इटहरी- इटहरीमा १ करोड ३० लाख ठगी गरेको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१० का प्रदीपकुमार चौधरी र मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बस्ने अन्जु चौधरी रहेका छन्।
प्रदीपलाई प्रहरीले यसअघि नै पक्राउ गरेको हो भने अञ्जुलाई बुधबार साँझ पक्राउ गरिएको हो। उनीहरूले विराटनगर महानगरपालिका-१ बस्ने कमल राजवंशीसहित ३९ जना पीडितमार्फत १ करोड ३० लाख १ हजार ठगी गरेको खुलेको डीएसपी कार्कीले बताए।
‘प्रधानमन्त्री आफ्नै मान्छे हुन्, प्रहरीको आईजीपीलाई पैसा बुझाएको छु, यूएनमा समेत मान्छे छन्’ भनेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
‘यूएन प्रोजेक्ट लगायतमा जागिर खान मन छ भने हामी तपाईँहरूले भनेजस्तै जागिर लगाइदिन्छौँ भनेर झुक्याएर रकम ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी कार्कीले भने, ‘पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।’
उनका अनुसार उनीहरूले लोकसेवा आयोगदेखि, आर्मी, पुलिस हुँदै एनजीओसम्ममा जागिर लगाइदिने भन्दै पैसा लिएका हुन्। पीडितहरूले ३ लाख देखि माथि १५ लाखसम्म दिएको खुलेको छ।
बढीजसो सुनसरी र मोरङका पीडित छन् भने अन्य जिल्लाबाट पनि पीडितको संख्या आएको डीएसपी कार्कीले जानकारी दिए। दुवैजनाविरुद्व सुनसरी जिल्ला अदालतबाट ठगी शीर्षकमा बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।