काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले भदौ २३ गते प्रधानमन्त्री बालेन शाहले सहिदका नाममा सम्बोधन गर्नुपर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा भएको बलिदान र त्यसपछि बनेको सरकारसँग आन्दोलनका मागबारे जबाफ मागिन्।
उनले भनिन्,‘भदौ २३ को बलिदानबाट बनेको यस सरकारसँग जबाफ माग्न चाहन्छु कि त्यस दिन प्रधानमन्त्रीज्यूले देशव्यापी रूपमा सहिदका नाममा सम्बोधन गर्नैपर्छ।’
भदौ २३ गते जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदैछ। उक्त आन्दोलनमा युवाले भ्रष्टाचार अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि बलिदान दिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीबाट सहिदका नाममा सम्बोधन हुनुपर्ने बताइन्।
‘यस आन्दोलनबाट युवाले भ्रष्टाचार अन्त्य, सुशासन, सुरक्षित भविष्यका लागि बलिदान दिएका थिए। प्रधानमन्त्रीज्यूले यस दिन देशमा सहिदका नाममा सम्बोधन गर्नुहुन्छ भन्ने पूर्ण माग र आशा राखेको छु,’ उनले भनिन्।
आन्दोलनका क्रममा उठाइएका मागमध्ये कति पूरा भए भन्ने विषयमा सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ छ।
‘यो सम्बोधनमा देशले जान्नुपर्छ, सहिद र घाइतेका कति माग पूरा भए र कति बाँकी छ। भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन, राम्रा काम गर्न सरकारलाई कसले रोकिरहेको छ, सहिद परिवार र घाइतेका परिवारले कहिले न्याय पाउँछन्?’ उनले प्रश्न गरिन्।


