उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १० माघ २०८० १५:४९
12
SHARES
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बुधबार विशेष अदालतमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायव महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार महाप्रबन्धक पौडेलले भेराइवल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिद गर्दा खरिद ऐन विपरित खरिद गरी भुक्तानी तिरेको अनुसन्धानबाट खुलेको छ।

आयोगका अनुसार भिएफडी खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको, सामान खरिद पश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको आयोगको अनुसन्धानले देखाएको छ।

सञ्चालनमै नरहेको १६०– किलोवाट भिएफडी प्यानेल (पार्ट–१) को २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ ६० पैसा बराबरको भुक्तानी दिन लगाएर उद्योगलाई गैरकानुनी हानि पुर्‍याएको भन्दै पौडेल लगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (ड) को उपदफा (१) र दफा ८ उपदफा (१) को देहाय (क) र (च) बमोजिमको कसुरमा बिगो बराबरको जरिवाना कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगोसमेत असुल उपर गर्न अदालतसमक्ष माग गरेको छ। उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजायसम्बन्धी व्यवस्था) अन्तर्गत ऐनको दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ।

प्रकाशित: १० माघ २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast