
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओबिईसहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएकाले यसका लागि दुवै देशबीच पारस्परिक सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
उनले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएको बताउँदै पूर्व ब्रिटिस गोर्खाका गुनासा सम्बोधन गर्न कूटनीतिक तहमा भइरहेको छलफलमा संयुक्त अधिराज्य बेलायतले उदारता र सदभावबाट चाँडे टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने बताए।
वार्डलोले प्रतिवेदन पेश गर्दै गोर्खाली सेनाको व्यावसायिकता, समर्पण र क्षमतालाई बेलायतले मात्र नभएर संसारले नै सम्मान र प्रशंसा गरेको उल्लेख गर्दै बेलायती गोर्खाहरू यो संसार जबसम्म रहनेछ तबसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको एउटा उत्कृष्ट राजदूतका रूपमा काम गरिरहने विश्वास व्यक्त गरे।
प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा ब्रिगेड अफ गोर्खाजले विश्वलाई सुरक्षित स्थान बनाउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा अन्तरराष्ट्रिय अनिश्चितताका बाबजुद पनि गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम रहेको उल्लेख छ। कार्यक्रममा बेलायती राजदूत रोब फेनको पनि उपस्थिति रहेको थियो।