कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’ सञ्चालन

हिमाल प्रेस १५ फागुन २०८० १४:२५ | Tuesday, February 27, 2024
कृषि बाली हरियाली पार्ने ‘पोखरी योजना’ सञ्चालन फाइल तस्बिर

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले  ‘पोखरी योजना’ को  सुरुआत गरेको  छ। प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ। जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ। टारी खेतबारीलाई लक्षित गरेर बर्सादमा रोपाइँ गर्न ठाउँठाउँमा स–साना पोखरी निर्माण गरिएको वडाअध्यक्ष रोशनराज गिरी बताउँछन्।

करेसाबारीका लागि घरको छतबाट खसेको पानी सङ्कलन गर्ने घरैपिच्छे पोखरी तयार गरिएको छ। प्रत्येक टोलमा भैँसी आहाल बस्ने पोखरी बनाइएको वडाअअध्यक्ष गिरी बताउाछन्। पानीको मूल र मुहानको प्रकृति जीवित राख्न वडाभर पाँच सयवटा साना–ठूला पानी पोखरी बनाइएको छ। यस आर्थिक वर्षमा वडामा आएको रु ८५ लाख बजेटमध्ये रु ६० लाख कृषिमा विनियोजन गरिएको उनले बताए। जङ्गलमा झरेको पात सङ्कलन गर्न एक सयवटा खाल्डो तयार गरिएको छ। १० भन्दा बढी पोखरी घाँसको साइलेजका लागि बनाइएको छ। बर्सादमा काटेको घाँस हरियो राख्ने प्रविधि साइलेज हो।

वर्षादभर जम्मा गरेको पानी हिउँदमा प्रयोग गरिन्छ। अहिले वडामा टनेल र ग्रिन हाउस निर्माण भइरहेको बताउँदै वडाध्यक्ष गिरी भन्छन्, ‘पशुपालन र हिउँदे तरकारीबाट किसानलाई आम्दानी बढी दिने लक्ष्य लिइएको छ।’ किसानलाई मानसिकरुपमा कृषि कर्ममा तयार गर्नका लागि वडाअध्यक्ष  किसानसँग भेटघाट गर्ने, विकास निर्माणमा श्रमदानलाई प्राथमिकता दिने र पशुपालन एवम् कृषिमार्फत गाउँलाई समृद्ध बनाउने खाका कोरिरहेका छन्। त्यसैले त अध्यक्ष गिरीले अनुदानलाई भन्दा पनि उत्पादनलाई बढी जोड दिएको पाइन्छ।

वडाअध्यक्षले बाख्रा वितरणलाई प्राथमिकतामा राखेका छन्। केही सीमित किसानलाई बाख्रा वितरण गर्ने र ती बाख्राबाट उत्पादन भएकालाई पुनः अर्को किसानलाई वितरण गर्दै जाने उनको योजना रहेको छ। यो क्रमले सीमित स्रोतबाट सबै किसान लाभान्वित हुनाका साथै सबै किसान छोटो समयमै पशुपालनमा आत्मनिर्भर हुने अध्यक्ष गिरीको विश्वास छ। रासस

प्रकाशित: १५ फागुन २०८० १४:२५ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast