काठमाडौँ– बालबालिकालाई औधी मनपर्ने खेलौना हो पुतली (डल)। नेपाली बजारमा प्रायः कपडा र प्लास्टिकका डल पाइन्छन्। जापानमा भने यस्ता डल संस्कृति र लोककलासँग जोडिएको छ। सोही संस्कृति दर्शाउन बबरमहलस्थित नेपाल कला परिषद्मा विभिन्न पुतली प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीको नाम हो ‘निङ्यो : आर्ट एन्ड ब्युटी अफ जापानिज डल्स’। त्यस्ता पुतली कपडा, काठ र कागजको प्रयोग गरेर हातैले बनाएको पुतली।
निङ्यो शब्दको अर्थ मानिसको आकारका पुतली भन्ने हो। डलले खेलौनालाई मात्र बुझाएको छैन, जापानका विभिन्न संस्कारसँग डलको सम्बन्ध जोडिएको छ। सन्तान वृद्धिका लागि जापानीहरूले पुतलीलाई घरमा सजाउनैपर्ने संस्कार रहेको आयोजक टिमकी एक महिलाले जानकारी दिइन्। ‘छोरा/छोरीका लागि अलगअलग डल सजाइन्छन्,’ उनले भनिन्। प्रदर्शनीको एक कुनामा तहतह गरी डललगायतका सामग्री राखिएका छन्। मानिसको आकृतिसहित काठबाट बनाइएका ससाना घरायसी सामान पनि छन्।
नेपालीले छोरीको विवाहमा दाइजोस्वरूप दिइने सामग्रीजस्तै त्यहाँ रथ, खाट, दराज, फूललगायत विभिन्न गिफ्ट सजाइएको छ। यसले छोरी जन्मेको घरमा सजाइने सामानलाई संकेत गर्छ। जापानीहरूले सन्तानको भविष्यको कामना गर्दै पुतलीलाई एक महिनासम्म सजाएर राख्छन्।। छोराछोरीका लागि फरकफरक किसिमका पुतली सजाउँछन्।
सन्तान जन्मिएपछि जापानीहरूले घरमा अनिवार्य पुतलीहरु सजाउनुपर्ने संस्कार छ। ‘पुतली जापानको पुरातन संस्कृति हो’, नेपालस्थित जापानी दूतावासकी सांस्कृतिक सचिव सातो मायुकोले भनिन्, ‘पहिले जापानमा बालबालिकाको सुस्वास्थ्य र वृद्धिको कामनाका लागि पुतलीको प्रयोग गरिन्थ्यो। प्रविधिको विकासले पुतली कलाका रूपमा प्रयोग भइरहेको छ।’
जापानीहरू आफ्नो संस्कार, संस्कृति, लोककला र प्रेमको मूर्त रूपमा पुतलीको प्रयोग गर्नुका साथै घरमा सजाउँछन्। पुतलीलाई सांस्कृतिक महत्त्वका साथै प्रार्थना र प्रेमको प्रतीकका रूपमा लिइने सातोले बताइन्।
जापानमा पुतली संस्कृति बालबालिकालाई दुर्भाग्यबाट जोगाउन र उनीहरूको खुसीका लागि प्रार्थना गर्ने संस्कारबाट विकसित भएको मान्यता छ। समय परिवर्तनसँगै पुतलीहरू सुशोभित हुँदै गएका छन्। त्यसैले यो कलाका रूपमा जापानी संस्कृतिको अभिन्न अंग बनेको उनले बताइन्।
प्रदर्शनीमा जापान फाउन्डेसनले संकलन गरेको पुतली संस्कृतिको परिचानसहितका विश्वभर सम्मानित व्यक्ति, पुरातात्त्विक सम्पदा, जलवायु, मौसम, नृत्य, खेललाई प्रतिनिधित्व गर्ने करिब ७० प्रकारका पुतली छन्। प्रदर्शनीमा बालबालिकाको जीवनवृद्धिका लागि प्रार्थनाका रूपमा निङ्यो, ललितकलाका रूपमा निङ्यो, लोककलाका रूपमा निङ्यो र निङ्यो संस्कृतिको प्रसार गरी चार खण्ड छन्।
प्रदर्शनीमा पुतलीमार्फत जापानको पहिलो सम्राट् जिम्बुदेखि चिनियाँ देवता सोकी, जापानी लोककथाका नायक मोमोटारो, पेन्टर साँगा निङयो, सोजो परी, क्याटो भोजमा नाच्ने युवती माइको, रेस्लर सुमो, घोडा दौडमा जाँदै गरेका शाही परिवार, विभिन्न जापानी नृत्यको चित्रण गरिएको छ।
जापानी नोह नाटकका विभिन्न पात्र, जापानको उत्तरपूर्वमा काठबाट बनाइएका कोकेसी पुतलीहरू, जापानमा खेलिने खेल, बादलको आकृति र हिँउ पर्दाको अवस्था, बच्चाको सुरक्षाका लागि प्रयोग गरिने माटो, काठबाट बनाइएका टोकरी, प्लास्टिकबाट बनाइएका पुतली, दोधी धर्मका देवता, इडो १६०३–१८६८) को समयावधिमा महारानी र उनका सेवक, संगीतकार, गायक, वाद्यवादकलगायत जापानका विभिन्न संस्कृति प्रतिनिधित्व गर्ने पुतली हुन्।
‘प्रत्येक पुतलीको प्रतीकात्मक अर्थ र समृद्ध जापानी संस्कृति रहेको छ’, सचिव मायुकोले भनिन्। पुतलीमार्फत जापानको इतिहास र कलालाई नेपालीमार्फत पहिचान गराउन प्रदर्शनी राखिएको उनले बताइन्।
प्रदर्शनीमा पुतली संस्कृतिको उत्पत्तिदेखि सर्वसाधारणले दैनिक उपभोग्य वस्तुबाट बनाइएका रंगीन आकृति र विविध स्वरूपले जापानका लोकसंस्कृति र संस्कार झल्काएको छ।
सत्रौँ शताब्दीदेखि जापानमा पुतली संस्कृति फैलिएको प्रदर्शनीसँग सम्बन्धित जर्नलमा उल्लेख छ। तत्कालीन समयमा जापानीहरूले खेतीपातीबाट फर्केपछि राति विश्रामका बेला केही समय निकालेर पुतली बनाउँथे। यस्तो परम्परा संस्कृतिका रूपमा स्थापित भएको छ। त्यसलाई अहिले लोककलाको संज्ञा दिइएको छ।
‘हाम्रो उद्देश्य जापानी संस्कृति र भाषालाई नेपालमा फैलाउनु हो’, सातोले भनिन्। जापानमा पुतली संस्कृतिको महत्त्व र जापानी जनतामा यसको महत्त्व दर्शाउन प्रदर्शनी राखिएको मायुकोले बताइन्।
नेपालमा पहिलोपटक जापानी पुतली संस्कृतिको प्रदर्शनी भएको नेपालस्थित जापानी दूतावास सांस्कृतिक विभागका प्रमुख ईश्वरीप्रसाद भट्टले बताए। नेपालीमा जापानी संस्कृतिको परिचय र प्रवद्र्वन गर्ने उद्देश्यसहित पुतली संस्कृतिको परीक्षण गर्न प्रदर्शनीको आयोजना गरिएको हो।
मंसिर २० गतेदेखि सुरु भएको प्रदर्शनी पुस ४ सम्म चल्नेछ। बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म खुला रहने प्रदर्शनीमा प्रवेश निःशुल्क छ। प्रदर्शनी जापान फाउन्डेसन र जापानका लागि नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको हो।