नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।
काठमाडौँ- नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार (आज) सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले छोटो अवधिको निक्षेप संकलनबाट मौद्रिक व्यवस्थापनको सट्टा लामो अवधि अर्थात् १ वर्षको राष्ट्र बैंक ऋणपत्र धमाधम निष्कासन गरिरहेको छ ।
केही दिनयता दैनिक ऋणपत्र जारी भएको छ । यसअघि असार २२ गते २० अर्ब, असार १९ गते २५ अर्ब, असार १७ गते ४५ अर्ब र असार १६ गते ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो। यस ऋणपत्रको बोलकबोल आज मध्याह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ। ऋणपत्रको निष्कासन पनि गरिने राष्ट्र बैंकले जनाएको छ । यसको सावाँ भुक्तानी २०८४ असार २३ गते तोकिएको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। यसरी निर्धारण भएको ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ।




