नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा वाम आन्दोलनले वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गरेको स्वीकार गर्दै त्यसबाट आफूहरू कमजोर बनेको बताएका छन्।
आइतबार काठमाडौँमा नेकपा उपत्यका प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूहरू कार्यनीतिमै रमाएको बताए।
उनले भने,‘हामी कहाँ बिग्रियौं भन्ने प्रश्नमा वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्यौं र दिनदिनका कार्यनीतिमै रमायौं। त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्छ। किनभने म आफैं तीनपटक प्रधानमन्त्री भइसकेको छु। कहिलेकाहीँ त सबै मिलेर मलाई हटाइदिनुस् भन्न पनि मन लाग्छ।’
उनले विगतका कमजोरीबाट शिक्षा लिएर पार्टीलाई पुनः वैचारिक र रणनीतिक रूपमा सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ अघि बढिरहेको आरोप लगाए।
सरकार सुशासन र विकासको नाममा महिला, दलित, आदिवासी जनजाति लगायतका समुदायले संविधानमार्फत प्राप्त गरेका अधिकारमाथि हस्तक्षेप गर्ने प्रयासमा रहेको उनले बताए।
दाहालले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनलाई कमजोर बनाउने, ट्रेड युनियन अधिकार सीमित गर्ने तथा सीमासम्बन्धी विषयमा गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिने काम गरिरहेको आरोप लगाए।
अध्यक्ष दाहालले वर्तमान सरकार गलत दिशामा गएको दाबी गर्दै त्यसविरुद्ध राजनीतिक रूपमा सक्रिय हुन पार्टी पंक्तिलाई आह्वान गरे।
‘संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र उत्पीडित समुदायले प्राप्त गरेका अधिकार जोगाउन सबै एकपटक जुर्मुराउनुपर्ने अवस्था आएको छ,’ उनले भने।




