एचसीसीएनको नेतृत्वमा सुरज वैद्य, प्राथमिकतामा एफडीआई र आर्थिक कूटनीति

हिमाल प्रेस ८ साउन २०८३ १०:४७ | Friday, July 24, 2026
एचसीसीएनको नेतृत्वमा सुरज वैद्य, प्राथमिकतामा एफडीआई र आर्थिक कूटनीति

काठमाडौँ- प्रतिष्ठित उद्योगी तथा वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को डिनमा निर्विरोध निर्वाचित भएका छन्। उक्त निर्णय काठमाडौँमा सम्पन्न संस्थाको साधारणसभाले सर्वसम्मत रूपमा गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन्। यसअघि एचसीसीएनको डिनको जिम्मेवारी बुल्गेरियाका लागि नेपालस्थित अवैतनिक वाणिज्यदूत भोला थापाले सम्हाल्दै आएका थिए। साधारणसभाले पासाङ दावा शेर्पालाई उपडिनमा चयन गरेको छ।

६ दशकभन्दा बढी इतिहास बोकेको वैद्य अर्गनाइजेसनले नेपालमा टोयोटा गाडीको आधिकारिक विक्रेताका रूपमा लामो समयदेखि काम गर्दै आएको छ। समूहले अटोमोबाइलसँगै सिमेन्ट र आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा समेत लगानी विस्तार गर्दै आएको छ।

डिनमा निर्वाचित भएपछि वैद्यले आफ्नो कार्यकालमा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने विषयलाई मुख्य प्राथमिकता दिने बताएका छन्।

नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्ध अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै ती देशहरूसँग नेपालको व्यापार, लगानी, प्रविधि, पर्यटन र ज्ञान आदानप्रदान विस्तार गर्ने प्रशस्त अवसर रहेको बताए।

आफ्नो कार्यकालमा नेपाल सरकार, निजी क्षेत्र तथा कूटनीतिक समुदायसँग सहकार्य गरी गुणस्तरीय विदेशी लगानी भित्र्याउने, बजार पहुँच विस्तार गर्ने तथा नेपालको अन्तर्राष्ट्रिय छवि थप मजबुत बनाउने दिशामा काम गर्ने उनले जनाएका छन्।

वैद्यले आफूलाई डिनको जिम्मेवारीमा निर्वाचित गरेकोमा एचसीसीएनका सदस्यहरूप्रति आभार व्यक्त गर्दै संस्थाको नेतृत्वलाई थप प्रभावकारी बनाउँदै नेपालको दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ८ साउन २०८३ १०:४७ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast