गोकुल पोखरेललाई मानवअधिकारकर्मीहरू असल, मिलनसार, भद्र र मानवअधिकारका लागि प्रतिबद्ध व्यक्तिका रूपमा चिन्छन्। लामो समय नेपाल प्रेस इन्स्टिच्युटको नेतृत्वमा रहेका पोखरेलले व्यावहारिक पत्रकारिताका सिकाएका पत्रकार धेरै छन्। त्यसैले पत्रकारहरू उनको नाम सुन्दा श्रद्धावनत हुन्छन्।
नेपालको मानवअधिकार र पत्रकारिता क्षेत्रमा विशिष्ट पहिचान बनाएका पोखरेलको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ। पोखरेलको निधनबाट नेपाली पत्रकारिता र मानवअधिकारका क्षेत्रले एउटा नक्षत्र गुमाएको छ।
मैले भने एक अभिभावक र पथप्रदर्शक गुमाएको छु। १० वर्षसम्म सँगै बस्दा मैले उहाँलाई नजिकबाट चिन्न त पाएँ नै उहाँका असल कार्यहरूको साक्षी बनेँ। मैले उहाँलाई चिनेदेखि नै बुबा भनेर सम्बोधन गर्न थालेको हुँ।
कुरा २०६६ सालको हो। म प्रवेशिका सकेर उच्च शिक्षा अध्ययनको तयारीमा थिएँ। त्यसैबेलादेखि हो म पोखरेल परिवारसँग जोडिन पुगेको। उहाँको घर गएको हप्ता दिन नबित्दै क्याम्पस भर्ना भएँ। मलाई पोखरेल बुबाले चाबहिलस्थित पशुपति क्याम्पसमा कक्षा ११ मा भर्ना गराइदिनुभएको थियो। बिहानको समयमा उहाँले हिँडाउँदै र ठाउँ चिनाउँदै क्याम्पसमा पुर्याउनुभएको थियो। उहाँसँगै रहेर मैले स्नातकाेत्तर तहसम्म अध्ययन पूरा गरेँ। उहाँको परिवारसँग बिताएका हरेक क्षण मेरा लागि निकै महत्त्वपूर्ण छन्।
गोकुल पोखरेलका पिताको नाम पण्डित छविलाल पोखरेल हो। छविलाल पूर्वी नेपालमा कहलिएका विद्वान् हुनुहुन्थ्यो। पूर्वीय दर्शनका ज्ञाता र समाज सुधारक छविलालका पुत्र गोकुलमा सानैदेखि पढाइलेखाइ रुचि रहेको कुरा उहाँ आफैँ सुनाउनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘हेर रमेश! म पनि धेरै मेहनत गरेर यहाँसम्म आइपुगेको हुँ। जीवनमा सुख पाउन धेरै दुःख गर्नुपर्छ।’ उहाँ आफ्नो परिश्रम र क्षमतामा विश्वास गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘मैले जीवनमा जहाँजहाँ जागिर खाएँ त्यहाँ खुला प्रतिस्पर्धाबाट छानिएर गएको हुँ। कसैलाई भनसुन गरिनँ।’ यसबाट उहाँ सानैदेखि मेधावी हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ।
पोखरेलले नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक महासचिव, पूर्वअध्यक्ष, राष्ट्रिय समाचार समितिको रिपोर्टर, कायममुकायम महाप्रबन्धक, गोरखापत्रको प्रधानसम्पादक, मुना (बालपत्रिका) मासिक, द राइजिङ नेपालको सम्पादक, आर्य समाजको अध्यक्ष जस्ता विभिन्न भूमिकामा रहेर देशको सेवा गर्नुभएको छ। साथै उहाँ राष्ट्रिय मानव अधिकार आयोगको सदस्य हुनुभएको थियो।
नेपालको मानवअधिकार क्षेत्र तथा पत्रकारिता मात्र होइन पत्रकारिता प्राध्यापन र प्रशिक्षणमा उहाँको सहभागिता लामो समयसम्म रह्यो। पोखरेलले पत्रकारिताका विद्यार्थीको शोध निर्देशनदेखि विश्वविद्यालयका पाठ्यक्रम निर्माण गर्नुभएको छ।
पोखरेलको व्यक्तित्व जति विशिष्ट थियो त्यति नै उहाँको व्यवहार शालीन र सहयोगी देखिन्थ्यो। उहाँ बिहान सधैँ योगाभ्यास गर्नुहुन्थ्यो। रेडियो सुन्नुहुन्थ्यो। पत्रपत्रिका पढ्नुहुन्थ्यो। तरकारी किन्न जानुहुन्थ्यो। अरूले किनेका तरकारी र फलफूल उहाँलाई चित्त बुझ्थेन। तरकारी पकाउनमा उहाँको रुचि हुन्थ्यो। कहिलेकाहीँ यो यसरी पकाउने भनेर अरूलाई पनि सिकाउनुहुन्थ्यो। उहाँले कोहीकसैलाई रुखो व्यवहार गरेको देखिएन।
फोक्सो र मुटु रोगबाट ग्रसित भएकाले पोखरेल खाना खानुअगाडि र पछाडि धेरै किसिमका औषधी सेवन गर्नुहुन्थ्यो। शुद्ध शाकाहारी उहाँ सामान्य खाना रुचाउनुहुन्थ्यो। पत्रकारिताको विश्वविद्यालय हुनुहुन्थ्यो। उहाँले अखबारमा लेख लेख्नुहुन्थ्यो। उहाँका रचनाहरू मैले टाइप गरेर पत्रपत्रिकामा पठाउन सहयोग गरिदिन्थेँ। सरल भाषामा गहिरो कुरा लेख्ने उहाँमा विशेष क्षमता थियो। उहाँ जतिखेर पनि बैठककोठामा बसेर पढिरहनुहुन्थ्यो।
म क्याम्पसमा पढेका कुरा उहाँलाई सुनाउँथेँ। मेरो कुरा सुनेर यो यस्तो हो भनेर बुझाउनुहुन्थ्यो। पत्रकारिता गर्ने हो भने लेखिरहनुपर्छ। धेरै पढ्नुपर्छ। अंग्रेजी, नेपाली भाषा जान्नुपर्छ भन्नुहुन्थ्यो उहाँले। उहाँ बेलुका सधैँ द राइजिङ नेपालको एक कोलम समाचार पढ्न र अर्थ लगाउन लगाउन भन्नुहुन्थ्यो। मैले नजानेका कुरा सिकाइदिनुहुन्थ्यो। नेपाली पत्रकारिता क्षेत्रमा भित्रिरहेको विकृतिप्रति उहाँको निकै चिन्ता थियो। पत्रकारले समाचारको गहिराइ नबुझेकोमा पनि उहाँको असन्तुष्टि हुन्थ्यो। पत्रकारहरूले अंग्रेजी नजानेर दुःख पाएका घटना पनि बेलाबखत सुनाउनुहुन्थ्यो। मलाई पत्रकारितामा लाग्ने प्रेरणा उहाँसँगैको संसर्गबाट प्राप्त भएको हो।
केही वर्षअगाडि मात्र म उहाँहरूबाट अलग भएँ। मामी (गोकुलकी श्रीमती रञ्जना पोखरेल) सँग पटकपटक फोनमा कुराकानी हुन्थ्यो। पोखरेल बुबासँग पनि। मामीलाई गत आइतबार बेलुकी म दीक्षित भएको तस्बिर पठाएको थिएँ। उहाँले बधाई दिँदै खुसी व्यक्त गर्नुभएको थियो।
कोरोनाकालमा पोखरेललाई काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। त्यतिबेलैदेखि उहाँ कमजोर हुनुहुन्थ्यो। रगत जमेर हात काला भएका थिए। मंगलबार पनि मामीसँग फेसबुक म्यासेन्जरमा कुराकानी भएको थियो। उहाँहरूलाई आरामै भएको आकलन मेरो थियो। तर सोमबार साँझ गोकुल बुवाले संसार छाड्नुभएको खबर म स्तब्ध भएँ।
पोखरेलले मलाई धेरै माया गर्नुहुन्थ्यो। आज त्यो माया अभाव भएको महसुस गरिरहेको छु। मिठो बोलीवचनका धनी उहाँले मलाई जहिल्यै पनि इमानदार भएर असल मार्गमा लाग्न सम्झाउनुहुन्थ्यो। उहाँले सिकाएका र सम्झाएका असल कुरा मैले भुलेको छैन। उहाँबाट प्रशिक्षित पत्रकारहरूका लागि पनि गोकुल पोखरेल स्मरणीय रहनुहुनेछ। मलाई माया र सहयोग गर्ने आदरणीय व्यक्तित्व संसारबाट बिदा हुँदा स्तब्ध छु। हार्दिक श्रद्धाञ्जली गोकुल बुबा!