँ।
तपाईंले गत पाँच वर्षमा धेरै नै अनुभव बटुलिसक्नुभएको होला, अब बन्ने सरकारमा महिलाको भूमिकालाई प्रस्तुत गर्न के-कस्तो पहलकदामीको योजनामा हुनुहुन्छ?
अब गठन हुने नयाँ सरकारमा महिलाको सम्मानजनक सहभागिता हुनैपर्छ। हामी पनि पुरुष नेताहरूजस्तै चुनाव लडेर निर्वाचित भएरै आएका हौँ भने पदका लागि असमानता किन? यो एक किसिमको अधिकारकै लडाइँ हो र यसका लागि हामी सबै नेतृहरू एकजुट भएर आवाज उठाउनैपर्छ।