प्रधानमन्त्री भन्छन् : मेला महोत्सवमा कतिपय कलाकारका प्रस्तुति हेर्न नसकिने खालका छन्

हिमाल प्रेस ५ फागुन २०८० १७:३७ | Saturday, February 17, 2024
प्रधानमन्त्री भन्छन् : मेला महोत्सवमा कतिपय कलाकारका प्रस्तुति हेर्न नसकिने खालका छन् फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत संगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालीपनको संगीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताए।

विविधतापूर्ण मौलिकतामा आधारित गीत संगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने,‘दर्शक–स्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुण्डिएका छन्। तर पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ। यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ।’

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको भन्दै प्रधानमन्त्री दाहालले ‘भाइरल’को अर्थ संक्रामक प्रसार भएकाले राम्रो नभएको उल्लेख गरे। सार्वजनिक मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री दाहालले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरे।

पछिल्लो अधिवेशनबाट प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संस्था विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए। उनले बढीभन्दा बढी सहमतिका साथ एकताबद्ध हुन र अन्य विषयभन्दा लोक संगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रहसमेत गरे।

प्रकाशित: ५ फागुन २०८० १७:३७ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast