नियात्रा

जहाँ थुम्काथुम्कामा देवीको वास छ

राजाराम बर्तौला ३० मंसिर २०८० १४:२७
192
SHARES
जहाँ थुम्काथुम्कामा देवीको वास छ

मंसिरको अन्ततिर कठ्याङ्ग्रिने गरी चिसो बढ्दै थियो। बिहान पाँचै बजे उठेर यात्राका लागि तयार हुँदासम्म ६ बजिसकेको थियो। ७ बजे भृकुटीमण्डपबाट बस छुट्छ। कसैगरी बसले छोडेर गयो भने शनिबारे पदयात्राको कार्यक्रम त्यसै खेर जाने थियो। हतारहतार गरेर भृकुटीमण्डप पुग्दा बस छुट्न ठिक्क परेको थियो।

बिहानको पारिलो घामले फाँटमा परेका शीतका थोपाहरू ओभाएका पनि थिएनन्। पाखामा परेको पारिलो घामसँगै मानिसको दैनिकी सुरु हुँदै थियो। माल्पीफाँटबाट उकालो लाग्दै गर्दा बिहानको घाममा नुहाएर सर्वाङ्ग गाउँ पखेटा फिँजाएर तन्किँदै थियो। बारीका कान्ला, करेसाबारी र घरका आँगनको किनारमा सुन्तलाका बोटहरूले पहेँलपुर रङ्गिएका थिए। लालुपाते र अरू फूलहरूले बढाएको शोभाको त कुरा गरीसाध्ये छैन। पूर्व फर्किएर बसेकी, शृङ्गारले सजिएर गमक्क गम्किएर बसेकी माल्पी सौन्दर्यकी पर्याय हो।

गाउँको गोरेटो बाटोमा मानिसको हुल अल्मुनियमको झिल्के लौरो टेकेर र काँधमा झोला भिरेर हिँडेको देखेपछि ससाना नानीहरूको मात्र के कुरा बनियाँबुतो गर्ने महिला तथा पुरुषहरू पनि आकर्षित नहुने कुरै छैन। एउटा कौतूहलता, जिज्ञासा स्वतः वाणीमा निस्कने रहेछ, ‘यी मानिसहरू किन गाउँ चहार्दैछन्।’

नेपालीको परिचय गर्ने गजबको चलन छ। प्रथम भेटमा नै सोधिहाल्छन्, ‘कताका हौ? के थरी हौ? कता जान हिँडेका हौ? स्थानीयको यस्तै जबाफ दिँंदै थिएँ एकजनाले सोधि त हाले, काठमाडाँैमा घर होला नि? यो प्रश्न जटिल लाग्यो मलाई। बस्ने घर त थियो नै, छैन कसरी भनौँ। तर घर केलाई भन्ने भन्ने द्विविधामा परेँ। यहाँ देखिएको परिवेशमा ठडिएका घरहरूको परिभाषाभित्र मेरो घर पर्दैन थियो। भन्न त भने, ‘बस्नेसम्मको जोहो छ।’ तर मनमा त्यसले पनि सन्तोष दिन सकेको लागेन।

घरमा टहटह घाम लाग्दैन। करेसाबारी पनि छैन। आँगनमा तुलसीको बोट छैन। सुन्तला, भोगटे, नासपातीको बोटहरू त झन् छँदै छैन। बरीका कान्ला, गोरेटो बाटोेको किनारा, भित्ता र डगरमा लालुपाते सजिएको पनि छैन। सहर हो, घरछेउमा गोठ र खोरको कुरा छोडिदिऊँ रे। बिरालो कुकुर खेल्ने ठाउँ पनि बिर्सिदिऊँ। केटाकेटीहरू खेल्ने ठाउँसम्म पनि छैन। मध्याह्नमा घाम छिरि नै हाल्यो भने पनि झुलुक्क मुख देखाएर विलुप्त हुन्छ। यस्तो ठाउँलाई मैले घर छ भनेर भन्नुपरेको छ। जहाँ हावाले बयली खेल्दैन। सूर्यले मुख देखाउन हम्मे पर्दछ। बिहान धुम्म परेर उठ्छ र साँझ गजधम्म परेर दिनबास बस्छ। यस्तो ठाउँमा घर छ भनेर के भन्नु र खै।

हिँड्दै जाँदा सल्लोको सुसेलीमा आफ्नो सासको सुस्केरा थप्दै डाँडामा पुगियो। त्रिदेवीको दर्शन पाइयो। दक्षिणकाली, मनकामना र फूलचोकीलाई एउटै मन्दिरमा लहरै राखिएको रहेछ। देवी भन्नाले शक्तिका अधिष्ठात्री हुन्। शक्तिका अधिष्ठात्री सङ्कुचित भएर सानो सीमित घेरामा बस्न नचाहने भएर होला देवीहरू खुला आकाशमुनि बस्न रुचाउँछन्। यहाँ पनि त्यसैगरी खुला आकाशमुनि नै थिए। शक्तिका अधिष्ठात्रीहरू पहाडका थुम्काथुम्कामा बस्छन्। नेपालीहरूको आस्थामा बस्छन् पहाड जत्तिकै दृढ र अटल भएर। यिनै देवीहरूको आशीर्वाद थापेर हामीहरू अघि लाग्यौँ।

हिँड्दै-हिँड्दै भालेश्वर मन्दिर पुग्यौँ। यहाँबाट फेरि उकालो चढ्नुपर्दछ। मन्दिरको प्राङ्गणमा नटेकी उकालो लाग्ने बाटो छैन। पदयात्रामा बङ्गलादेशका दुई मुसलमान बन्धु पनि थिए। धर्ममा अलि कट्टर नै रहेछन्। केहीबेर के गर्ने के नगर्ने भन्ने अन्यमनस्क भावमा उभिरहे। मन्दिरको बाहिरी किनाराबाट उकालो लाग्ने बाटो देखाई दिएपछि सहज भएर अघि बढे। यो दृश्य हेरिरहेकी एउटा सहयात्री बहिनी शास्त्रास्त्रमा लागिहालिन्।

उनीहरू भन्दै थिए, ‘वी बिलिभ इन फर्मलेस गड।’ दुईबीचको शास्त्रीय तर्कहरू सुन्दै गर्दा ती बहिनीलाई वार्ता अगाडि नबढाउन भन्ने संकेत गरेपछि उनीहरूको वार्ता सकियो। भालेश्वरमा भगवान् शिवको ताण्डव देख्न परेन। यसैमा सन्तोष गरियो।

एउटाको तर्कशास्त्र सकिएको थिएन अर्को जोडीको दर्शन सुरु भएको साक्षी बस्न पुगेँ। यिनीहरूचाहिँ सत्यतथ्यको खोजी गर्दै थिए। एउटा भन्दै थियो- सत्य एउटै हुन्छ। अर्को भन्दै थियो- सत्यका पनि आयाम फरक हुन्छ। देखिएको सत्यसत्य नहुन पनि सक्छ। अर्को थप्दै थियो, तत्त्वलाई जति नै टुक्रामा विभक्त गरे पनि यसको गुण नास हुँदैन। सत्य त्यस्तै हो, अविनाशी। अहो वाद, तर्क, शास्त्र बढ्दै थियो, जसको कुनै अन्त थिएन। अनन्त लामो डोरीलाई तन्काएर लानुभन्दा यसलाई पदयात्राको रोमाञ्चकतामा परिवर्तन गर्नुपर्‍यो भनेर मैले थपे, ‘जसरी जीवनयात्राको उद्देश्यमा रहन्छ त्यसैगरी सत्यको खोजी पनि तथ्यपरकका साथै वस्तुपरक पनि हुनुपर्छ।

ल भन्नुहोस्, ‘हामीहरूको आजको सत्य के हो?’ उत्तर आयो, ‘पदयात्रा, हिँड्नु र हिँड्नु। उकालो अनि ओरालो।’ ‘जीवनको सार्थकता केमा छ? पदयात्रामा। अर्कोले परैबाट भन्यो, ‘चरैवेति।’ हो हो, समवेत स्वरमा गुन्जियो, ‘चरैवेति।’

ढुङ्गाले चिनेको घोडेटो पनि हैन, गोरेटो जस्तै पनि छैन र योभन्दा अझै नजिकको विश्लेषणवाचक नामदिने हो भने ‘बाख्रे चरिचरन’ को बाटो हुँदै ठाडो उकालो लागियो। यो नाङ्गो डाँडाको नाम हो ‘चिन्डे डाँडा।’ नाम सादृश्य छ यो ठाउँ। झारपातसमेत उजाडिएको चिन्डे भीर। चिन्डे भीरको पनि आफ्नै विशेषता छ। यो वरिपरि गाउँको पिकनिकस्थल हो। केटाकेटीहरूको क्रीडास्थल पनि। जसरी टाउकोको कपाल झरेपछि चिन्डे भइन्छ त्यसैगरी रुखबुट्यान नासेपछि चिन्डे डाँडा हुन्छ।

चिन्डे डाँडाको शिरबाट फेदी झरेपछि गोडखोला पुगिन्छ। गोडखोलासम्म पुग्दा देखिने पहाडी घरहरूको बनोट, खेतीकिसानीका लागि भिरालो माटोमा गह्रा बनाएर साना साना फोगटामा गरिएका खेती देखेर रमाइलो लाग्छ एकातिर भने कष्टकर जीवन देखेर नरमाइलो पनि लाग्छ। बाहिरबाट जति सहज देखिन्छ पहाडी ग्रामीण जीवनभित्रबाट त्यति नै कठिन र दुरुह छ। अहिले सडक सञ्जालले छोएको त देखिन्छ, तर अस्थायी सडक संरचना सर्वकालिक हुँदैनन्। तर पनि जसरी अप्ठ्यारोमा, ढुङ्गाको कापकापमा पनि फूल फुल्छ त्यसैगरी कठिन अवस्थामा पनि नेपालीहरू हाँस्न जान्दछन्। यस्तै अप्ठ्यारोहरूबीच बसेर पनि खुसी देखिन्छन् यहाँका मानिसहरू।

गोडखोलाको किनारमा भएको एउटा घरको भाइ बोरामा केही बन्द गर्दै थिए। के रहेछ भनेर हेरेको त आलु रहेछ। आलु उत्पादन यहाँको प्रमुख आम्दानीको स्रोत रहेछ। यो भाइले यो सिजनमा १० लाखको आलु बेच्ने लक्ष्य राखेको रहेछ।

गोडखोला तरेपछि नागीडाँडा पुग्न ठाडै उकालो लाग्नुपर्दछ। यो उकालो लाग्दै गर्दा धेरै घरहरूमा ताला लगाएर छोडिएको दख्यौँ। पहिला खेती गरिएका जग्गाहरू त्यसै खालीखाली छोडिएका र झार उम्रेर जङ्गलमा रूपान्तर हुँदै गएका पनि देख्यौँ। ढुङ्गाले बनाएका टिनले छाएको राम्रा घरहरू पनि त्यागिएका दखियो। यस्तो किन हुँदैछ? नेपालमा पहाड किन रित्तिँदैछ? मनमा एक किसिमको बेचैन कायम भयो। प्रश्न थियो तर उत्तर थिएन।

कुनैकुनै घरहरू भर्खरै त्यागिएका जस्ता देखिन्थे। स्कुसलगायत अन्य लहरे तरकारीहरू प्रशस्त फलेका छन्। पाकेर बोटैमा झर्ने अवस्थामा पुगेका छन्। तर त्यसलाई टिपेर व्यवस्थापन गर्ने कोही देखिएनन्। यी र यस्ता दृश्यहरू हेर्दै कैरा भन्ज्याङ पुग्यौँ। कैरा भन्ज्याङमा केही परिवार हाँसीखुसी बसेका पनि देख्यौँ। कैरा भन्ज्याङभन्दा माथि नागीडाँडा पुग्नुभन्दा केही तल बाहुन बस्ती रहेछ। बाटोमा भेटिएका एकजना वृद्ध सज्जन भन्दै थिए, ‘यहाँ दुःख त छ, तर पनि बाँच्ने आधार छ।’ सायद सानासाना खुसीहरूमा बाँच्न आदत परेका छन्। ठूलो सपना नभएपछि आँखामा संसार आफ्नै आँगनमा रमाउँछ सायद।

बिहान ९ बजेबाट माल्पीबाट सुरु गरेको पदयात्रा नागीडाँडा पुग्दा तीन बज्यो। नागीडाँडा काभ्रेको पनौती पश्चिम र कुशादेवीको दक्षिणस्थित २२०० मिटर अग्लो डाँडो हो। यहाँ दर्शनीय ऐतिहासिक वा सांस्कृतिक महत्त्वमा संरक्षित क्षेत्र वा वस्तु केही छैन। तर प्राकृतिक मनोरम दृश्यले पूर्ण छ। यहाँबाट उत्तरका हिमशृङ्खलाहरू देखिन्छ साथै कुशादेवी र पनौतीका पाखापखेराहरूको अवलम्बन गर्न सकिन्छ। यहाँ एउटा टावरको निर्माण अन्तिम चरमा पुग्दै छ।

कुशादेवीबाट कच्ची बाटो खनेर लगिएको छ। यो बाटो कुनै प्राविधिक अध्ययन गरेर भन्दा पनि डोजर विकासको अर्को नमुनाको रूपमा देखिन्छ। यो टावर निर्माण भएपछि यहाँबाट प्यारा ग्लाइडिङ गर्ने योजना देखिन्छ। तर भरपर्दो सडक पहुँचको अभावमा यो उद्देश्य प्राप्त गर्न अझै केही समय लाग्ने हुन सक्छ।

नागीडाँडाबाट चारैतिर अवलम्बन गरेर ठाडै ओरालो ओर्लियौँ कुशादेवी। कुशादेवीमा हलक्क बढेको ठुल्ठुला पात भएको रायोको साग किनेर बसमा हुइँकिँदै घर पुग्दा झमक्कै साँझ परेको थियो।

प्रकाशित: ३० मंसिर २०८० १४:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast