काठमाडौँ- नेपाली कांग्रेसले मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाबारे सत्यतथ्य छानबिन गरी संघीय संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेसका सांसद पदमबहादुर परियारले राहदानी विभाग अगाडि बिहीबार भएको आत्मदाहको घटनाबारे सरकारको स्पष्ट जवाफ आवश्यक रहेको बताए।
उनले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भने,‘सरकार आज तिमी आउँदा नआउँदै, तिम्रो सरकार गठन हुँदा नहुँदै कयौं गरिबहरूको घर भत्काइएको छ,कयौं गरिबको बिचल्ली भएको छ,दलितको ज्यान गएको छ। आज तीन जना दलितले सरकारकै कस्टडीमा, सरकारकै उपस्थितिमा ज्यान गुमाउनु परेको छ। सरकार यस्तो अचाक्ली चल्दैन। यति धेरै अमानवीय तरिकाले गरिब र दलितमाथि अन्याय गर्ने शैलीमा सरकार अघि बढ्छ भने जनता सहेर बस्न सक्दैनन्। सरकारले घटनाको सत्यतथ्य बुझेर सदनलाई जानकारी गराओस्।’
सांसद परियारले आत्मदाहपछि घाइते भएका गणेश नेपालीको उद्धारका क्रममा प्रहरीले अपनाएको व्यवहारप्रति पनि आपत्ति जनाए। उनले भने,‘म राज्यलाई सोध्न चाहन्छु- सरकारले गणेश नेपालीलाई उद्धार गरेको कि पक्राउ गरेर अस्पताल लगेको? मानवीय रूपमा अलिकति पनि संवेदनशील नभई आगोले पोलेको विक्षिप्त शरीरलाई अपराधीलाई जस्तै तानेर प्रहरीले अस्पताल लगेको दृश्य अत्यन्त दुःखद छ। यसप्रति म खेद प्रकट गर्न चाहन्छु।’



