काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यु-१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनाल वर्ष उत्कृष्ट युवा खेलाडी पुरस्कारबाट सम्मानीत भएका छन्।
मनोनयनको शीर्ष तीनमा रहेका एथ्लेटिक्सका राममाया बुढा र बक्सिङका सुस्मा तामाङलाई पछि पार्दै राष्ट्रिय टोलीका ब्याटर देवले युवा खेलाडीको पुरस्कार जितेका हुन्। उनले पल्सर मोटरसाइकल प्राप्त गरे।
खनालकै नेतृत्वमा नेपालको युवा टोलीले आठ वर्षको प्रतिक्षापछि आइसिसी यु–१९ क्रिकेट विश्वकपमा सहभागिता जनाएको थियो। उनी नेतृत्वको टोलीले एसिया क्षेत्रीय छनोटको च्याम्पियन भएर प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो।
देवले प्रतियोगितामा कुवेत विरुद्ध सतक प्रहार गर्नुका साथै फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध ५१ रनको इनिङ खेलेका थिए। त्यस्तै पारा ओलम्पियन मैयाँ विशुंखेलाई एनएसजेएफ पारा एथलिट सम्मान प्रदान गरेको छ।