काठमाडौँ- रुसी सेनामा भर्ती भएका सातजना नेपाली ज्यान जोगाएर नेपाल फर्किएका छन्। घाइते अवस्थामै गत बिहीबार नेपाल फर्किएका उनीहरूमध्ये तीनजना राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। उनीहरूले उपचारकै क्रममा रुसको अस्पतालबाट भागेर स्वदेश फर्किएको बताए।
यसरी आएका दैलेखका कृष्णप्रसाद वलीको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा चारवटा गोली लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
घाइते अन्य दुईमध्ये नुवाकोटका एक र धादिङका एकजनाको काठमाडौँकै अस्पतालमा उपचार भइरहेको छ। उनीहरूले पनि शरीरमा लागेको गोली निकालेर फर्किएको बताएका छन्। दुवैजनाले आफ्ना बारेमा पूरा विवरण दिन चाहेनन्। उनीहरू दुईजनासहित वली र कैलालीका रवीन जोशी विद्यार्थी भिसामा रुस पुगेका थिए। जोशीको हातमा प्लास्टर गरिएको छ। भागेर आएका मोरङका विकास गुरुङ, कवीन्द्र मगर र धरानका मनिराज लिम्बू सामान्य घाइते भएका थिए। उनीहरूको उपचार भइसकेको छ।
मनिराज सुरक्षा गार्डका रूपमा यूएईमा कार्यरत थिए भने गुरुङ र मगर यूएई प्रहरीमा कार्यरत रहेकै बेला रुस पुगेका थिए। उनीहरूले युद्धका क्रममा युक्रेनको बाखमुट क्षेत्रमा खटिएको बताए। रुसी सेनाका लागि ‘रेड जोन’ का रूपमा रहेको युक्रेनको बाखमुट क्षेत्र निकै असुरक्षित मानिन्छ। यस क्षेत्रमा बम आक्रमण भइरहन्छ। युक्रेनसँगको दोहोरो भिडन्तका कारण बाखमुटमा दैनिक २० देखि ५० जना रुसीसहित विदेशी नागरिकले ज्यान गुमाइरहेको उनीहरूले बताए।
दलालमार्फत रुस पुगेका उनीहरू रुसी सेनामा भर्ती भएको दुई महिना नबित्दै युक्रेनी सेनाको आक्रमणमा परेर गम्भीर घाइते भएका थिए। बाखमुटमा युक्रेनी फौजले आफ्नो क्षेत्र फिर्ता लिन निरन्तर ड्रोनबाट मिसाइल आक्रमण गरिरहेको जोशीले बताए। नेपाली पनि रुसी सेनाका तर्फबाट बाखमुटमा लडिरहेको उनी बताउँछन्। रुसी सेनाले नेपाली युवालाई बाखमुटलगायतका जोखिमपूर्ण क्षेत्रमा पठाउने गरेको जोशीले बताए। उनले भने, ‘साथीहरू आँखैअगाडि ढल्न थाले। परिवारसँग पनि फोन सम्पर्कबाट टाढा राख्न थालियो। हामी त निकै आत्तियौँ। अनि ज्यान जोगाउन भागेका हौँ।’
जाशीका अनुसार युक्रेनको बाखमुट नियन्त्रणमा राख्न ठूलो संख्यामा रूसी फौज केन्द्रित छ। त्यहाँ रुसी सेनाका ११ वटा युद्ध ब्यारेक छन्। हरेक ब्यारेकमा १० देखि १५ जना नेपाली रहेको उनी बताउँछन्। ‘उनीहरू निकै असुरक्षित छन्। भाग्ने दाउ हेरेर बसिरहेका छन्’, जोशीले भने।
बेरोजगार युवा मासिक तीन लाख रुपैयाँ कमाउने लोभमा रुसी सेनामा भर्ती भइरहेको उनले बताए। ‘रुसी सेनामा भर्ती भएका युवा ड्रोन प्रहारबाट घाइते भइरहेका छन। युक्रेनी सेनाको मिसाइल लागेर ढलेका र घाइते सैनिक धेरै छन्’, उनले भने, ‘आक्रमणमा सबैभन्दा पहिलो घेरामा खटिएका विदेशी ढल्छन्। रुसी सेनाले नेपाली, पाकिस्तान र अफगानिस्तानका युवालाई अग्रपंक्तिमा खटाइएको हुन्छ।’
जोशी आफूले साढे दुई महिना रुसी सेनामा काम गरेको बताउँछन्। उनी भन्छन्, ‘बाखमुटमा मात्र २०-२५ जना नेपाली मरेको खबर रुसी सैनिकबाट सुनेको थिएँ।’ बाखमुटमा भएका विभिन्न आक्रमणमा ७० जनाभन्दा बढी नेपाली घाइते भएको युद्धमा घाइते ओसार्ने एम्बुलेन्सका चालकले सुनाएको जानकारी जोशीले दिए। उनका अनुसार ती चालक भारतीय मूलका हुन्।
जोशीसँगै भागेका गुरुङका अनुसार रुसी सेनामा भर्ती भएका नेपाली बाखमुटमा खटिने क्रम बढ्दो छ। उनले आफूहरू भागेकै दिन ९० जना नेपाली युवा बाखमुटमा पुगेको बताए। ती नेपाली रुसी सेनाका विभिन्न ब्यारेकमा छरिएर रहेको जानकारी उनले दिए।
गुरुङले विमानस्थलमा चेकिङका क्रममा आफूहरूले पासपोर्ट र मोबाइल नियन्त्रणमा लिएको बताए। उनले भने, ‘कागजपत्र नभएपछि भागेर आउन धेरै कठिन भयो।’
आफूलाई रुसी सेनाले १९ दिन तालिम दिएर सीधै युद्धस्थलमा पुर्याएको उनले बताए। तालिममा हतियार प्रयोगबारे पनि सिकाएको उनको भनाइ छ। लडाइँका ‘ट्याक्टिकल पोजिसन’ सिकाएर युद्धमा खटिएको गुरुङले बताए। रुसी सेनाले तालिमका क्रममा भिडियो पनि देखाउँछ। गुरुङले भने, ‘रुसी सेनाले आफ्नो क्षतिका बारेमा भने केही देखाएन तर युद्ध जितेका दृश्य मात्र देखायो।’ रुसी सेना नेपालमा पनि छन् भनेर डर देखाउने गरेको गुरुङले जानकारी दिए। ‘हामी नेपाली यूएईबाट हिँड्दा ११ जना थियौँ, मस्को पुग्दा ३० जना भइसकेका थियौँ। छनोट केन्द्रमा जाँदा त सबै नेपाली’, उनले भने।
रुस जाने अधिकांश यूएईमा काम छाडेर धेरै कमाइ हुने आसमा अबैध बाटो हुँदै त्यहाँ गेको बताउँछन्। उनीहरूका अनुसार नेपालबाहेक भारत, अफगानिस्तान, पाकिस्तान, सुडान, कंगोलगायत देशबाट ठूलो संख्यामा रूस पुगेका युवा सेनामा भर्ना भइरहेका छन्। गरुङले युक्रेनी भूमि कब्जा गर्न आक्रमण सुरु गरेदेखि ज्यान गुमाउने, घाइते हुने र जागिर छोड्ने रूसी सेनाको संख्या धेरै रहेको बताए। रुसी युवा त्यहाँको सेनामा भर्ती हुनुपर्छ भनेर देश छाडेर भाग्ने थालेको उनको भनाइ छ।
उनले भने, ‘युक्रेनी सेनाले आक्रमण गर्दा धेरै नेपाली मर्ने गरेका छन्। पहिलो घेरामा हिँडेका नेपालीहरू एम्बुस, लुकेर गरेको आक्रमण र रकेट आक्रमणमा परी मर्छन्।’ नेपाली सबैभन्दा बढी एम्बुुस र ड्रोन आक्रमणमा पर्ने गरेको उनको भनाइ छ। रूसले बढ्दो सैनिक माग धान्न विदेशी नागरिकलाई पनि भर्ती हुन आह्वान गरेको थियो। यसरी भर्ती भएका विदेशीहरू नै युद्धमा मारिने गरेको उनीहरू बताउँछन्।
रोजगारी अभावमा नेपाली युवा भने द्विपक्षीय सम्झौता नभएका युक्रेन, रोमानिया, फ्रान्स, रूसलगायत देशका सेनामा भर्ती भएर काम गरिरहेका छन्। यसबाहेक युद्धग्रस्त क्षेत्रमा खटिएका धनी देशका सेनाले अवकाशप्राप्त नेपाली सैनिक र युवालाई पनि सैन्य गतिविधिमा प्रयोग गर्दै आएका छन्।
सैनिक अभाव पूर्ति गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कानुन संशोधन गरेर एक वर्ष काम गरे रुसी नागरिक भएर परिवारका साथ रूसमै बस्ने सुविधा दिइने घोषणा गरेका थिए। यसअघि सेनामा भर्ती हुन तोकिएको उमेरको सीमा २५ वर्षबाट बढाएर ४५ वर्ष पुर्याएको छ।
रोजगारीका लागि जतिसुकै जोखिमपूर्ण क्षेत्रमा पनि सुरक्षाकर्मी भएर काम गर्न तयार हुने प्रवृत्तिका कारण नेपाली युवाले एकपछि अर्को जोखिम मोल्दै आएका छन्। रुस-युक्रेन युद्ध सुरु भएपछि नेपालीको आकर्षण रुसी सेनामा परेको हो। रुस युक्रेन युद्धमा अहिलेसम्म १३ जना नेपालीले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। उनीहरूको शव ल्याउन सकिएको छैन भने पीडित परिवारले क्षतिपूर्ति पनि पाएका छैनन्।