म ६ महिनाअघि यूएईबाट रुसी सेनामा भर्ती हुन मस्को पुगेको हुँ। मलाई त्यहाँ मोरङ सोमबारेका विकास राईले पठाएका हुन्। उनी सात वर्षदेखि यूएई प्रहरीमा कार्यरत थिए। राई पनि यूएई प्रहरीको जागिर छाडेर रुसी सेनामा भर्ती हुन पुगेका थिए। अहिले उनी फरार छन्। मैले उनी तेस्रो दर्जाका एजेन्ट रहेछन् भन्ने पछिमात्र थाहा पाएँ।
रुसी सेनामा नेपालीलाई पठाउन राईसहितको ९ जनाको गिरोह यूएईमा सक्रिय रहेछ। अहिले यी सबैजना भागेर रुसमा लुकेर दलालको काम गर्दैछन् रे। कोही पनि हाम्रो सम्पर्कमा छैनन्।
भदौमा मसहित ३३ जनालाई पश्चिम पाल्पाका दीपक अधिकारी नाम गरेका व्यक्तिले रुस पुर्याएका थिए। हामी सबैले मस्को आएपछि मात्रै पैसा तिरेका थियौँ। पैसाचाहिँ विकास राईका आफन्त जीवन राईलाई धरानमा पठाएका थियौँ।
भदौमा यूएईबाट रुसी सेनामा जाने नेपालीको लहरै थियो। त्यही लहरमा म पनि मिसिएको हुँ। रुसी सेनामा जानका लागि यूएईको सुरक्षा गार्ड र अन्य क्षेत्रमा कार्यरत दुई सय ८३ जना नेपालीले फाराम भरेका थियौँ। फाराम भरेका सबै जना रुस गएर यहाँको सेनामा भर्ना भयौँ। ३० जनाचाँहि युक्रेनसँगको युद्धमा मरिसकेका छन्। ५० जनाभन्दा घाइते भई उपचारत छन्।
मलाई रुसी सेनामा भर्ती भएको २१ दिनपछि तालिम सकेर युद्धस्थल बाखमुट खटाइएको थियो। तालिम सामान्य मात्र दिइयो। रुसी सेनाका अधिकारीहरूले हतियार चलाउन मात्र सिकाएर सीधै युद्धस्थलमा खटाए। बाखमुटमा दुई हजारभन्दा बढी नेपाली थिए। नेपालीको हूल देखेपछि रुसले औपचारिक रूपमै भर्ती खुलाएर नेपालबाट युवा ल्याउन थालेको रहेछ भनेर मनमनै खुसी पनि भएको थिएँ म। त्यस्तो होइन रहेछ। बुझ्दै जाँदा त ती सबै नेपाली यूएई, भारत, कतार र दक्षिण कोरियाबाट आएका रहेछन्।
बाखमुटबाट करिब २० किलोमिटर टाढा युक्रेनी भूमिमा एउटा ठूलो सूर्यमुखी तेल उत्पादन केन्द्र रहेछ। त्यो भूभाग रुसले कब्जा गरिसकेको छ। त्यहाँ युक्रेनले आफ्ना सेना हिउँमा लुकाएर राख्ने र सुरुङ खनेर रुसी सेनामाथि आक्रमण गर्दै आएको छ। जमिन फिर्ता ल्याउने रणनीति युक्रेनको छ। यही क्षेत्रमा सबैभन्दा बढी रुसी सेनाले ज्यान गुमाउँदा रहेछन्। म पनि त्यही क्षेत्रमा खटिएको थिएँ। युक्रेनी सेनाको एम्बुस र ड्रोन आक्रमणबाट मैले धेरै रुसी सेना मरेको देखेँ। गत कात्तिकमा एकैपटक तीन सयभन्दा बढीको शव रुसी सेनाको ट्रकले उठाएको देखेको थिएँ। तीमध्ये ३० जनाभन्दा बढी नेपाली थिए। बाखमुटमा खटिएका धेरै सेना युक्रेनी भूमि लुवाङ र लुम्चीमा मरेका छन्। बम त चरा उडे जसरी आएर खस्दारहेछन्। यस क्षेत्रमा खटिएका नेपाली पनि मारिने गरेका छन्।
पाँच गोली खाएँ
युद्धमा हामी तीन सय जना खटिएका थियौँ। युक्रेनी भूमिमा रहेको एउटा ठूलो गोदाममा बसेर आक्रमणको योजना बनाइरहेका थियौँ। सबैजना लडाइँका लागि तयार भएर बसेको सात घण्टापछि ब्यारेकमाथि एक्कासि कागको बथान आएजस्तै देखियो। तीन घण्टापछि बादलले ढाकेजसरी आकाश कालोनीलो भयो। अनि चराजसरी आएको बम आक्रमण सुरु भयो।
रुसी सेनाले सामान्य जबाफी फायर मात्र खोल्न पाएको थियो। बम खस्न थालेपछि युक्रेनी सेनाले जमिनमुनिबाट निस्किएर आक्रमण गर्न थाले। हामीले हतियार उठाउनसम्म पाएनौंँ। म गेटमा बसेका कारण गोली लागेर ढलेछु।
मलाई तिघ्रा र पेटमा पाँच गोली लागेछ। हिउँको चिसोले गर्दा पछि मात्र थाहा पाएँ। होसमा आउँदा रुसी सेनाको शवमाथि थिएँ। त्यहीँ प्राथमिक उपचार भएछ। होसमा आएपछि घाइते अवस्थामै एक जना रुसी सेनासँग बिस्तारै सुरक्षित स्थानतर्फ लागेँ। खुट्टा र पेटको गोली मसँग भएको रुसीले निकालिदियो। उसैले सामान्य उपचार र गोली निकालेपछि हामी त्यहाँबाट राति नै भागेका थियौँ।
त्यो रुसी सैनिकलाई भाग्ने बाटो र गाडीको रुट थाहा हरेछ। त्यही भएर मलाई पनि सुरक्षित स्थलतर्फ भाग्न सजिलो भयो। हामी त्यहाँबाट एउटा ट्रकमा चढ्यौँ। तीन सय किलोमिटर यात्रापछि हामी एउटा घरमा छिर्यौँ। ठाउँको नाम थाहा छैन। हामीसँग १० हजार रुबल लिने सर्तमा ती रुसीले शरण दिए। अनि तीनै रुसीको सहयोगमा दुई महिना उपचार गरेँ।
निको हुँदै गएपछि खै कसले सुराकी दिएछ। मलाई रुसी प्रहरीले लुकेको ठाउँबाट पुस ११ गते नियन्त्रणमा लियो। अनि फेरि बाखमुट ब्यारेकमै पुर्याइयो। त्यहाँ रुसी सेनाको कमान्डरले सोधपुछ गरे। अनि फेरि युद्धमै जान आदेश दिए।
मैले घाइते छु, हतियार बोक्न सक्दिनँ भनेर धेरै अनुनय गरेँ। तर मेरो बिलौना कसले सुन्थ्यो र! रुसी सेनाको कमान्डरले ‘शव बोक्न त सक्छस्’ भनेर मलाई जबर्जस्ती गाडीमा चढायो। म फेरि दोस्रो पटक युद्धमा गएँ। हतियार बोक्दा लडेर घाइते भएँ। अनि सेनाकै अस्पतालमा लागेर उपचार गरियो। अहिले मेरो एउटा खुट्टाले कामै गर्दैन।
हामीलाई रुसी सेनाले हिउँ नै हिउँ भएको एकान्त ठाउँमा ल्याएर राखेको छ। बाहिर ताल्चा लगाएको छ। भित्र एक जना खाना पकाउने व्यक्ति छन्। हामी सय जनाजति घाइते एकै ठाउँमा छौँ। म बसेको घरमा १४ जना नेपाली पनि घाइते छन्। सबैजना गोली लागेर घाइते भएका छन्। उनीहरूमध्ये कसैलाई तीन गोली त कसैलाई ११ वटासम्म गोली लागेको छ। सबैको उपचार भइरहेको छ।
रुसी सेनामा भर्ती भएपछि दुई महिनाको तलब पाएको थिएँ। त्यसपछि तलब पनि दिएन। मेरो मात्रै होइन, अरूको अवस्था पनि त्यस्तै रहेछ। हामी चाँडै स्वदेश फर्किन चाहन्छौँ। तर कसरी फर्कने? उपाय छैन। हामीलाई कसले उद्धार गरिदेला?
[रुसी सेनामा भर्ती भई घाइते भएर बाखमुटको एक अस्पतालमा बन्दीजसरी रहेका भोजपुरका राजेन्द्रकुमार राईसँग रमेश भारतीले गरेको भिडियो कुराकानीमा आधारित]