निरन्तर संवादमा प्रधानमन्त्री, आज चिया उद्यमीसँग भेट्दै

हिमाल प्रेस ७ साउन २०८३ ७:४० | Thursday, July 23, 2026
14
SHARES
निरन्तर संवादमा प्रधानमन्त्री, आज चिया उद्यमीसँग भेट्दै

काठमाडौँ- विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् ।

भेटघाटमा चिया उद्योगीहरुले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनायो । प्रधानमन्त्री बालेनले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । त्यसअघि उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए ।

तर यी छलफलहरुमा अर्थ मन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएको थिएन । प्रधानमन्त्री बालेनले आज भने अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टिस्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुलाई भेटघाटमा बोलाएका छन् । नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया वा बजार अवस्थाले नेपाली चियाको व्यापार प्रभावित हुने गरेको छ ।

भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध भएको थियो । जसका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द हुन पुगेका थिए । उद्योग बन्द हुँदा नेपालको चिया उद्योगमा निर्भर कामदारहरुसमेत प्रभावित भएका थिए । प्रधानमन्त्रीसँगको आजको भेटमा यस विषयमासमेत छलफल हुने बताइएको छ ।

प्रकाशित: ७ साउन २०८३ ७:४० | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast