भैरव अर्यालको ८७ औं जन्मजयन्तीका अवसरमा पुरस्कार वितरण

हिमाल प्रेस ९ पुष २०७९ १८:४६ | Saturday, December 24, 2022
भैरव अर्यालको ८७ औं जन्मजयन्तीका अवसरमा पुरस्कार वितरण

काठमाडौँ– नेपाली हास्य व्यंग्य साहित्यका स्रस्टा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार शनिबार वितरण गरिएको छ। अर्यालको ८७ औं जन्मजयन्तीको अवसरमा भैरव पुरस्कार गुठीले काठमाडौँमा आयोजित कार्यक्रममा गुठीका अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले पुरस्कार वितरण गरेका हुन्।

जसमा ०७९ सालको भैरव पुरस्कार वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको गुठीले जानकारी दिएको छ।

१ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वांमय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिएको छ। यस्तै ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ।

उक्त कार्यक्रममा साहित्यकार विजय चालिसे, प्राध्यापक डाक्टर सुषमा आचार्य, गोविन्द घिमिरे, वसन्त रिजाल, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाललगायतले अर्यालको साहित्यिक योगदानको चर्चा गरे।

वासुदेव लुइँटेलको साहित्यिक योगदानबारे डाक्टर मुकेश चालिसेले प्रकाश पारे भने साहित्यकार विश्वम्भर चञ्चलको योगदानबारे डाक्टर ध्रुव घिमिरेले र कलाकार रामचन्द्र अधिकारीको योगदानका विषयमा नायक कृष्ण मल्लले जानकारी गराए। पुरस्कृत स्रष्टाहरू विश्वम्भर चञ्चल र रामचन्द्र अधिकारीले भैरव अर्यालको नाम जोडिएको पुरस्कार पाउनु गर्वको विषय भएको बताए।

कार्यक्रममा भैरव अर्यालका कविताहरू एकीकृत गरी तयार गरी प्रकाशित गरिएको कृति ‘भैरव कवितावली’ पनि सार्वजनिक गरिएको छ। पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोखरेल र व्यंग्यकार नरनाथ लुइँटेल सदस्य रहेको समिति बनाएको थियो।

प्रकाशित: ९ पुष २०७९ १८:४६ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast