फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम-१६ को खेलमा अमेरिकाविरुद्ध बेल्जियम। खेल अमेरिकाको वासिङ्टन राज्यस्थित सिएटल स्टेडियममा भएको थियो। तस्बिर : एलेक्स ग्रिम/रासस/एएफपी
अमेरिकाले पहिलो पटक विश्वकप जित्ने सपना बोकेर प्रतियोगितामा उत्कृष्ट सुरुवात गरे पनि अन्ततः बेल्जियमसँग ४-१ को लज्जास्पद हारसँगै त्यो सपना चकनाचुर भएको छ।
मंगलबार सिएटलमा भएको अन्तिम-१६ को खेलअघि अमेरिकी समर्थकहरूको उत्साह चरममा थियो। आतिशबाजी, धुवाँका फ्लेयर, सैनिक विमानको फ्लाइपास्ट र देशभक्तिपूर्ण नाराबीच अमेरिकाले घरेलु समर्थकको भरपूर साथ पाएको थियो। तर खेल सकिनुअघि नै बेल्जियमले चौथो गोल गरेपछि हजारौं समर्थक निराश हुँदै रंगशाला छाड्न थाले। यो सन् १९९० यताकै विश्वकपमा अमेरिकाको सबैभन्दा ठूलो हार हो।
बालोगुन विवादले छायो प्रतियोगिता
बीबीसीका अनुसार खेलअघि सबैभन्दा ठूलो चर्चा अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथिको रातो कार्डको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णय थियो। अघिल्लो खेलमा बोस्निया हर्जेगोभिनाका डिफेन्डर तारिक मुहारेमोभिचमाथि फाउल गरेपछि बालोगुन सिधै रातो कार्ड पाएर एक खेलका लागि प्रतिबन्धमा परेका थिए। तर फिफाले उनको स्वतः लागू हुने प्रतिबन्धलाई १२ महिनाका लागि स्थगित गरिदिएपछि उनी बेल्जियमविरुद्ध खेल्न पाए।
यस निर्णयको युरोपेली फुटबल महासंघ (यूईएफए), बेल्जियम र इंग्ल्यान्डका प्रशिक्षक थोमस टुखेललगायतले आलोचना गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत आफूले फिफासँग निर्णय पुनरावलोकन गर्न आग्रह गरेको बताएका थिए। यद्यपि विश्वकपमा तीन गोल गरिसकेका बालोगुन बेल्जियमविरुद्ध प्रभाव जमाउन असफल रहे।
खेलपछि अमेरिकी प्रशिक्षक मौरिसियो पोचेट्टिनोले भने,‘यसले हाम्रो प्रदर्शनमा असर गरेको होइन। यो हारको बहाना हुन सक्दैन। आज हाम्रो दिन थिएन।’ उनले थपे, ‘ राजनीति, हेरफेर र नैतिकताको कुरा धेरै भयो। फुटबलको इतिहास हेर्दा व्यक्तिगत रूपमा म निराश छु।’
बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले भने खेलपछि बालोगुन आफूकहाँ आएर कुरा गरेको खुलासा गरे। भने, ‘मैले उनलाई भनेँ,यो उनको गल्ती होइन।’
कमजोर रक्षापंक्तिले डुबायो अमेरिका
अमेरिकाको हारको मुख्य कारण आक्रमणभन्दा पनि कमजोर रक्षापंक्ति रह्यो। पहिलो गोलमा चार्ल्स डे केटेलारेलाई कसैले मार्क गर्न सकेनन्। दोस्रो गोलमा पनि उनले दुई डिफेन्डरलाई छल्दै सहज हेडरमार्फत गोल गरे।
तेस्रो गोल अमेरिकाका गोलरक्षक म्याट फ्रिजको गम्भीर गल्तीका कारण सम्भव भयो। बल क्लियर गर्न अघि बढेका फ्रिजबाट डे केटेलारेले बल खोसेपछि हान्स भानाकेनले खाली पोस्टमा गोल गरे।
त्यसपछि अमेरिकी समर्थकहरूको आत्मविश्वास खस्कियो र खेल सकिनुअघि नै धेरै दर्शक रंगशालाबाट बाहिरिन थाले। एक अमेरिकी समर्थकले भने, ‘खेलाडीहरूमा बल जित्ने इच्छाशक्ति नै देखिएन। टोलीमा कुनै ऊर्जा थिएन।’ अर्का समर्थकले भने,‘अमेरिकाले धेरै अनावश्यक गल्ती गर्यो। बेल्जियमले जित्नुपर्ने शैलीमा खेल्यो र सुरुदेखि नै दर्शकलाई शान्त बनाइदियो।’
पोचेट्टिनोले पनि टोली सुरुदेखि नै लयमा नरहेको स्वीकारे। ‘सुरुआतदेखि नै हामी खेलसँग जोडिन सकेनौं। बराबरी गोल गरे पनि तुरुन्तै अर्को गोल खायौं। सुरुदेखि नै हाम्रो अवस्था कठिन थियो,’उनले भने।
हारपछि अमेरिकी फुटबलको भविष्य कस्तो?
बीबीसीका अनुसार विश्वकप सुरु हुनुअघि अमेरिकामा खासै उत्साह देखिएको थिएन। तर प्रतियोगिता अघि बढ्दै जाँदा समर्थकहरूको संख्या उल्लेखनीय रूपमा बढेको थियो। फ्यान जोन, बार र सार्वजनिक स्थलहरू समर्थकले भरिएका थिए। यद्यपि अमेरिका, क्यानडा र मेक्सिको तीनै सहआयोजक राष्ट्र अन्तिम-१६ बाटै बाहिरिएपछि अब यस प्रतियोगिताले अमेरिकी फुटबलमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठेको छ।
अमेरिकी कप्तान टायलर एडम्सले भने,‘यो हारले हामीले गर्न खोजेको सम्पूर्ण प्रयासलाई मूल्यांकन गर्नु हुँदैन। राम्रो र नराम्रो दिन दुवै हुन्छन्। आज हाम्रो नराम्रो दिन थियो। यदि हामीले केही बालबालिकालाई फुटबल खेल्न प्रेरित गर्न सक्यौं भने पनि हामीले केही राम्रो गरेका छौं।’
धेरै समर्थकले पनि विश्वकपले अमेरिकामा फुटबलप्रतिको रुचि बढाएको विश्वास व्यक्त गरेका छन्। एक समर्थकले भने,‘हामीले उत्कृष्ट प्रतियोगिता आयोजना गर्यौं। अब अमेरिकामा फुटबलको भविष्यप्रति हामी उत्साहित छौं।’
अर्का समर्थकले भने,‘दीर्घकालीन रूपमा अझै धेरै सुधार गर्न बाँकी छ। विश्वका सफल राष्ट्रमा जस्तो फुटबल संस्कृति अमेरिकामा अझै पूर्ण रूपमा विकास भइसकेको छैन।’
पोचेट्टिनोको भविष्य अन्योलमा
पोचेट्टिनोको सम्झौता विश्वकपसँगै समाप्त हुँदैछ। हारपछि उनले आफ्नो भविष्यबारे कुनै स्पष्ट संकेत दिएनन्। ‘अब केही समय आराम गर्ने, सोच्ने र फुटबल संघसँग छलफल गर्ने समय आएको छ। हामीबीच राम्रो सम्बन्ध बनेको छ तर अहिले निर्णय गर्ने समय होइन। आगामी केही सातामा यसबारे कुरा हुनेछ,’ उनले भने।




