म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ स्थित ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ।
प्रभुचेला धुरी प्रवर्द्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए।
‘जंगलको बीचमा रहेको समथर प्रभुचेलाको धार्मिक महत्त्व नभुझेर यहाँ पहिले हामीले गोठ राख्ने गरेका थियौँ’,उनले भने,‘परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको दुई वर्षअघिको अध्ययनबाट तथ्य पहिचान भएपछि संरक्षण, प्रवर्द्धन र पूर्वाधार निर्माणमा जुटेका छौँ।’
समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ। ऋषिमुनि तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ। यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाँ सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ। कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ।
प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो। बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुिन आउने गर्दथे। स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० सालदेखि ७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए।
कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन्। प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो।
मालिका गाउँपालिकाको पाँच लाख रुपैयाँ बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाएका छन्।
आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ। रासस