फिफा विश्वकप २०२६

एम्बाप्पेको गोलमा फ्रान्सको क्वार्टरफाइनल यात्रा सुनिश्चित, पाराग्वे बाहिरियो

हिमाल प्रेस २१ असार २०८३ ६:०९ | Sunday, July 5, 2026
22
SHARES
एम्बाप्पेको गोलमा फ्रान्सको क्वार्टरफाइनल यात्रा सुनिश्चित, पाराग्वे बाहिरियो

काठमाडौँ– फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आगामी बिहीबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा हुनेछ।

अत्यधिक गर्मीबीच सम्पन्न प्रि–क्वार्टरफाइनलमा खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले दोस्रो हाफमा गरेको एकमात्र गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो। खेलका क्रममा तापक्रम करिब ३८ डिग्री सेल्सियस पुगेको थियो र अत्यधिक गर्मीको चेतावनीसमेत जारी गरिएको थियो।

पाराग्वेको सशक्त र रक्षात्मक खेलका कारण फ्रान्सले लामो समयसम्म गोल गर्न सकेन। तर‚ ७०औं मिनेटमा भिडियो सहायक रेफ्री (भीएआर) समीक्षा पछि पाराग्वेका डिएगो गोमेजले एमबाप्पेलाई लडाएको ठहर गर्दै फ्रान्सले पेनाल्टी पायो। एमबाप्पेले त्यस अवसरलाई सफलतापूर्वक सदुपयोग गर्दै निर्णायक गोल गरे।

यो गोलसँगै एमबाप्पेको विश्वकप करिअरमा १९औं गोल पुगेको छ। उनले विश्वकपका १९ खेलमै १९ गोल गरेका छन्। उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता अर्जेन्टिनाका लिओनल मेसीभन्दा अब केवल एक गोलले मात्र पछाडि छन्। यस संस्करणमा एमबाप्पे र मेसी दुवैले समान सात–सात गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका छन्।

यसअघि सन् २०२२ को कतार विश्वकपमा एमबाप्पे सर्वाधिक गोलकर्ता बनेका थिए। तर‚ फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पराजित भएको थियो।

खेलको दोस्रो हाफमा एमबाप्पेले अर्को उत्कृष्ट अवसर गुमाएका थिए। यस्तै, मनु कोनेको शक्तिशाली प्रहारलाई पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले उत्कृष्ट बचाउ गरेका थिए। इन्जुरी समयमा पनि गिलले एमबाप्पेका दुई उत्कृष्ट प्रहार रोक्दै आफ्नो टोलीलाई थप गोल खानबाट जोगाएका थिए।

जितसँगै फ्रान्सले उपाधि यात्रालाई निरन्तरता दिएको छ भने पाराग्वेको अभियान प्रि–क्वार्टरफाइनलमै समाप्त भएको छ।

प्रकाशित: २१ असार २०८३ ६:०९ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast