‘ओली र बस्नेतले पठाएको भन्दै जबरजस्ती गर्न खोजे’

हिमाल प्रेस ६ मंसिर २०८० १६:३१
1.8k
SHARES
‘ओली र बस्नेतले पठाएको भन्दै जबरजस्ती गर्न खोजे’ भक्तपुरको इन्द्रसान पार्टी प्यालेसमा बुधबार राति बसेका महिला लखेटिएपछि उद्धार गरिँदै।

काठमाडौँ- मोरङ केराबारीकी प्रमिला शाही दुर्गा प्रसाईको समर्थनमा आन्दोलन गर्न बुधबार साँझ भक्तपुर लोकन्थलीको इन्द्रसान पार्टी प्यालेसमा आइपुगेकी थिइन्। शाहीसहित मोरङबाट अन्य ३५ महिला पनि साथमा आएका छन्। मंसिर ७ गतेको प्रदर्शनमा आएकी शाहीसहित केही महिला मंगलबार राति बसेको स्थानबाट लेखेटिए।

राति १० बजे युवा संघका कार्यकर्ताले आफूहरू बसेको ठाउँमा प्रवेश गरेर लखेटेको शाहीको आरोप छ।

‘राति १० बजे हामी सबै सुतेका थियौँ। बाहिरबाट ढोका खाल्नु भनेर कसैले बोलायो। हामीले आफ्नै साथी होला भनेर ढोका खोल्यौँ। ढोका खोल्नेबित्तिकै १५ जना पुरुष प्रवेश गरे। अनि मनपरी बोल्न थाले। कोही सुतेको महिलाको भिडियो खिच्दै मनपरीसमेत बोले’, उनले भनिन्, ‘पछाडिबाट एक जनाले केपी ओली र महेश बस्नेतले दुर्गा प्रसाईका चेलीलाई बलात्कार गर्न पठाएको भन्दै धम्कायो। हामी चुप बस्यौँ। उक्त पार्टी प्यालेसमा रहेका पुरुष साथीलाई भने उनीहरूले कुटपिट गरेका थिए।’

शाहीसँगै रहेकी गीता तामाङलाई पनि युवा संघ कार्यकर्ताबाट लेखेटिइन्। युवा संघका कार्यकर्ता लुगा पनि राम्रोसँग लगाउन नदिएको उनको आरोप छ। तामाङले भनिन्, ‘छोरी मान्छे मात्र बसेको कोठामा केटा प्रवेश गरेर छिटो लुगा लगाओ। नत्र जे पनि हुन सक्ने भनेर धम्क्याए।’

शाही र तामाङजस्तै कमला रुसाल पनि मध्यरातमा भाग्नुपरेको गुनासो गर्छिन्। १५ जनाको हुलमा आएका पुरुषले आफूलाई जबर्जस्ती गर्न खोजेको उनको आरोप छ। ‘म छेउमा सुतेकी थिएँ। एक जनाले छिटो उठ नत्र अहिले तेरो काम पुर्‍याउँछु भनेर डर देखाए।’ खेदाउन आएका सबै पुरुष मापसेको नशामा रहेको उनीहरूको भनाइ छ।

‘उनीहरूलाई महिलासँग कसरी बोल्नुपर्छ भनेर पनि थाहा थिएन। मनपरी बोले। कतिले यस्तोसम्म बोले कि भन्न पनि लाज लाग्छ’, तामाङले भनिन्, ‘प्रसाईभन्दा हामी युवा छौँ। किन त्यसको पछि लागेको हौँ। युवा छाडेर बुढासँग हिँड्ने पनि भने। यहाँबाट नभागे तिमीहरूमाथि जे पनि हुनसक्छ भनेर पटकपटक धम्की दिए।’

दुर्गा प्रसाईंका दाजु राकेशका अनुसार महिला लखेटिएको सूचना आएपछि तत्कालै गाडी पठाएर उद्धार गरिएको थियो। उनीहरूलाई पशुपति धर्मशालामा लगेर राखिएको उनले बताए। घटनामा संलग्नहरूलाई कारबाही गर्नुपर्ने उनको माग छ। सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको प्रसाईको सचिवालयले जनाएको छ।

युवा संघले भने प्रसाईका समर्थकमाथि आक्रमण गरेको आरोपको खण्डन गरेको छ। संघका प्रवक्ता निरज पौडेलले युवा संघले त्यसरी कतै पनि आक्रमण नगरेको बताए। उनले भने, ‘हाम्रो तर्फबाट कसैलाई आक्रमण गरिएको छ। आक्रमण गर्ने नीति पनि छैन।’

प्रकाशित: ६ मंसिर २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =