जापानिज इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु

हिमाल प्रेस ४ भदौ २०८३ १९:३४ | Thursday, August 20, 2026
10
SHARES
जापानिज इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु

काठमाडौँ- सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ।

तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए।

दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो।

यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा अन्य तीन जना बिरामी भएका जानकारी दिए। बिरामीहरू उपचारपछि घर फर्किसकेका जनाउँदै उनले तीमध्ये दुई जनाको मृत्यु भएको उल्लेख गरे।

स्वास्थ्य अधिकृत यादवले अहिलेको समयमा यो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेकाबताए। उनले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत गरेमा लामखुट्टेको टोकाइबाट बच्न सकिने धारणा राखे।

यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

उपचारका क्रममा घोडाघोडी ४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन्।

सिनियर अहेब बोहराका अनुसार घोडाघोडीमा पछिल्लो तीन वर्षयता जापनिज इन्सेफलाइटिसका बिरामी देखिन थालेका हुन्। अघिल्लो आर्थिक वर्षमा वडा नं ४ का एक जनामा संक्रमण देखिए पनि उपचारपछि उनी निको भएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा वडा नं ५ र ६ का दुई जनामा संक्रमण देखिएको थियो भने यस वर्ष संक्रमणबाट दुई जनाको मृत्यु भएको हो।

अत्यधिक ज्वरो आउने, बेहोस हुने लगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन बोहराले आग्रह गरे। उनले लामखुट्टेको टोकाइबाट जोगिन झूल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने तथा सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेका छन्।

प्रकाशित: ४ भदौ २०८३ १९:३४ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast