काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न र विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठनको माग राखेका छन्।
मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन्।
बैठकमा सांसद शाहीले नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले थामिएको भए पनि राज्यले श्रमिकहरूको पीडाप्रति आँखा चिम्लेको आरोप लगाए। हालसम्म झण्डै २१ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बताउँदै उनले सोही रकमबाट राज्य सञ्चालन भइरहेको तर श्रमिकहरूको जीवन र अधिकार भने असुरक्षित रहेको बताए।
‘नेपालबाट श्रम स्वीकृति लिएर र नलिई वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै एक करोड पुग्न लागेको छ। तर उनीहरू विदेशमा ठगिएका छन्’, उनले भने, ‘अलपत्र परेका छन् र सम्झौता अनुसारको काम र तलब नपाउँदा मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य छन्।’
सांसद शाहीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको संख्या भयावह रहेको उल्लेख भन्दै हालसम्म १६ हजार ७ सय ६० नेपालीको शव बाकसमा फर्किएको बताए।
उनले जापानको उदाहरण दिँदै पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको बताए। कन्सल्टेन्सी र गिरोहले कुकिङ र विद्यार्थी भिसाका नाममा मोटो रकम असुल गरी युवाहरूलाई विदेशमा अलपत्र पारेका कारण यस्तो अवस्था सिर्जना भएको उनको दाबी छ।


